logo
२०८१ जेष्ठ ८ मंगलवार



म्याग्दीको सिङ्गा ताताेपानीमा प्राकृतिक चिकित्सालय खुल्दै

स्वास्थ्य |
खुला |


म्याग्दीको सिङ्गा ताताेपानीमा प्राकृतिक चिकित्सालय खुल्दै



ठाकुरप्रसाद आचार्य
म्याग्दी, असोज १९ गते । म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डलाई प्रयोग गरेर नेपालमै पहिलो प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी थालिएको छ । बेनी नगरपालिका ४ सिङ्गामा तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालय सञ्चालनमा ल्याउने तयारी गरिएको हो । तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिक तातोपानीलाई प्रयोग गरेर योगाथेरापी, फिजियोथेरापी, मसाजथेरापी, जलचिकित्सा, अकुपञ्चर र डाइथेरापी विधिबाट विरामीको उपचार गर्न प्राकृतिक चिकित्सालय बनाउन लागेको हो ।
‘अहिले तातोपानीका पोखरीहरुमा बिरामीले स्नान गरेर रोग निको बनाउने गर्दछन् । तातोपानी कुण्डलाई थप व्यवस्थित बनाउँदै चिकित्सकले तातोपानीको प्रयोग गरेर रोग निको बनाउने प्राकृतिक विधिको प्रयोग गर्नका लागि प्राकृतिक अस्पताल निर्माण गर्न लागिएको हो’ कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले भन्नुभयो । उहाँका अनुसार प्राकृतिक तातोपानीको प्रयोग गरेर उपचार गर्ने विधिका लागि बनाउन लागिएको अस्पताल नेपालमै पहिलो हो ।
सङ्घीय सरकारको गत आर्थिक वर्षको ५० लाख रुपियाँ र कुण्डको आन्तरिक आम्दानी ५० लाख गरी एककरोड रुपियाँ लगानीमा अस्पतालका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गरिएको छ । साथै गत आर्थिक वर्षमै गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको बजेटबाट प्राकृतिक चिकित्सालयका लागि आवश्यक पर्ने थेरापीका उपकरणहरु खरिद गरिएको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।
अकुपञ्चर, योगाभ्यास हल, फिजियोथेरापीका लागि पाँच वटा बेड तयारी गरिएको र मसाज थेरापीलगायतका लागि पूर्वाधार निर्माण भइसकेको सचिव केसीले जानकारी दिनुभयो । कुण्डको आन्तरिक आम्दानीबाट तलब र सेवासुविधा दिने गरी एकजना प्राकृतिक चिकित्सक भर्ना गरिएको उहाँले बताउनुभयो ।
मसाज थेरापी र योगाथेरापीका लागि आवश्यक पर्ने जनशक्ति उत्पादनका लागि तालिम सञ्चालन गरिएको र दशैं लगत्तै अस्पताल सञ्चालन गरी विरामीको उपचार सुरु गर्ने तयारी गरिएको तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालयका प्राकृतिक चिकित्सक डा. आयुषा अधिकारीले बताउनुभयो । चिकित्सालयका लागि फिजियो थेरापिष्ट, मसाज थेरापिष्ट र नर्सिङ स्टाफसहित १५ देखि २० जना स्वास्थ्य जनशक्ति आवश्यक पर्ने उहाँले बताउनुभयो ।
‘तातोपानीका पोखरीमा स्थानीयले परम्परागत शैलीमा डुबुल्की मारेर उपचार गर्थे । अव अन्य प्राकृतिक उपचार विधि प्रयोग गरेर बिरामीको रोग निको पारिन्छ’, डा. अधिकारीले भन्नुभयो, ‘अस्पताल सञ्चालनमा आएपछि योगाथेरापी, जलचिकित्सा, अकुपञ्चर, डाईथेरापीलगायत प्राकृतिक विधिबाट तातोपानीको प्रयोग गरेर विरामीको उपचार गरिन्छ ।’ म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा स्नान गरेमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बजारिएको, मर्किएको, पेट दुख्ने, खाना रुचि नहुनेलगायतका स्वास्थ्य समस्या निको हुने विश्वास छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?