logo
२०८१ बैशाख १५ शनिवार



भूकम्पबाट पिडित बनेर सल्यानटारमा रहेका विस्थापितमा छाक टार्नै समस्या

प्रदेश |


भूकम्पबाट पिडित बनेर सल्यानटारमा रहेका विस्थापितमा छाक टार्नै समस्या


मुरारी अधिकारी
धादिङ, चैत्र २३ गते । १० वर्षको बालकदेखि ६५ वर्षका बृद्धबृद्धाहरु एक ठाउँ जम्मा भएर गिट्टी कुटिरहेका छन् । २०७२ को विनाशकारी भूकम्प पछि उत्तरी धादिङबाट विस्थापित भएर त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं १ पौवाडिलमा अस्थायी शिविरमा बसिरहेका विस्थापितहरुकोे दैनिकीले पाँच वर्ष पूरा गर्न लाग्यो । पाँच वर्षको दौरानमा कहिल्यै खानका लागि लागि समस्या भएको थिएन जुन कोरेना भाइरसको प्रकोप भएपछि भयो ।

भूकम्प पछि उत्तरी धादिङको लापा, झार्लाङ लगायतका अति जोखिममा परेका बस्तीबाट सुरक्षित रहन उहाँहरु सल्यानाटार आउनु भएको थियो । उहाँहरुले कुटेको गिट्टीको थुप्रो दिनप्रतिदिन बढिरहेको छ, तर बिक्री भएको छैन । ज्यालादारीमा गर्ने अन्य कामहरु पनि बन्द भएकाले बस्तीमा रहेकाहरुलाई बिहान बेलुकाको छाक टार्ने समस्या पर्न थालेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि सरकारले देशभर लकडाउन गरेको छ । लकडाउनका कारण सवै काम ठप्प हुँदा धादिङको सल्यानटारमा भूकम्प पछि अस्थायी शिविरमा बसेर ज्यालामजदुरी गरिरहेका परिवारहरु समस्यामा परेका छन् । दैनिक गर्ने काम पनि नपाएको मौज्दात रहेको खाद्यान्न सामाग्री सकिएपछि भोकभोकै बस्नुपर्ने अवस्था आएको उहाँहरुको गुनासो छ ।


विस्थापित शिविरकी मजदुर धनमाया तामाङका अनुसार दैनिक मेलापात गरेर, काम गरेर गुजारा चलिरहेको थियो, अहिले सवै काम ठप्प छ, बाँकी रहेको सामानहरु पनि सकिदैछ, कुटेको गिट्टी पनि बिक्री भएको छैन, अव भोक भोकै पो भइन्छ कि भन्ने पिर लागिरहेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि सरकारले देशैभर लकडाउन गरेको छ । विकास निर्माणका सवै कामहरु ठप्प रहेकाले यो शिविरका मजदुरहरुले पनि काम पाएका छैनन् । विस्थापित बस्तीका पुरुषहरु ज्याला मजदुरीमा काम गर्न जाने तथा महिलाहरु गिट्टी कुट्ने काम गर्थे ।

मजदुरहरु कोरोना भाइरसको रोकथामका लागि राज्यले लगाएको लक डाउनका कारण गिट्टी पनि बिक्री नभएको र दैनिक ज्यालादारीमा गर्ने काम पनि नपाएकाले भोक भोकै बस्नुपर्ने अवस्था आउन लागेको बताउँछन् । शिविरका स्थानीय कान्छा तामाङ हामी टाढाबाट आएका मान्छे प¥यौँ, सबैजनाले उधारोमा खाद्यान्न किन्न पनि नपाइएला, सबै ठाउँमा खुलेको पनि छैन, घरमा भएको सकिदैछ, बाहिरबाट ल्याउन पाइएको छैन, धेरै समस्या परिरहेको बताउनु हुन्छ ।

गाउँपालिकाले भने विस्थापित शिविर सहित पालिका भित्रका सबै मदजुरहरुको लागि राहत प्याकेज ल्याइन लागेको जनाएको छ । पालिका भित्रका वडा वडामा रहेको दैनिक ज्यालादारीले छाक टार्ने मजदुरहरुको लगत संकलनको काम भइरहेकाले अव छिट्दै मदजुरहरुलाई खाद्यान्न लगायतका सामाग्रीहरु उपलब्ध गराइने पालिका अध्यक्ष शम्भु थापाले बताउनु भयो । थापाका अनुसार सम्पुर्ण जनप्रतिधि खटाएर आफ्नो आफ्नो क्षेत्रमा दैनिक ज्याला मजदुरी गरेरै परिवार पाल्नेहरुको आँकडा झिकाएका छौँ, एक दुइदिनभित्रमा उहाँहरुलाई लकडाउन अवधीभरको लागि राहत उपलब्ध गराउनेछौँ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?