logo
२०८१ बैशाख १५ शनिवार



दक्षिण कोरियाद्वारा सामाजिक जमघटमा लगाइएको प्रतिबन्ध हटाइने

अन्तर्राष्ट्रिय |


दक्षिण कोरियाद्वारा सामाजिक जमघटमा लगाइएको प्रतिबन्ध हटाइने


सियोल, वैशाख ७ गते।
दक्षिण कोरियाले सङ्क्रमणको दर उल्लेख्य रूपमा घटेपछि भेला र जमघटमा लगाइएका प्रतिबन्धहरू फुकुवा गर्ने घोषणा गरेको छ । विगत २४ घण्टामा मात्र आठ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण देखिएको कोरियाली स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध गराएको विवरणमा जनाइएको छ ।
दक्षिण कोरियामा दुई महिनायता सङ्क्रमितको सङ्ख्या एकोहोरो अङ्कमा मात्रै थपिएको यो पहिलो पटक हो । आइतबार थप सङ्क्रमित आठ व्यक्तिमध्ये पाँच जना विदेशबाट फर्किएका व्यक्ति भएको बताइएको छ । दक्षिण कोरियामा सङ्क्रमितको सङ्ख्या १० हजार ७०० पुगेको छ भने २३४ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् ।
कुनै बेला चीनपछि एशियामा सर्वाधिक सङ्क्रमण फैलिएको दक्षिण कोरियाले लकडाउन नलगाईकनै कोभिड–१९ महामारी उल्लेखनीय रूपमा नियन्त्रणमा राख्न सफल भएको छ । कोरोनाभाइरस प्रकोप नियन्त्रणमा ल्याउन दक्षिण कोरियाले सम्भावित सङ्क्रमित व्यक्तिको परीक्षण र पहिचान गर्न उपायहरू व्यापक रूपमा अवलम्बन गरेको थियो । राष्ट्रपति मुन जाए–इनले आफ्नो देशले कोरोनाभाइरस नियन्त्रणका लागि गरेको प्रगतिले कोभिड–१९ लाई परास्त गर्न सकिने आशा विश्वका अन्य भागमा पनि दिने बताउनुभएको छ ।
दक्षिण कोरियाली गिर्जाघर, मदिरालय र व्यायामशालाहरू सरकारले भेला र जमघटमा लगाइएका प्रतिबन्धहरू फुकुवा गर्ने घोषणा गरेसँगै खुल्नेछन् । तर तिनले आगामी महिनाको आरम्भसम्म व्यक्तिगत दूरीसम्बन्धी नियम पालना गर्नुपर्नेछ ।
यसअघि कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि उदाहरणीय काम गरेको भन्दै प्रशंसा पाएको दक्षिण कोरियाले एप्रिल ४ तारिखमा दुई साताका लागि सामाजिक दूरी कायम गर्ने समयसीमा थपेको थियो । उक्त अवधि आइतवार सकिएको छ । व्यक्तिगत दूरी कायम गर्नका लागि दक्षिण कोरियालीहरूलाई सार्वजनिक स्थलमा एकअर्काभन्दा दुई मिटर पर उभिन सुझाव दिइएको छ ।

एक महिनाका लागि बन्द गरिएका विद्यालयहरूले अनलाइनमार्फत् पढाउन थालिसकेका छन् । तत्काल विद्यालय तथा कलेजहरू खोल्ने सम्बन्धमा कुनै निर्णय गरिएको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?