logo
२०८१ बैशाख १५ शनिवार



ओसामा बिन लादेनलाई शहीद भनेपछि सदनमा पाकिस्तानी प्रधानमन्त्रीको आलोचना

अन्तर्राष्ट्रिय |


ओसामा बिन लादेनलाई शहीद भनेपछि सदनमा पाकिस्तानी प्रधानमन्त्रीको आलोचना
तस्विर-एएफपी


गोरखापत्र अनलाइन
काठमाडौँ, असार १२ गते । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ओसामा बिन लादेनलाई शहीद भनेपछि सदनमा उहाँको आलोचना गरिएको छ । ओसामा बिन लादेन अमेरिकाको न्युर्योकस्थित ‘वर्ल्ड ट्रेड सेन्टर’को भवनमाथिको आक्रमणको प्रमुख योजनाकार हुन् । सन् २०११ मा अमेरिकी विशेष सुरक्षा दस्ताको कारबाहीमा पाकिस्तानको अबोटाबाद शहरमा लादेन मारिएका थिए ।
बीबीसीका अनुसार प्रधानमन्त्री इमरान खानले सदनमा भन्नुभयो, “अमेरिकी अबोटाबादमा पुगेर ओसामा बिन लादेनलाई मार्यो, शहीद बनायो, पाकिस्तानीलाई लज्जित बनाएको उक्त घटना म कहिल्यै बिर्सिन सक्दिनँ ।” विपक्षी नेता एवम् पूर्वविदेशमन्त्री खवाजा असिफले प्रधानमन्त्री खानको भनाइको आलोचना गर्दै लादेन आतङ्कवादीबाहेक नरहेको बताउनुभयो । उहाँले सदनमा भन्नुभयो, “लादेनले हाम्रो देशलाई ध्वस्त बनायो, खानले शहीदको उपमा दिनुभएको छ ।”
पाकिस्तान पिपुल्स पार्टीका बिलावल भुट्टो जर्दारीले प्रधानमन्त्रीले हिंसामा विश्वास राख्ने अतिवादीलाई प्रोत्साहन गरेको आरोप लगाउनुभयो । लादेन मारिदा पाकिस्तान पिपुल्स पार्टीले सरकारको नेतृत्व गरेको थियो ।
गत साता सार्वजनिक अमेरिकी स्टेट डिपार्टमेन्टको एक प्रतिवेदनमा पाकिस्तान क्षेत्रीय आतङ्कवादी समूहको लागि सुरक्षित स्थान रहेको उल्लेख गरिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले उक्त प्रतिवेदनलाई अस्वीकार गरिरहँदा प्रधानमन्त्री खानको यसप्रकारको भनाई आएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?