logo
२०८१ बैशाख १५ शनिवार



जाम्बियाका प्रथम राष्ट्रपति काउन्डाको ९७ वर्षमा निधन

अन्तर्राष्ट्रिय |


जाम्बियाका प्रथम राष्ट्रपति काउन्डाको ९७ वर्षमा निधन
तस्विर-डेक्कन हेराल्ड


लुसाका, असार ४ गते। अफ्रिकी मुलुक जाम्बियाका प्रथम राष्ट्रपति केन्नेथ काउन्डाको निधन भएको छ । उहाँको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । जाम्बिया मन्त्रीपरिषद्का सचिव सिमोन मिटीले स्थानीय समय अनुसार बिहीबार दिउँसो साढे २ बजे उहाँको निधन भएको पुष्टि गर्नुभएको हो ।
उहाँलाई उपचारका लागि गत सोमबारदेखि राजधानी लुसाकामा रहेको सैन्य अस्पतालमा भर्ना गरिएको थियो । निमोनियाका कारणले उहाँको निधन भएको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । उहाँलाई यसअघि कोरोनाभाइरसको सङ्क्रमण भएको पनि भनिएको थियो ।
जाम्बियाका राष्ट्रपति एडगर लुँगुले मुलुकका प्रथम राष्ट्रपतिको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गर्नुभएको छ ।
“राष्ट्रको अभिभावकको रुपमा रहनु भएका प्रथम राष्ट्रपति काउन्डाको निधनको खबरले म स्तब्ध भएको छ, यो दुःखद समयमा म उहाँको परिवारप्रति समवेदना व्यक्त गर्न चाहन्छु,,” उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।
राष्ट्रपति लुँगुले प्रथम राष्ट्रपति काउन्डालाई अफ्रिकी क्षेत्रकै अनुकरणीय व्यक्तित्वको रुपमा चर्चा पनि गर्नुभएको छ । जाम्बिया बेलायती उपनिवेशबाट मुक्त भएपछि उहाँ सन् १९६४ मा मुलुकको पहिलो राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएको थियो ।

सन् १९५० को दशकमा भएको बेलायती उपनिवेश विरुद्धको आन्दोलनमा उहाँ प्रमुख आन्दोलनकारी नेताका रुपमा सक्रिय रहनुभएको थियो । आन्दोलन सफल भएपछि सन् १९६४ मा सुरु भएको उहाँको राष्ट्रपतिको कार्यकाल भने सन् १९९१ सम्म थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?