logo
२०७८ माघ ५ बुधवार



अर्थतन्त्रलाई दशैँको आड

शनिवार |


अर्थतन्त्रलाई दशैँको आड


दशैँ शब्दले मात्र पनि धेरै हिन्दु नेपालीका मनमा एउटा उमङ्ग सञ्चार गर्छ । वर्षायाम अन्त्यपछि खुलेको सफा आकासजस्तै दशैँले भागदौडको जिन्दगीबाट केही समय निकालेर मनलाई सफा अनि आनन्दित पारिदिन्छ । आफूले इच्छाएको लाउनेखानेदेखि घुमघाम अनि भेटघाटसम्मको त्रिवेणी बनेको छ यो चाड । त्यसैले परम्परागत धार्मिक चाडको सीमाबाट दशैँ पछिल्लो समय बाहिर निस्किएको छ । केही दशकयता दशैँ आसपास बढ्ने अधिक चहलपहलले धार्मिक तथा सांस्कृतिक पर्व दशैँ आर्थिक पर्वमा रूपान्तरण हुँदैछ । परिणामस्वरूप दशैँ नेपालको आर्थिक गतिविधि हुने उच्चतम समय बनेको छ ।


दशैँसँगै जोडिन्छन्, आमनेपालीका वर्षभरिका खास योजना । सबैभन्दा लामो सार्वजनिक बिदाको सदुपयोग गर्दै घुमघाम गर्ने प्रवृत्तिले आन्तरिक पर्यटन फस्टाएको मात्रै छैन, अर्थतन्त्रका लागि एक ठाउँबाट अर्को ठाउँमा चलायमान बनाइदिएको छ । दशैँलक्षित किनमेलको आकार यति ठूलो छ कि नेपालीको कुल उपभोगमध्ये करिब २० प्रतिशत यही समयमा हुन्छ । सवारीसाधन तथा धनसम्पत्ति जोड्ने नयाँ माध्यम पनि बनेको छ दशैँ । सपरिवार सँगै बसेर मिठोमसिनो खाने प्रचलनले दशैँ विगतदेखि नै खानपिनको चाडका रूपमा पनि स्थापित छ । विदेशिएका र सहर पसेकाहरूको घर फर्कने ‘सेड्युल’ दशैँले नै जुराइदिन्छ । अर्थतन्त्रका अनेक आयामसँग दशैँ जोडिएकाले विगतमा जस्तो धार्मिक चाडको परिचयले दशैँको परिभाषा पूर्ण हुँदैन । दशैँसँग गाँसिएका भावनात्मक सम्बन्धले यसको परिचयको आयाम पनि बढाइदिएको छ । अर्थतन्त्रका लागि दशैँ आर्थिक गतिविधि एकैपटक फैलाउने माध्यम बनेको छ । त्यसैले नेपाली समाजका लागि दशैँको महìव अवर्णनीय छ ।

विगत दुई वर्षदेखि कोभिड–१९ ले आक्रान्त जनजीवन यसपटक केही सहज बनेको छ । त्यसैले हुनुपर्छ विगतमा दशैँको समयमा पनि घरभित्र गुम्सिनुपरेको बाध्यता यसपटक सहरका हरेक स्थानमा भीडभाड बनेर बाहिरिएको छ । किनमेल बढेको छ, विगतमा घर फर्किन नपाएकाको चाप उस्तै छ, घुमघामका तयारी बनिरहेका छन्, खानपिनको जोहो सुरु भइसकेको छ । त्यसैले यसपटक दशैँ अघिल्ला वर्षको तुलनामा केही खास छ । कोभिड आक्रान्तबाट बाहिरिएर यसपटक त दशैँ मज्जाले मनाउने हो भन्ने मान्यता धेरैको देखिन्छ । जसको प्रत्यक्ष लाभ भने नेपाली अर्थतन्त्रले लिइरहेको छ । दुई वर्ष करिब ठप्पजस्तो बनेको आर्थिक गतिविधि यसपटकको दशैँमा निकै माथि पुगेको छ ।

अर्थतन्त्र चलायमान हुने परिस्थिति बुझेको सरकारले यस वर्ष आर्थिक वृद्धिदर ६.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । यस पटकको दशैँमा बढेको अत्यधिक चहलपहलले सरकारको आर्थिक वृद्धिदरको लक्ष्य पूरा गर्न धेरै सहयोग पुग्ने देखिन्छ । मुर्झाएको अर्थतन्त्र यसपटक बौरिने प्रयास गरिरहँदा दशैँ त्यसको सबैभन्दा बलियो आड बनेको छ । अनौपचारिक तथ्याङ्कअनुसार कुल अर्थतन्त्रको २० प्रतिशत अर्थात् करिब सात खर्ब रुपियाँ आसपासको आर्थिक गतिविधि दशैँको समयमा नै हुन्छ । दशैँलाई आर्थिक चाडका रूपमा परिणत गरिरहेका केही खास क्षेत्रको योगदान र चर्चा लेखमा गरिएको छ ।

किनमेलको चाड

सहरका मुख्य चोकहरू मात्र होइन, गाउँका साना बजारहरूसमेत दशैँ आसपास उपभोक्ताले भरिन्छन् । दशैँ लक्षित किनमेल पछिल्लो समय यसरी बढेको छ कि व्यापारीहरू एक महिनाअघि नै व्यस्त बनिदिन्छन् । खासगरी दशैँमा नयाँ लुगा लगाउनुपर्छ भन्ने मान्यताले कपडा पसल यतिबेला सबैभन्दा बढी भीडभाड हुने ठाउँमा परिणत हुन्छन् । परिवार सबैका लागि नयाँ कपडा खरिद गर्ने चलनले दशैँमा कपडा बजारको कारोबार अत्यधिक हुन्छ । वार्षिक करिब ६० अर्ब रुपियाँको कपडा व्यापारमध्ये करिब ३० प्रतिशत दशैँमा नै हुने गर्छ ।

दशैँ खानपिनको पनि चाड बनेको छ । परिवार र साथीभाइ मिलेर खाने प्रचलनले पछिल्लो समय मासु र मदिराको उपभोग अत्यधिक बढाएको छ । मासु पसल मात्र होइन, घरघरमै खसीबोका काट्ने प्रचलनले दशैँ अत्यधिक मासु खपत हुने समय पनि हो । दशैँलाई लक्षित गर्दै काठमाडौँ उपत्यकामा मात्र ६० हजारभन्दा बढी खसीबोका र च्याङ्ग्रा भित्रिन्छन् ।

दशैँलाई नै लक्षित गर्दै सवारीसाधन तथा मोबाइल, ल्यापटपलगायतको ग्याजेट्स बिक्रीको अर्को ठूलो अवसर बन्दैछ, यो चाड । खासगरी कार तथा मोटरसाइकल बिक्रेताले दशैँलाई नै लक्षित गर्दै विभिन्न छुट योजना सार्वजनिक गरेर ग्राहकलाई आकर्षित गर्ने प्रयत्न गर्छन् । त्यस्तै मोबाइल तथा ल्यापटपमा पनि छुटका विभिन्न योजना सार्वजनिक हुँदा यसको व्यापार पनि अन्य समयको तुलनामा बढी नै हुने व्यापारी बताउँछन् ।


घरका लागि आवश्यक धेरै सामान पनि दशैँमा नै जोड्ने परम्परा छ । त्यसैले भान्साका सामानदेखि खाद्यान्न, ‘होम अप्लायन्सेस’का रूपमा चिनिने रेफ्रिजेरेटेर, वासिङ मेसिन, ओभनलगायतका सामग्रीको बिक्री पनि दशैँमा ह्वात्तै बढ्छ । पछिल्लो समय ई–कमर्समार्फत पनि दशैँको समयमा छुटको व्यवस्था हुँदा अनलाइनमार्फत पनि किनमेलको चाप बढ्न थालेको छ । दशैँमा उपहारको परम्पराले पनि यसलाई किनमेलको चाडका रूपमा स्थापित गरेको छ । देशमा वर्षभर हुने कुल उपभोगको २० प्रतिशतभन्दा बढी दशैँको समयमा नै हुने अनुमान छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार नेपालको कुल खुद्रा व्यापारमध्ये दशैँ र तिहारमा मात्रै ३५ प्रतिशतको हाराहारीमा हुने गर्छ । अन्य समयको तुलनामा मुख्य चाडपर्वको समयमा व्यापार पनि ४० प्रतिशतले बढ्ने सङ्घको अनुमान छ ।

दशैँ अर्थात् घुमघाम


पारिवारिक जमघट, सफा र स्वच्छ मौसम अनि सुविधाजनक आर्थिक अवस्था । घुमघामका लागि दशैँ हरेक हिसाबले उपयुक्त समय हो । पछिल्लो समय नेपालीमा बढेको घुम्ने बानीले पनि दशैँमा आन्तरिक पर्यटनमा निकै चहलपहल देखिन्छ । देशका प्रमुख पर्यटकीय गन्तव्यहरू पोखरा, सौराह, लुम्बिनी, इलामजस्ता ठाउँका होटल दशैँ आसपास भरिभराउ देखिन्छन् । त्यति मात्र होइन, पदयात्राका लागि निस्कने नेपालीको नयाँ बानीले अन्नपूर्ण बेस क्याम्प, मार्दी बेस क्याम्प, सगरमाथा बेस क्याम्प, रारा, खप्तड र लाङ्टाङ हिमाल पुग्ने पदमार्गमा नेपाली हिंडिरहेको भेट्न सकिन्छ ।कोभिड–१९ का कारण विगत दुई वर्ष आन्तरिक पर्यटन प्रभावित भए पनि यस वर्ष परिस्थिति अलि सहज हुँदा आन्तरिक पर्यटन बढ्ने अपेक्षा गरिएको छ । त्यही आशासहित प्रमुख पर्यटकीय गन्तव्यका होटल व्यवसायीले छुटसहितका प्याकेज घोषणा गर्न थालिसकेका छन् । दशैँअघिभन्दा पनि दशैँ र तिहारको बीचमा घुम्नका लागि नेपालीले वार्षिक योजना बनाउन थालेका छन् । घुमघामको यो प्रवृत्तिले चहलपहल मात्र बढाएको छैन, एक ठाउँको पैसा अर्को ठाउँमा चलायमान बनाइरहेको छ । जसको लाभ अर्थतन्त्रले लिन सक्छ ।

यातायातमा चाप

दशैँ आफ्नै घरसँग जोड्ने अवसर पनि हो । खासगरी कामका लागि वैदेशिक रोजगारीमा गएका नेपाली र काम खोज्दै सहर पसेकाहरूका लागि गाउँ फर्काउने माध्यम बनेको छ, यो चाड ।विदेशबाट फर्किंदा काठमाडौँमै आउनुपर्ने र काठमाडौँमा बसेका धेरै सर्वसाधारण गाउँ फर्कने भएकाले यातायातमा अत्यधिक चाप बढ्छ । त्यसैले दशैँलाई नै लक्षित गरेर अग्रिम बुकिङ खुलाउने, रुट इजाजत लिनु नपर्ने, सवारी सङ्ख्या थप गर्नुपर्नेजस्ता अवस्था सिर्जना हुन्छन् । देशका प्रायः सबै लामो दूरीका गन्तव्य काठमाडौँबाट तय हुने भएकाले राजधानी जोड्ने मुख्य नाकामा बढ्ने सवारी चापले घण्टौँ जाम बेहोर्नुपर्ने अवस्था पनि यही बेला हुन्छ । अनौपचारिक तथ्याङ्कअनुसार घटस्थापनादेखि फूलपातीसम्म उपत्यकाबाट दैनिक पाँच हजारभन्दा बढी सवारी बाहिरिन्छन् ।

सडक यातायात मात्र होइन, हवाई चाप पनि दशैँको बेला अत्यधिक बढ्छ । दशैँ सुरु हुनुअघि नै हवाई सेवाका लागि पनि अग्रिम टिकट लिने प्रचलन बढेको छ । आन्तरिक वायुसेवा प्रदायकहरूका अनुसार दशैँको समय नियमित उडानले मात्र चाप थेग्न सक्दैन । दैनिक औसत १४० देखि १५० सम्म उडान भइरहेको अवस्थामा दशैँका लागि कम्तीमा दुई दर्जनभन्दा बढी उडान थपिन्छन् । देशका प्रायः आन्तरिक विमानस्थलका टर्मिनलहरू दशैँ आसपासमा भरिभराउ नै देखिन्छन् । अझ काठमाडौँस्थित आन्तरिक विमानस्थलमा बढ्ने यात्रुको चापले व्यवस्थापन गर्नै हम्मे हुने अवस्था सिर्जना हुन्छ ।

विपे्रषणको भरथेग
त्यसो त नेपालको अर्थतन्त्र विपे्रषणमुखी बन्दै गएको छ । आन्तरिक उत्पादन कमजोर हुँदा वैदेशिक रोजगारीमा गएका नागरिकबाट भित्रिने विपे्रषणले अर्थतन्त्रलाई भरथेग गरिरहेको छ तर दशैँको बेला विपे्रषण भित्रिने क्रम अझ बढ्छ । वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूको परिवारको मुख्य आम्दानीको स्रोत नै विपे्रषण हुने भएकाले दशैँजस्तो चाडबाडका लागि पनि त्यसैबाट खर्चको जोहो हुन थालेको छ । किनमेलदेखि दशैँका सबै धार्मिक, सांस्कृतिक परम्परासम्म पूरा गर्न विपे्रषण धेरै परिवारको एक मात्र आधार बन्न थालेको छ । त्यसैले पनि दशैँको समयमा नेपालमा विपे्रषण अन्य समयको तुलनामा बढी नै भित्रिन्छ । यसले अर्थतन्त्रमा नगदको उपलब्धता बढाउँछ । आन्तरिक उपभोगमा पछिल्लो दशकमा आएको वृद्धिका पछाडि नेपाल भित्रिने विपे्रषण नै रहेको छ । पछिल्ला केही वर्षयता नेपालले मासिक औसत करिब ६६ अर्ब रुपियाँ विपे्रषण प्राप्त गरिरहेको छ । दशैँको समय अर्थात् असोजमा भने यो औसत बढेर एक खर्ब हाराहारीसम्म पुग्छ । विपे्रषणको अधिकतम खर्च उपभोग र किनमेलमै जाने भएकाले यसलाई उत्पादनसँग जोड्नेतर्फ सरकारको चिन्ता बढेको देखिन्छ ।

दशैँलाई छुट्टै भत्ता

रोजगार व्यक्तिका लागि दशैँले ल्याउने एउटा उमङ्ग हो, दशैँ भत्ता । खासगरी सरकारले दशैँको अवसरमा आफ्ना कर्मचारीलाई एक महिनाको अतिरिक्त भत्ता प्रदान गर्दै आएको छ । त्यसैको सिको गर्दै अहिले देशका प्रायः सङ्गठित सङ्घसंस्थाले आफ्ना कर्मचारीलाई दशैँमा अतिरिक्त भत्ता दिने गर्छन् । यसले एकातिर रोजगार व्यक्तिलाई आफ्नो आवश्यकता पूरा गर्न सहयोग पु¥याउँछ भने अर्कातिर बजारमा नगदको प्रवाह बढाउँछ । दशैँमा मात्र सरकारले कर्मचारीका लागि करिब १० अर्ब रुपियाँभन्दा बढी अतिरिक्त भत्ता वितरण गर्छ । यसमा सरकारबाट पेन्सन प्राप्त पूर्वकर्मचारीसमेत समेटिन्छन् । सरकारको पछिल्लो तथ्याङ्कअनुसार असोजको तेस्रो हप्तासम्म सरकारले दशैँ भत्तासहित कर्मचारीलाई २० अर्ब र पेन्सन प्राप्त गर्नेलाई दस अर्बभन्दा बढी रुपियाँ खर्च गरेको छ । जसले बजारमा अहिले देखिएको तरलता अभावलाई कम गर्नसमेत सहयोग पु¥याएको छ ।

त्यस्तै बैङ्क तथा वित्तीय संस्थाहरूले पनि दशैँमा कर्मचारीलाई भत्तासहित थप बोनसको व्यवस्था गर्ने प्रचलन बढ्दो छ । तरलताको अभावको अवस्थामा दशैँमा व्यक्तिमा जाने यस्तो पैसाले एकैपटक ठूलो रकम अर्थतन्त्रमा प्रवेश गराउँछ । अतिरिक्त भत्ताकै कारण दशैँको रौनक कर्मचारीमा बेग्लै किसिमको हुन्छ ।


नयाँ नोटको उमङ्ग

दशैँमा कपडाजस्तै नोटको प्रयोग पनि नयाँ गर्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ । खासगरी दशैँमा दक्षिणाका रूपमा उपलब्ध गराइने पैसा नयाँ दिनुपर्ने मान्यताका कारण हरेक वर्ष राष्ट्र बैङ्कले नयाँ नोट बजारमा ल्याउँछ । यस वर्ष पनि करिब ३५ अर्ब रुपियाँभन्दा बढी नयाँ नोट सटहीका लागि व्यवस्था गरिएको राष्ट्र बैङ्कले जनाएको छ । नयाँ नोटका रूपमा बैङ्कबाट ल्याइने पैसा अन्ततः दक्षिणाका रूपमा बाँडिन्छ । व्यक्तिका हातहातमा पैसा पुग्ने भएकाले दशैँले अर्थतन्त्र उत्थानमा ठूलो भूमिका निर्वाह गरिरहेको हुन्छ ।
बिहेको जोहो


बिहेका लागि दशैँ उत्तम साइत मानिन्छ । त्यसैले यो बेला बिहे गर्ने क्रम बढ्दो छ । बिहेकै लागि भनेर पनि लत्ताकपडासहित गरगहनाको बिक्री बढ्छ । यतिबेला गरगहनाका पसल पनि निकै व्यस्त देखिन्छन् । नेपाल रत्न तथा आभूषण सङ्घका अनुसार दशैँको समयमा गरगहनाको व्यापार दोब्बरले बढ्ने गर्छ । अर्थात् दैनिक २० किलोग्राम सुन बिक्री हुने गरेकोमा दशैँमा ४० किलोग्रामसम्म बिक्री हुने सङ्घको प्रक्षेपण छ । दशैँको समयमा पनि सम्पत्तिका रूपमा सुन तथा गरगहनाको सामान जोड्ने नेपालीको बानीले पनि यसको बिक्री बढाउन सहयोग पु¥याएको छ ।

अन्तर्राष्ट्रिय व्यापारमा चाप

दशैँमा बढ्ने किनमेल र अन्य उपभोग्य वस्तुको मागका कारण अन्तर्राष्ट्रिय व्यापारको आकार पनि निकै बढ्छ । खासगरी भदौ र असोजमा हुने नेपालको अन्तर्राष्ट्रिय व्यापार अन्य महिनाको तुलनामा केही बढी नै हुने गर्छ । तथ्याङ्क विभागको पछिल्लो तथ्याङ्कअनुसार भदौमा मात्रै नेपालले एक खर्ब ६४ अर्ब रुपियाँबराबरको वस्तु आयात गरेको छ । जसमध्ये कच्चा भटमास तेल, सुनचाँदी, लत्ताकपडा, मोबाइलजस्ता वस्तुको हिस्सा बढी छ । दशैँलाई लक्षित गर्दै वस्तु आयात गरिने भएकाले यतिबेला नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रणाली व्यस्त रहन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?