logo
२०८१ बैशाख १५ शनिवार



चालीस लाख मात्र मोडर्ना खोप आउन सुरु

स्वास्थ्य |
मुख्य समाचार |


चालीस लाख मात्र मोडर्ना खोप आउन सुरु


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ११ गते । सोमबार थप १६ लाख ६० हजार कोरोनाविरुद्धको मोडर्ना खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले सोमबार साँझ १६ लाख ६० हजार मात्रा कोरोनाविरुद्धको मोडर्ना खोप नेपाल आएको जानकारी दिनुभयो । मोडर्ना खोप १८ वर्षमुनिका बालबालिकालाई लगाउन मिल्ने खोप हो ।

अमेरिकी खोप मोडर्ना कतार हुँदै नेपाल आएको हो । आपूर्ति शाखा प्रमुख डा. चौरसियाले बाँकी २३ लाख ४० हजार मात्रा खोप मङ्गलबार बिहान आइपुग्ने जानकारी गराउनुभयो । कोभ्याक्समार्फत विश्व बैङ्कको सहुलियतमा आउन लागेको ४० लाख मात्रा खोपमध्ये सोमबार १६ लाख ६० हजार मात्रा खोप आएको हो । यसअघि पनि ३८ लाख मोडर्ना खोप आइसकेको छ ।

यसअघि आएको खोप सरकारले हिमाली तथा पहाडी क्षेत्रका बालबालिकालाई लगाएको थियो । आपूर्ति शाखा प्रमुख डा. चौरसियाले सोमबार र मङ्गलबार आउने मोडर्ना खोप कसलाई लगाउने भन्ने निर्णय नभएको बताउनुभयो । यसअघि आएको मोडर्ना खोप प्रदेश १ का ११, मधेसका पाँच, बागमतीका सात, गण्डकी, लुम्बिनी, कर्णालीका नौ र सुदूरपश्चिम प्रदेशका सात जिल्ला गरी ५७ जिल्लाका १८ वर्षमुनिका बालबालिकालाई लगाइएको थियो ।

दस हजार नयाँ सङ्क्रमित थपिए
गत २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २१ हजार २०१ नमुना परीक्षण गर्दा उक्त सङ्ख्यामा नयाँ सङ्क्रमण पुष्टि भएको हो । दुई हजार ५४० जना निको भएका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा तीन हजार ६३४, भक्तपुरमा ४५५ र ललितपुरमा ५८७ गरी काठमाडौँ उपत्यकामा थप चार हजार ६७६ सङ्क्रमित थपिएका छन् । हाल देशभर सक्रिय सङ्क्रमित ८२ हजार ५५० छन् भने आईसीयूमा २३८ र भेन्टिलेटरमा ४३ जना सङ्क्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६५६ पुगेको छ । यस्तै आठ लाख २४ हजार २३९ सङ्क्रमित निको भएका छन् । हाल निको हुने दर ८९.७ प्रतिशत छ ।

टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा खोप अभियान मङ्गलबारबाट पुनः सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा. मनीषा रावलले अस्पतालका ५० भन्दा बढी चिकित्सक, नर्स तथा अन्य पारामेडिक्सलाई कोरोना सङ्क्रमण भएपछि स्थगित गरिएको खोप अभियान मङ्गलबारबाट सुरु गर्न लागिएको जानकारी दिनुभयो ।

निर्देशक डा. रावलले खोप अभियान निरन्तर अघि बढेकाले नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखा र काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखाले खोप सञ्चालनका लागि थप जनशक्ति व्यवस्थापन गर्ने भएकाले खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

अघिल्लो दिन मात्र अस्पतालले ५० भन्दा बढी चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण भएपछि जनशक्ति अभावका कारण देखाउँदै माघ १६ सम्मका लागि टेकु अस्पतालबाट लगाइँदै आएको खोप अभियान स्थगित गरेको थियो । टेकु अस्पतालमा दैनिक दुई हजार पाँचसयदेखि तीन हजार मानिसले नियमित खोप लगाइरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?