logo
२०८१ बैशाख २४ सोमवार



स्तरोन्नति गर्दै सिद्धार्थनगर सिटी अस्पताल

स्वास्थ्य |


स्तरोन्नति गर्दै सिद्धार्थनगर सिटी अस्पताल
सिद्धार्थनगर सिटी अस्पतालको एकसय बेडसहितको नयाँ बन्दै गरेको भवन, तस्विरः लक्ष्मण पौडेल



लक्ष्मण पौडेल
भैरहवा, पुस १७ गते । भैरहवामा सञ्चालित सिद्धार्थ सिटी हस्पिटलले ७० करोड लगानी थप्दै अत्याधुनिक भवनबाट सेवा प्रदान गर्ने भएको छ । अस्पतालले ट्रमासहितको सेवाहरु विस्तार गर्दै जाने उद्देश्यले लगानी वृद्धि गरेको हो ।
भाडाको भवनमा सञ्चालनमा रहेको सिद्धार्थ सिटी हस्पिटलले आफ्नै जग्गामा भुकम्प प्रतिरोधी भवन निर्माण सम्पन्न गरेको अस्पतालका प्रवन्ध निर्देशक अर्जुन पौडेलले बताउनुभयो । ५५ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको अस्पतालको नयाँ भवन भैरहवा नजिकै मायादेवी गाउँपालिकामा छ ।
नेपाल सरकारको नयाँ निर्देशिका तथा मापदण्ड अनुरुप एक सय शैयाकोे अस्पताल निर्माण भएको हो । अस्पतालमा अन्डरग्राउण्डसँगै छ तलाको भवन छ । हस्पिटलमा बिरामीलाई स्टेचरमा गुडाएर लैजानलाई ठूलो ¥याम्प र दुईवटा आकस्मिक बिरामी स्टेचर एकैपटक लैजान मिल्ने लिफ्ट छ । हस्पिपटलका सबै वार्डहरुमा भेन्टिलेशन छन् भने सेवा लिन आउने बिरामीको लागि छिट्टै सेवा दिन प्रत्येक विभागलाई कम्प्यूटरको माध्यमबाट डिजिटल तरिकाले काम गराइनेछ । जसले गर्दा कागजी काम कम हुने र अस्पताललाई पेपरलेश गराइने योजना रहेको प्रवन्ध निर्देशक पौडेलले बताउनुभयो ।
आकस्मिक बिरामी धेरै आउने भएकोले १५ शैयाको आकस्मिक कक्ष छ । जसमा सिकिस्त, अति सिकिस्त र सामान्य गरी तीन प्रकारमा वर्गीकरण गरिएको छ । मुटु रोगीका लागि विशेष सेवा दिने उद्देश्यले जर्मनीमा निर्मित मेसिनको प्रयोग गरिनेछ । जसबाट ईको, टिएमटी, होल्टर र मोडुलर सिसियूद्वारा बिरामीको परीक्षण गरिनेछ । अस्पतालमा तीनवटा मोडुलर अत्याधुनिक अपरेशन कक्ष यस क्षेत्रमा नै पहिलो पटक सञ्चालन हुने पौडेलले बताउनुभयो ।
त्यसैगरी, मोडुलर ओटीमा न्युरो, हाडजोर्नी, सामान्य सर्जरी, महिलासम्बन्धी सम्पूर्ण शल्यक्रिया हुने अस्पताल व्यवस्थापनले जनाएको छ । अस्पतालमा उपचारका लागि आउने बिरामीको सहजताका लागि घरायसी वातावरण भएको वातानुकुलीत सुविधा सम्पन्न क्याबिन रहेको र अस्पताल नजिकै अन्तर्राष्ट्रिय विमानस्थल, २० किलोमिटर दूरीमा बुद्ध जन्मस्थल लुम्बिनी रहेकाले त्यहाँ आउने विदेशी पाहुनाहरुलाई लक्षित गरी १८ सय वर्गमिटर क्षेत्रफलमा सुविधाका कक्षहरु बनाइएका छन् ।
यस क्षेत्रमा सडक दुर्घटना बढी हुने र ट्रमा अस्पताल नरहेकोले यो अस्पताललाई ट्रमा विशेष अस्पतालका रुपमा लैजाने योजना अस्पताल व्यवस्थापनको रहेको प्रबन्ध निर्देशक पौडेलले बताउनुभयो । एकसय शैया उपलब्ध हुने अस्पतालको सेवाग्राहीहरु प्युठान, अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु, नवलपरासी, रुपन्देही र सीमावर्ती भारतका ४० किलोमिटर टाढासम्मबाट आउने गरेका छन् ।
हाल भैरहवा बुद्धचोकमा सञ्चालित अस्पतालले डाइलासिसलगायतका विभिन्न सेवा उपलब्ध गराउँदै आएको छ । कोरोना भाइरस संक्रमणको कारण नयाँ भवनबाट स्वास्थ्य सेवा प्रदान गर्न ढिला भए पनि अबको एक महिनाभित्र नयाँ भवनबाट सेवा प्रदान गरिने अस्पताल व्यवस्थापनले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?