logo
२०८१ बैशाख १५ शनिवार

  अन्तर्वार्ता  



कोरोनासँगै कालोढुसीको आँखामा सङ्क्रमण देखिन थालेको छ, सजग हुनुपर्छ

स्वास्थ्य |
अन्तरवार्ता |


कोरोनासँगै कालोढुसीको आँखामा  सङ्क्रमण देखिन थालेको छ, सजग हुनुपर्छ


नयाँ भेरियन्टको कोरोनाभाइरस (कोभिड–१९) भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको खतनाक कालो ढुसीको सङ्क्रमण नेपालमा पनि देखा पर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले केही दिन पहिले नेपालमा पनि फाट्टफुट्ट न्यूकोर्माइकोसिस देखिएको बताउनुभएको छ ।
काठमाडौं र सीमावर्ती शहर वीरगञ्जका कोरोना सङ्क्रमित बिरामीमा त्यो समस्या देखिएको पुष्टि भएको छ । छिमेकी मुलुक भारतका विभिन्न शहरका कोभिड बिरामीमा त्यो सङ्क्रमण देखिएको पाइएको र कतिपयले आँखा नै गुमाएको विवरण एक साताअघि आएको थियो ।
न्यूकोर्माइकोसिस कस्तो रोग हो ? यसले आँखामा कस्तो असर गर्छ ? र यो रोगका कारण आँखा नै गुम्न सक्ने सम्भावना कति छ ? भन्ने विषयको सेरोफेरोमा रहेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आँखा रोग विशेषज्ञ डा. सञ्जिव भट्टराईसँग गोरखापत्र अनलाइनका लागि आशा साहले गर्नुभएको कुराकानीको सम्पादित अंश :

कोभिड–१९ भएका बिरामीमा आँखा बिगार्ने न्यूकोर्माइकोसिस अर्थात् कालो ढुसी देखिने समस्या शुरु भएको छ । यो कस्तो प्रकारको रोग हो ?
यो कालो ढुसी कोरोनाले भन्दा पनि फङ्गल इनफेक्सन हो । यो माटो, कुहिएको फलफुल, बोटबिरुवामा पाइन्छन् । खासमा यो बोटबिरुवाबाट आउने ढुसी हो । तर, अहिले कोरोना बिरामी देखिन थालेको छ । भारतमा सङ्क्रमित बिरामीमा देखा पर्यो भन्ने छ । कोरोना सङ्क्रमित बिरामीको आँखा रातो हुने, पाक्ने, पोल्ने, आँखाबाट रगत जस्तो रातो पानी बग्ने गर्छ ।
दीर्घरोगी, उच्च रक्तचाप, मधुमेह र मृगौला लगायतका बिरामी जसलाई कोरोना सङ्क्रमण समेत भएको छ त्यस्तै व्यक्तिलाई यो इनफेक्सन हुने सम्भावना बढी छ । एन्टी फङ्गल स्टेरोइड औषधि लामो समयदेखि खानेहरुमा म्यूकोर्माइकोसिसको समस्या देखिएको हो ।
कडा खालको औषधि प्रयोग गर्ने व्यक्तिहरुमा रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । जसका कारण आँखामा न्यूकोर्माइकोसिस हुने सम्भावना देखापर्छ । कोरोनाकै कारणले मात्र देखिएको होइन ।
यसको असर कस्तो हुन्छ ?
यो आाँखा पाक्ने रोग नै हो । क्याटेरिया, भाइरल र फङ्गल तीन प्रकारले आँखा पाक्ने, रातो हुने गर्छ । अहिले आँखा अलि बढी रातो हुने र अर्को आँखाबाट रगत जस्तो पानी बग्ने देखिएको छ । साथै आँखा सुन्निने, दुख्ने, परेला लत्रने, आँखा धमिलो हुने समस्या पनि देखिएको छ । नेपालमा केही केसहरुमा देखियो भनिएको छ । तर, हामीले यसको परीक्षण गरेर प्रमाणित गर्न पाएका छैन । 
यो रोगका कारण आँखा नै गुम्न सक्छ भनिएको छ नि ?
फङ्गल इफेक्सनको राम्रो उपचार गर्नुपर्छ । यसमा कालाजारमा प्रयोग गर्ने औषधि अलि प्रभावकारी देखिएको छ । त्यो औषधि तत्काल उपलब्ध छैन । अहिले पहिला प्रयोग गरिएका पुराना औषधि चलाइरहेका छौ । यसलाई नियन्त्रण गर्न थप औषधि समयमै उपलब्ध गराउनुपर्छ । फङ्गल इनफेक्सनको राम्रो उपचार भएन, हेरचाह भएन भने आँखा पाक्ने आँखाको नानीमा घाउ हुने, आँखामा सेता दागहरु देखापर्ने, आँखाको दृष्टि कमजोर हुँदै जाने र अन्त्यम आँखा नै गुम्न सक्ने हुन्छ ।
त्यसोभए यो घातक नै छ ?
फङ्गल इनफेक्सन भएको आँखाको राम्रो उपचार भएन भने दृष्टि गुम्न नै सक्छ । उपचार पाएन हेरचाह भएन भने यसले दृष्टि कम हुँदै जान्छ । यसलाई लापरबाही गर्न मिल्दै । यसको लागि राम्रो उपचारको व्यवस्था गर्नु अति आवश्यक छ ।
धेरै जोखिम कसलाई हुन्छ ?
अहिले कोभिड–१९ का बिरामीको उपचारका क्रममा स्टेरोइडको अत्यधिक प्रयोगले पनि म्यूकोर्माइकोसिसको समस्या देखिएको छ । यो एन्टी–फङ्गल औषधि खानेहरूमा म्यूकोर्माइकोसिसको समस्या देखिन्छ । मधुमेहका रोगी, जलेका बिरामी र क्यान्सरका बिरामीमा यो समस्या बढी हुन्छ ।
यसको लक्षण के–के हुन् ?
आँखा पाक्ने, आँशु बग्ने, रगत जस्तो रातो पानी बग्ने, घाममा हिँड्न गाह्रो हुने, दुख्ने–बिझाउने–चिलाउने, आँखाको नानीमा घाउ हुने र दृष्टि मधुरो हुने लक्षण देखापर्छ ।
यो इन्फेक्सन के कारणले हुन्छ ?
घास, दाउरा गर्दा, खेतीपातीको समयमा खासमा रुख बिरुवाबाट फङ्गल इन्फेक्सन हुन्छ । कोरोनाकै कारण फङ्गल इन्फेक्सन भएको होइन । बिरामीहरु रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका कारण अस्वभाविक रुपमा यो इनफेक्सन देखिएको हो ।
यसबाट कसरी बच्न सकिन्छ ?
यसबाट बच्न आँखाको सरसफाइमा बढी ध्यान दिनुपर्छ । पटक–पटक चिसो पानीले आँखा पखाल्नु पर्छ, अहिले आँखाको लागि उपलब्ध औषधिको प्रयोग गर्नुपर्छ । साथै सरकारले यो रोगको लागि प्रयोग हुने औषधि यथासिघ्र उपलब्ध गराउन तर्फ ध्यान दिनुपर्छ । यदि सङ्क्रमित बिरामीमा इनफेक्सन भएको छ भने सरसफाइमा ध्यान दिनेका साथै अरुलाई नसरोस् भन्नेमा सचेत हुनुपर्छ ।
यो सरुवा रोग हो ?
यो सरुवा रोग हो । एउटा आँखाको माध्यमबाट अर्को आँखामा सर्ने गर्छ । अहिले के भनिएको छ भने, कोरोनाभाइरस आँखाको आँशु र आँखाबाट बग्ने पानीको माध्यमबाट पनि अर्को व्यक्तिमा सर्न सक्छ । आँखाबाट पनि कोरोना सर्न सक्छ ।
यसमा ध्यान दिनुपर्ने कुरा के हो ?
रोगप्रतिरोधी क्षमतालाई कमजोर बनाउने स्टेरोइडको प्रयोगमा विशेष ध्यान दिनुपर्ने हुन्छ । कोभिड भएर घरमै बसिरहेका बिरामीले आफूखुसी स्टेरोइडको प्रयोग गर्नु हुँदैन । चिकित्सकको परामर्शबिना प्रयोग गर्नु हुँदैन
त्यस्तै मधुमेहका रोगी, दमका बिरामी, मृगौला रोगी यसबारे बुझ्नु पर्छ । कालो ढुसीबाट सङ्क्रमितको उपचारमा ’एम्फोटेरिसिन बी’ औषधिको प्रयोग गरिन्छ । यो कालाजारमा प्रयोग गर्ने औषधि हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?