logo
२०८१ जेष्ठ २ बुधवार



सीमानामा स्वास्थ्य परिक्षणमा बेवास्ता, परिक्षण विनै भित्रिंदै आगन्तुक

स्वास्थ्य |
प्रदेश |


सीमानामा स्वास्थ्य परिक्षणमा बेवास्ता, परिक्षण विनै भित्रिंदै आगन्तुक


सिराज खान
नेपालगञ्ज, असोज २० गते । नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहा नाका खुलेपछि भारतबाट आउनेहरुको स्वास्थ्य परिक्षणमा बेवास्ता भैरहेको पाइएको छ ।

सो नाकाबाट नेपाल भित्रिने अधिकांश भारतीय र नेपाली नागरिक स्वास्थ्य परिक्षणविनै भित्रिरहेको स्थानीयले बताएका छन् । सरकारले भारतीयहरुका लागि ७२ घण्टा भित्रको पीसिआर रिपोर्ट र खोप लगाएको कार्ड अनिवार्य गरे पनि जमुनाहा नाकामा न त कसैले पीसीआर रिपोर्ट माग्छ न खोप कार्ड नै माग्ने गरिन्छ स्थानीयको भनाई छ ।

भारतको मुम्बई, अहमदाबाद र पन्जाब प्रान्तका सहरबाट आएका केही नेपालीको मात्रै स्वास्थ्य परिक्षण र एन्टिजेन परिक्षण गरिने गरिएको पाइएको छ । भारतीय र नेपाली गरेर भारतबाट दैनिक चार हजार भन्दा बढी मानिस नेपाल भित्रिए पनि तीन सयजनाको मात्र एन्टिजेन परिक्षण भएको पाइएको छ ।

जमुनाहा नाकास्थित हेल्थ डेस्ककाअनुसार एन्टिजेन किटको अभावका कारण सबैको परिक्षण नगरेर केहीको मात्रै परिक्षण गर्ने गरिएको छ । हेल्थ डेस्कका स्वास्थ्यकर्मी रामबहादुर शाहीले मुम्बई, दिल्ली, अहमदाबाद र चन्डिगढजस्ता सहरबाट फर्किएका केही नेपालीको मात्रै एन्टिजेन परिक्षण गर्ने गरिएको बताउनुभयो ।

नाका खोलिएपछि भारतबाट चारपांग्रे निजि सवारी साधन लिएर आउनेको पनि परिक्षण गर्ने भनिए पनि किट अभावले गर्न नसकिएको उहाँको भनाई छ । नाकाबाट नेपाल भित्रिनेको स्वास्थ्य परिक्षण नगरेरै अधिकांश मानिस भित्रिने गरेकोले कोरोनाको जोखिम अत्यधिक बढेको स्वास्थ्यकर्मीको भनाई छ ।

भारतबाट नेपाल भित्रिने चारपांगे्र निजि सवारी साधन र मोटरसाइकललाई एकदिनका लागि सुविधाको पर्चि काटेर नेपाल भित्रिन दिइएको छ । भारतको रुपैडियासम्म जाने मोटरसाइकललाई पनि निर्वाध जान दिइएको छ ।

नेपाली नम्वर प्लेटका मोटरसाइकल, साइकलहरु सीमापारी रुपैडिया जान र आउन सुचारु भइसकेको र भारतीय सवारी साधनले भन्सार तिरेर आउन पाइरहेको इलाका प्रहरी कार्यालय जमुनाहाका इञ्चार्ज प्रहरी नायब निरीक्षक मिनबहादुर विष्टले बताउनुभयो ।

कोरोना संक्रमणपछि भारतीय सवारी नेपाल प्रवेश र नेपाली सवारी भारत प्रवेशमा रोक लगाउँदै आइएको थियो । यसअघि नाकामा पैदलयात्रुलाई मात्र आउजाउ गर्न दिइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?