logo
२०८१ जेष्ठ १३ आईतवार



जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने

अन्तर्राष्ट्रिय |


जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १८ गते । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने भएको छ । उहाँले आफू दलको नेता भएर चुनावमा भाग नलिने प्रष्ट्याउनुभएको छ ।
प्रधानमन्त्री शिन्जो आबेईले राजीनामा गरेपछि एक वर्ष अघि सुगा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री सुगाको कार्यकालको समीक्षामा सूचकहरु ओरालो लागेपछि उहाँले अप्रत्याशित रुपमा राजीनामाको घोषणा गर्नुभएको हो ।
‘लिबेरल डेमोक्रयाटिक पार्टी’का महासचिवका अनुसार सुगाले कार्यकारी बैठकमा आफू पूर्णरुपमा कोभिड १९ विरुद्धको खोप अभियानमा केन्द्रित हुन चाहेकोले दलको नेता भएर चुनावमा नजाने बताउनुभएको एएफपीले उल्लेख गरेको छ । उहाँले सुगाको घोषणाबाट आफू स्तब्ध भएको बताउनुहुँदै राम्रो गर्दागर्दै नतिजा नकारात्मक हुन जानु पछुताउनुभन्दा केही नरहेको बताउनुभएको छ ।
प्रधानमन्त्री सुगाको राजीनामा दिनुहुने घोषणासँगै जापानको शेयर बजार तीव्र रुपमा बढेको छ । टोपिक्स सूचक आफ्नो तीन दशकको सबैभन्दा उच्च तहमा पुगेको छ । सत्तारुढ दलमा नेता बन्ने रस्साकस्सी र शक्तिशाली सरकार बन्ने अपेक्षामा शेयर बजार उकालो लागेको बीबीसीले उल्लेख गरेको छ ।
७२ वर्षीय सुगा जापानको एक किसानमा परिवारमा जन्मिनुभएको हाे । पहिलो पटक उहाँ सन् १९८७ मा योकोहामा शहर परिषदमा निर्वाचित हुनुभएको थियो । सन् २००५ मा प्रधानमन्त्री जुनिचिरो कोइजुमीले उहाँलाई आन्तरिक मामिला र सञ्चारका वरिष्ठ उपमन्त्रीको जिम्मेवारी दिनुभएको थियो । लगत्तै कोइजुमीपछिका प्रधानमन्त्री सिञ्जो आबेइले सुगालाई तीन मन्त्रालयको जिम्मेवारी दिएर बढुवा गर्नुभएको थियो ।
जापानमा अझै आपतकाल लागू नै छ । कोभिड १९ ले नराम्ररी पिरोलेको जापानले महामारीका बीच ओलम्पिक खेलकुदको सफलतापूर्वक आयोजना गर्यो । करिब १५ लाख कोरोना सङ्क्रमित भएको जापानमा कोभिड १९ विरुद्धको खोप अभियान हाल शिथिल भएको छ ।
जापानमा यसै वर्षको अन्त्यमा आम चुनाव हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?