logo
२०७८ कार्तिक १० बुधवार



नेपाली समाजको जीवन्त चित्र

शनिवार |


नेपाली समाजको जीवन्त चित्र


डा. विष्णु न्यौपाने

नारद पोखरेलको औपन्यासिक यात्राका क्रममा बत्तीस वर्षको अन्तरालपछि लेखिएको उपन्यास हो– ‘प्रतिघात’ । यसको प्रकाशन नेपाल स्रष्टा समाजले गरेको हो । २०३५÷३६ सालको सेरोफेरोको राजनीतिमा होमिएको, अनेक खाले हण्डर र ठक्कर बेहोरेको भर्भराउँदो युवाको जीवन भोगाइ, २०४६ सालपछिको विषाक्त राजनीति देखेर विचलित भएको विषयवस्तु यस उपन्यासमा प्रस्तुत गरिएको छ । नेताहरूले आफूलाई देखाएका सपनाहरू सम्झेर वर्तमानमा ऊ आक्रोश ओकल्छ । आफ्नो जवानीको ऊर्जाशील समय व्यर्थै खेर फालेकोमा उसको छाती भुङ्ग्रोमा परेझैँ पोलेको छ । विगतको समयमा देशको नवनिर्माणको सपनामा लागेका जुझारु युवा अहिलेको अवस्था देखेर के सोच्छन् तथा के गर्छन् भन्ने विषयवस्तु उपन्यासमा उल्लिखित छ ।

‘प्रतिघात’ विमलराजको जीवन भोगाइको कथा हो । विमलराजको जीवनीकै रूपमा, उसकै जीवनको वरिपरिका घटनामा औपन्यासिक स्वरूप प्रदान गरिएको छ । त्यसैले यो जीवनीमूलक उपन्यास भएर आएको छ । निष्ठावान् राजनीति गर्नेहरू पछाडि परेका तथा अवसरवादीहरू राजनीतिमा अगाडि बढेका छन् । निष्ठाको राजनीति तथा आदर्श राजनीति गर्नेले अवसर नै नपाउने प्रवृत्ति देखिएको छ । देशमा शासन फेरियो, व्यवस्था फेरियो, व्यक्ति फेरिए तर प्रवृत्ति भने कहिल्यै फेरिएन । सत्तामा पुग्न नेताले जनतालाई अनेक आस्वासन दिए, जनताले भ¥याङ बनाए तर सत्तामा पुगेपछि उनीहरूले सबै बिर्सिए । पार्टीमा फुट, झुट र लुटको राजनीतिको बोलवाला चलेको देखिन्छ । कार्यकर्ता रेलिङ भाँच्ने, सार्वजनिक सम्पत्ति तोडफोड गर्ने काममा लागेका छन् । नेता कार्यकर्तामा देशभन्दा व्यक्तिगत स्वार्थ हाबी भएको छ । राजनीतिमा ‘चैते’ प्रवृत्ति हाबी हुँदै गएको छ । यस्तो राजनीतिक विकृति देखेर विमल चिन्ता व्यक्त गर्छ । विमल, शिशिर र धनीराम तीन दलका तीन प्रतिनिधि पात्र हुन् । तीन जनामा नै आफ्ना नेताको चरित्रप्रति वितृष्णा जागृत भएको छ । सपनाले जीवनमा पाएको हैरानी, दानबहादुरजस्ता दानवको पञ्जामा परी बच्ने उपायको खोजीमा लाग्दा गाउँबाटै पलायन भई आफन्तकोमा बस्नुपरेको छ । समाजमा व्याप्त यस्तै व्यवस्था र प्रवृत्तिको अन्त्यका लागि विमलहरू क्रान्तिमा लागेका छन् ।

विमलराज जन्मीहुर्केको पूर्वी पहाडी भूभाग, उसले शिक्षा लिएको जनकपुर आसपासका भूभागहरू, काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरू कार्यपीठिका भएर उपन्यासमा आएका छन् । खिउखोला, खानीखोला, टुवाखोला, इन्द्रेनीपोखरी, जन्तेथुम्का, सल्लेरीको रानीवन, तारेभीर, कमलाखोँच, गाईघाट, छाम्लिङ, फोक्सिङटार, रसुवाटरजस्ता पूर्वी पहाडी भूभागका सुन्दर गाउँ र ठाउँहरू प्रस्तुत उपन्यासको परिवेशका रूपमा आएका छन् ।
उपन्यासमा अनिष्ट, दीप्ति, सामीप्यता, क्षुब्ध, सुवर्णमय, प्रतीत, कान्तिमय, अपनत्व, उद्वेलित, तीक्ष्ण आदि तत्सम् शब्दहरू तथा मर्निङवाक, डेवाक, ग्याङ, ग्यारेज, सर्ट, डिस्चार्ज, नो सरी नो थ्याङ्क्स्, आवा, ट्रङकल, ल्यान्डलाइन, टेलिफोन, मोबाइल, इन्टरनेट, फोन, इन्जेक्सन, कियर आदि आगन्तुक शब्द प्रयोग गरिएका छन् । विभिन्न उखान, टुक्का र सूक्तिहरूको प्रयोगले उपन्यासकारको अभिव्यक्ति कौशल झल्किएको छ । यसैगरी मिथक र विम्बको प्रयोगले आम पाठकलाई प्राचीनतातर्फ डो¥याउँदै भाषिक मिठास पनि थपेको छ ।

देशमा राजनीतिक विकृतिको अन्त्य हुनुपर्ने सन्देश उपन्यासमा छ । आदर्श राजनीति र अवसरवादी राजनीति गरी राजनीतिका दुई रूप हुन्छन् । आदर्श राजनीतिको प्रतिनिधित्व विमल, गन्जमान, गौरीशङ्कर, असिलाल, विष्णुप्रसादहरूले गरेका छन् भने अवसरवादी राजनीतिको प्रतिनिधित्व रणबहादुर, दिलबहादुर, पदम अधिकारी, हित सिंह आदिले गरेका छन् । उपन्यासमा राजनीतिलाई व्यापारीकरण गरिएको देखाइएको छ । पार्टी सभापतिको खल्तीबाट निर्वाचनमा उठ्ने उम्मेदवारको टिकट बाँड्ने, जसले पैसा दियो उसैलाई टिकट दिने प्रवृत्ति उपन्यासमा आएको छ । यो अवसरवादी राजनीति हो ।

नेताका भनाइ र काम गराइ फरक फरक हुन्छन् । उनीहरूको सिद्धान्त एकातिर छ व्यवहार अर्कातिर । क्रान्तिकारी भनिएका नेताहरू पनि केही विशेष काम गर्नुप¥यो भने पहिला साइत देखाउन ज्योतिष पण्डितकहाँ पुग्छन् । उनीहरू मन्त्री, प्रधानमन्त्री हुँदा पण्डित ल्याएर स्वस्ति शान्ति गराउँछन् । हात्तीको देखाउने दाँत र चपाउने दाँत अलग अलग भएजस्तै नेपाली राजनीति पनि त्यस्तै छ । मुलुक समृद्ध बनाउने भनी जनतालाई आश देखाउने, स्वतन्त्रता र प्रजातन्त्रको प्राप्ति नै गरिबीको अन्त्य हो भन्ने देशको धर्म, संस्कृति, सभ्यताको जगेर्ना गराइदिने, भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ, माफियालाई जेलको कोठरीमा कोचिनेछ भन्ने, विदेशी हस्तक्षेपको अन्त्य हुन्छ भन्ने तर उनीहरूको व्यवहार भने कहिल्यै त्यस्तो भएको देखिँदैन । नेता विदेशीको इशारामा नाच्ने, विदेशी हस्तक्षेप बढेको बढ्यै, भ्रष्टाचार मौलाएको मौलायै छ । भ्रष्टाचारीलाई राजनीतिक संरक्षण गर्ने प्रवृत्ति बढ्दै गएको छ ।

नारीहरू उत्पीडनको सिकार बनेका छन् । नारीलाई सौन्दर्य र भोग्या वस्तु मात्र ठान्ने प्रवृत्ति छ । सपना र कल्पनाजस्ता पात्रको जीवनको सन्दर्भमा यस्तै खालको प्रवृत्ति देखिएको छ । गोमाले पतिबाट भोगेको सास्ती र हैरानी; उसले बहुपत्नी प्रथाबाट पाएको दुःख, आमाको जीवनको बचावटका लागि छोरी कल्पनाले कर्णसिंहसँग विवाह गरिदिनुपरेको सन्दर्भ निकै कारुणिक र मार्मिक भएर उपन्यासमा आएका छन् ।
उपन्यासमा मानवतावादी विचार प्रस्तुत गरिएको छ । उपन्यासका अधिकांश पात्रले समाजसेवामा आफूलाई अर्पण गरेका छन् । कल्पना परोपकारमा लागेकी छे । ईश्वरादेवीजस्ता अरूको दुःख देख्न नसक्ने, दसैँ मान्न राखेको पैसा परोपकारमा लगाउने, आफ्ना गहना बेची अस्पताललाई सहयोग गर्ने परोपकारी व्यक्ति उपन्यासमा प्रयुक्त छन् । रत्नलालजस्ता असल सल्लाह दिने व्यक्ति पनि उपन्यासमा छन् । सबै मानिसलाई अर्को मानिसको सुख दुःखको साथी बन्न आग्रह गरिएको छ ।
उपन्यासमा जातिपाती र छुवाछूत प्रथाको अन्त्य, अन्तर्जातीय विवाहलाई प्रश्रय, बालविवाह र चेलिबेटी बेचबिखनको सन्दर्भ, धार्मिक र सांस्कृतिक भावको प्रस्तुति, देशभक्तिको भाव आदि प्रस्तुत गरिएको छ । पूर्वीय दर्शनको उत्पत्ति र यसको प्रारूप यही भूमिमा तयार भई यहीँबाट संसारमा फैलिएको ऐतिहासिक तथ्य पनि उपन्यासमा प्रस्तुत गरिएको छ । महाभारतको युद्धमा नेपालका किराती राजा यलम्बरले हाम्रो देशको प्रतिनिधित्व गर्दै हस्तीनापुरमा लडाइँ लडेको ऐतिहासिक प्रसङ्ग पनि विवेचित छ । “प्राचीन ग्रन्थहरू पढ्दा नेपाली भएर जन्मिन पाएकोमा गौरव अनुभूति हुन्छ मलाई” (पृ. ३०७) भन्ने उपन्यासको मूल पात्र विमलको भनाइमा नेपालको महिमागान प्रस्तुत गरी प्रचीनताप्रतिको मोह व्यक्त गरिएको छ । “हामीलाई हाम्रो देशको हावापानी र माटोले प्रकृतिजन्य औषधिमूलो यथेष्ट प्रदान गरेको छ । हाम्रा वनजङ्गलमा उत्पादित जडीबुटीलाई चिनेर त्यसको संरक्षण र संवद्र्धन गर्न सके देश प्राकृतिक चिकित्सा पद्धतिमा निकै अगाडि पुग्न सक्छ” (पृ. २३९) भन्ने भनाइमा प्रकृतिजन्य औषधिमूलोका भण्डारका रूपमा नेपालको महिमा र गरिमा प्रस्तुत गरिएको छ ।

आदर्श र निष्ठावान् राजनीतिक आस्था विचलित हुँदै गरेको, राजनीति पैसामा किनकेच हुन थालेको, पैसाको खोलो बगाएर टिकट लिनुपर्ने, बाबुले जोडेको सम्पत्ति र समाजमा कमाएको इज्जत छोराले सखाप पारेको सन्दर्भजस्ता राजनीतिक विकृति उपन्यासमा विवेचित छन् । विमलको समाज रूपान्तरणको मार्गचित्र, निस्वार्थ कर्म, ईश्वर तथा हृदयको सुखसम्बन्धी चिन्तन, धार्मिक र सामाजिक चिन्तन उपन्यासमा प्रस्तुत गरिएका छन् ।
उपन्यासमा पूर्वी पहाडी सिम्पानी गाउँ आसपासको परिवेशमा हुर्की बढेको विमलराज र उसको जीवनको आरोहअवरोहमा आइपरेका घटना, ती घटनामा सहभागी पात्रहरू, त्यहाँको परिवेश, उनीहरूको बोलीचाली, संस्कार र संस्कृति तथा उनीहरूको राजनीतिक चेतनाको उतारचढावजस्ता विभिन्न अवस्थाको प्रस्तुति रहेको छ । राजनीतिमा लागेर आफ्नो र परिवारको भविष्यसमेत बर्बाद गरेको, कुनै लाभको पद धारण नगरेको, परिवारको कुनै व्यवस्था गर्न नसकेको एउटा पात्रको जीवनलाई आख्यानीकरण गरी प्रस्तुत उपन्यासको संरचना तयार भएको छ । औपन्यासिक उपकरणहरूको समुचित प्रयोग गरिएको प्रस्तुत उपन्यास नेपाली उपन्यास परम्परामा एक उत्कृष्ट उपन्यासका रूपमा उभिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?