logo
२०८१ जेष्ठ १ मंगलवार



कोरोना सङ्क्रमित मुक्त बन्यो हुम्ला जिल्ला

स्वास्थ्य |
प्रदेश |


कोरोना सङ्क्रमित मुक्त बन्यो हुम्ला जिल्ला


राजन रावत
हुम्ला, माघ २४ गते । तेस्रो लहरको कोरोना सङ्क्रमणबाट हुम्ला जिल्ला सङ्क्रमित मुक्त भएको छ । पछिल्लो समय तेस्रो लहरको कोरोनाबाट सङ्क्रमित हुनुभएका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राई कोरोना मुक्त हुनु भएपछि जिल्ला सङ्क्रमित मुक्त भएको हो ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जिल्ला तेस्रो लहरको कोरोना सङ्क्रमणबाट मुक्त भएको बताउनुभयो । हालसम्म जिल्लामा तेस्रो लहरबाट १६ जना सङ्क्रमित भएकोमा सबै जना आइसोलेशन र होम आइसोलेशनमा बसेर कोरोना सङ्क्रमणलाई जितेर घर फिर्ता हुनु भएपछि जिल्ला कोरोना मुक्त भएको बताउनुभयो । तेस्रो लहरको कोरोनामा जिल्लामा पहिलो पटक माघ ९ गते स्वास्थ्य सेवा कार्यालय र सिमकोट गाउँपालिकाका स्वास्थ्यकर्मी गरी नौ जना र एक जना मालपोत कार्यालयका कर्मचारी गरी एकै दिन दश जनामा कोरोना देखिएको थियो ।

त्यस्तै, सिमकोट गाउँपालिका –४ को हिल्दुम गाउँका पाँच जना, सहायक प्रमुख जिल्ला अधिकारी र अर्का एक जना स्थानीय गरी १६ जनामा कोरोना देखिएको थियो । उहाँले सबै जना एक हप्तासम्म आइसोलेशनमा बसेर घर फिर्ता हुनुभएको बताउनुभयो । कोरोना सङ्क्रमित घरफिर्ता भएपछि हाल रानीवनस्थित आइसोलेशन खाली रहेको बताउनुभयो । सबैतिर रुघाखोकीका बिरामी बढी रहेकोले परीक्षणको दायरा बढाउनुपर्ने बताउनुभयो ।

यसका लागि अब केही दिनमा परीक्षण कार्य गर्ने कार्यलयले जनाएको छ । त्यसलाई सबै गाउँपालिकास्तरमा गरिनुपर्ने माग बढेको छ । गत असोजपछि माघ ९ गतेसम्म जिल्ला कोरोना शून्य थियो । कोरोनाको दोस्रो लहरमा तीन हजार १३० जनाको कोरोना परीक्षण गर्दा ३९९ जनामा कोरोना देखिएको थियो । तीन जनालाई हेलिकोप्टरमार्फत जिल्ला बाहिर उपचारका लागि रिफर गरिएको थियो । सो अबधिमा पाँच जनाको कोरोनाकै कारण मृत्यु भएको थियो ।

यसैबीच बाक्लो हिमपातले दुई दिन लगातार रोकिएको कोरोनाबिरुद्धको खोप लगाउने कार्य पुनः सुरु भएको छ । चिसो र सेवाग्राही खोप केन्द्रसम्म आउन समस्या भएपछि रोकिएकोमा मौसममा सुधार आएर घाम लागेपछि सेवा सुरु भएको छ । स्वास्थ्य सेवा कार्यालय अन्तर्गतको जिल्ला अस्पतालका बरिष्ठ अनमी सरिता बोहराले हिमपातले दुई दिन रोकिएको कोरोनाविरुद्धको खोप कार्य सुरु भएको बताउनुभयो ।

चिसोले सेवाग्राही नआएकै कारण रोकिको खोप लगाउने कार्य घाम लागेपछि पुनः सेवा सुचारु गरिएको हो । मौसममा सुधार आएसँगै खोप लगाउने सेवाग्राहीको घुइँचो लाग्न थालेको जानकारी उहाँले दिनुभयो । पहिलो दिन अस्पतालको खोप केन्द्रमा भेरोसेल ३१ ज्ना कोभिशिल्ड ३५ जना र मोडर्ना ११ जना बालबालिकाले लगाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?