गोरखापत्र अनलाइन
काठमाडौं, साउन १४ गते । विश्वभरि कोरोनाभाइरसको सङ्क्रमण गएको साता उच्च दरले वृद्धि भएको छ । गएको साता ३८ लाख नयाँ सङ्क्रमित थपिएका छन् । जुन एक साता अघिको भन्दा करिब आठ प्रतिशतले वृद्धि भएको हो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोभिड १९ का सङ्क्रमित हुने अमेरिका र पश्चिमी प्रशान्त क्षेत्रमा ३० र २५ प्रतिशतले बृद्धि भएको हो । दैनिक रुपमा पाँच लाख ४० हजार नयाँ सङ्क्रमित थपिएका छन् । करिब एक साता अघि दैनिक थपिने सङ्क्रमित चार लाख ९० हजार रहेको थियो ।
एक साता अघिको तुलनामा कोभिड १९ बाट हुने मृतकको सङ्ख्यासमेत उच्च दरले वृद्धि भएको छ । जुलाई १९ देखि २५ सम्म कोभिड १९ को सङ्क्रमणले विश्वभरि भएको मृतकको सङ्ख्या ६९ हजार रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । त्यसभन्दा अघिल्लो साताको तुलनामा कोरोना सङ्क्रमणले हुने मृत्यु २१ प्रतिशतले बृद्धि भएको छ । हालसम्म विश्वभरि १९ करोड ४० लाख ब्यक्ति सङ्क्रमित भएका छन् भने ४० लाखभन्दा बढी ब्यक्तिको मृत्यु भएको छ ।