logo
२०८१ जेष्ठ ७ सोमवार



ताप्लेजुङमा विद्यार्थीलाई मोडर्नाको दोस्रो मात्रा खोप लगाइँदै

स्वास्थ्य |
खुला |
प्रदेश |


ताप्लेजुङमा विद्यार्थीलाई मोडर्नाको दोस्रो मात्रा खोप लगाइँदै


चन्द्र पन्दाक
ताप्लेजुङ, माघ २० गते । ताप्लेजुङमा विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा धमाधम लगाउन थालिएको छ । फुङ्लिङ नगरपालिकासहित जिल्लाका नौवटै स्थानीय तहमा विद्यार्थीलाई मोडर्ना खोप लगाउन थालिएको हो ।

स्वास्थ्य कार्यालय ताप्लेजुङकाअनुसार यसअघि पहिलो डोज (मात्रा) लगाएका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोपको दोस्रो मात्रा लगाउन थालिको छ । तोकिएअनुसार उमेर समूहका बालबालिका तथा विद्यार्थीलाई पहिलो मात्रा मोडर्ना खोप लगाएको र हाल दोस्रो मात्रा पनि सोही खोप लगाउँदैआएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायकाअनुसार यसअघि जिल्लाका ११ हजार ७११ जना बालबालिका तथा विद्यार्थीलाई पहिलो मात्रा खोप लगाइएको थियो । पहिलो मात्रा लगाएकालाई सबै स्थानीय तहका विद्यालयमा पुगेर खोपको दोस्रो मात्रा लगाउँदैआएको रायले जानकारी दिनुभयो । उहाँकाअनुसार सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा गएको आइतबारदेखि नै बालबालिकालाई खोप लगाउन थालिएको छ ।

यस्तै, आठराई त्रिबेणी गाउँपालिका, मैवाखोला गाउँपालिका, पाथीभरा याङ्वरक गाउँपालिका र मेरिङ्देन गाउँपालिकामा सोमबारदेखि खोप अभियान सुरु गरिएको छ । सिदिङ्वा गाउँपालिका, सिरिजङ्घा गाउँपालिका, फक्ताङ्लुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा मङ्गलबारदेखि खोप लगाउन सुरु गरिएको छ । सम्बन्धित स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी परिचालित भई सुरु गरिएको खोप अभियान शुक्रबारसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?