logo
२०८१ बैशाख १५ शनिवार



ताप्लेजुङ कोरोना सङ्क्रमणमुक्त जिल्ला

स्वास्थ्य |
प्रदेश |


ताप्लेजुङ कोरोना सङ्क्रमणमुक्त जिल्ला


चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक ८ गते । हिमाली जिल्ला ताप्लेजुङ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणमुक्त जिल्ला भएको छ । पछिल्लो पटक सङ्क्रमित भई होम आइसोलेसन (एकान्त घरबास) मा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट नेगेटिभ आएसँगै ताप्लेजुङ कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको हो ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार सोमबार बिहान पाँचजना सङ्क्रमितको रिपोर्ट नेगेटिभ आएको हो । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार बाँकी रहेको पाथीभरा याङ्वरक गाउँपालिका सङ्क्रमणमुक्त भएपछि सोमबारदेखि ताप्लेजुङनै सङ्क्रमणमुक्त जिल्ला बनेको छ ।

उहाँका अनुसार जिल्लाको नौ स्थानीय तहमा पाथीभरा याङ्वरक गाउँपालिकाबाहेक अन्य सबै पालिका यसअघि नै सङ्क्रमणमुक्त भइसकेका थिए । कोभिड–१९ को दोस्रो चरण शुरु भएपछि ताप्लेजुङमा दुई हजार ५३१ जना सङ्क्रमित भएको सहायक प्रजिअ अधिकारी खड्काले जानकारी दिनुभयो ।

कोभिड सङ्क्रमणका कारण जिल्लाभित्र १६ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासन कार्यालयका अनुसार पीसीआर विधिबाट दुई हजार २८८ र एन्टिजेन विधिमार्फत आठ हजार गरी कुल १० हजार २८८ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?