logo
२०८१ जेष्ठ ३ बिहीवार



ओमिक्रोन भाइरसको त्रासले खोप केन्द्रमा थामिनसक्नु भीड

स्वास्थ्य |
समाज |


ओमिक्रोन भाइरसको त्रासले खोप केन्द्रमा थामिनसक्नु भीड
खोप केन्द्रमा ठूलो संख्यामा पुगेका सर्वसाधारणहरु । तस्विर - सिराज खान । नेपालगञ्ज



सिराज खान
नेपालगञ्ज, मङ्सिर २७ गते । केही समय पहिलेसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि घरघरमा गएर अनुनय विनय गर्नुपर्ने अवस्था रहेकोमा अहिले खोप केन्द्रमा थामिनसक्नु भीड देखिएको छ । ओमिक्रोन भाइरसको त्रासपछि बाँकेमा कोरोनाविरुद्धको खोप लगाउनेको भीड खोप केन्द्रमा बढेको हो ।

घातक भाइरस ओमिक्रोन नेपालमा पनि भेटिएको थाहा पाएर सोबाट जोगिन जिल्लाका विभिन्न वडाहरुमा रहेका खोप केन्द्रमा खोप लगाउनेको थामिनसक्नु भीड लागेको बाँकेका खोप फोकल पर्सन स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताउनुभयो ।

उहाँले केही समयअघिसम्म खोप केन्द्रमा दिनभर मानिस कुरेर समय बिताउनुपर्ने अवस्था रहेकोमा अहिले खोप लगाउनेको चाप अत्याधिक बढेको बताउनुभयो । कतिपय खोप केन्द्रमा त विहानैदेखि मानिसहरु लाममा लागेको र रातिसम्म पनि खोपका लागि तछाडमछाड गरिरहेको पाइएको खोप फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँले यो निकै राम्रो र सकारात्मक सङ्केत रहेको जनाउँदै खोप केन्द्रमा महिलाहरुको सङ्ख्या पनि अत्याधिक देखिएको बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा गत तीन दिनमा २७ हजार बढीलाई खोप लगाइएको र अहिले डुडुवा, बैजनाथ, नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा खोप लगाउने कार्य चलिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सोमबारदेखि नेपालगञ्जस्थित भेरी अस्पतालमा पनि खोप लगाउन शुरु गरिएको खोप फोकल पर्सन श्रेष्ठले बताउनुभयो । डुडुवा, बैजनाथ, नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा भेरोसेल र कोभिशिल्डको पहिलो र दोस्रो डोज खोप लगाउने कार्य जारी छ ।

स्वास्थ्य कार्यालयका अनुसार बैजनाथमा १९ हजार २५४ जनालाई पहिलो डोज, तीन हजार १०८ जनालाई दोस्रो डोज, डुडुवामा १३ हजार ७४५ जनालाई पहिलो डोज र तीन हजार ९२१ जनालाई दोस्रो डोज खोप दिइनेछ । यस्तै, नरैनापुरमा १७ हजार ५७९ जनालाई पहिलो डोज, तीन हजार २१४ जनालाई दोस्रो डोज र राप्तीसोनारीमा २० हजार ४४० जनालाई पहिलो डोज र चार हजार ४१३ जनालाई दोस्रो डोज खोप दिइनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?