logo
२०८१ बैशाख १५ शनिवार

  चीनमा ‘कोरोना भाइरस’को संक्रमण 



पाँचकाे मृत्यु, संकटकाल घाेषणा गर्न सक्ने, नेपालमा सर्तकता

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


पाँचकाे मृत्यु, संकटकाल घाेषणा गर्न सक्ने, नेपालमा सर्तकता


इश्वरचन्द्र झा
काठमाडौं, माघ ७ गते । चीनमा कोरोना भाइरसको प्रकोप देखा परेको छ । भाइरसको प्रकोपबाट कम्तिमा चारजनाको मृत्यु भएको छ । संक्रमित तीनसय जना उपचारका लागि भर्ना गराइएको छ ।
विश्व स्वास्थ्य संगठनले भाइरसको संक्रमणलाई लिएर बुधबार आकस्मिक बैठक डाकेको छ । मानव–मानवबीच सर्ने भएकोले नेपालमा समेत सजगता अपनाउनुपर्ने चिकित्सकले सुझाब दिएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख डा. वासुदेव पाण्डेले प्रकोप चीनमा देखिए पनि नेपालमा समेत आवागमन हुने भएकोले विशेष सजगता अपनाउनुपर्ने बताउनुभएको छ । यसै साता काठमाडौं आउनुभएका चीनको वुहान प्रान्तका एकजना पर्यटकमा उक्त संक्रमणको सम्भावना देखिएपछि अस्पताल पुगेकोमा पछि संक्रमण नरहेको चिकित्सकले ठहर गरेको डा.पाण्डेले प्रष्ट्याउनुभयो ।
विदेशबाट आउने पर्यटकमा रोग वा भाइरसको संक्रमण जाँच्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परामर्श केन्द्र राखिएको छ । डा.पाण्डेले विश्व स्वास्थ्य संगठनको बैठकपछि थप सजगताका लागि प्रयास गरिने बताउनुभयो । विमानस्थलको सहायता केन्द्रलाई भने सक्रिय अवस्थामा राखिएको छ ।
नेपालमा कोरोना भाइरसको संक्रमण छुट्याउने उपकरण समेत छैन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उपकरण सहयोगको लागि विश्व स्वास्थ्य संगठनलाई आग्रह गरेको छ । केही दिनभित्रै उपकरण आउने बताइएको छ ।
पहिलो पटक दुई साता अघि नै देखापरेको उक्त भाइरसको प्रकोप बढेपछि चिनियाँ अधिकारीहरुले कोरोना भाइरस प्रकोपको रुप लिन सक्ने स्वीकार गरेका छन् । राष्ट्रपति सी चिनफिङ्गले आवश्यक सतर्कता र सावधानी अपनाउन कुनै कदम बाँकी नराख्ने बताउनुभएको छ ।
चिनियाँ अधिकारीहरुले सुरुमा उक्त भाइरस जनावरबाट मानिसमा सर्ने जनाएपनि सोमबार मात्रै मानिसबाट मानिसमा सर्ने पुष्टी गरेका हुन् । चीनको हुपे प्रान्तको वुहान शहरमा पहिलो पटक कोरोना भाइरसबाट संक्रमित बिरामी देखा परेको थियो । वुहान शहरभन्दा सयौं किलोमिटर टाढा दुईजनामा उक्त संक्रमण देखा परेको छ । प्रकोप सम्बन्धमा अध्ययन गर्न सरकारले नियुक्त गरेको डा.जोङ्ग नान्शनले उक्त भाइरस मानव–मानवमा सर्न सक्ने बताउनुभयो ।
विश्व स्वास्थ्य संगठनले उक्त प्रकोपबारे निर्णय लिन बुधबार आकस्मिक बैठक बोलाएको छ । बैठकमा सावधानीका उपाय तथा सार्वजनिक स्वास्थ्यमा संकटकाल र अन्तर्राष्ट्रिय स्तरमा प्रकोपको पहुँच सम्बन्धमा थप छलफल गरिने द् न्युयोर्क टाइम्सले जनाएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ्गले प्रकोपलाई गम्भिरतापूर्वक लिइएको बताउनुहुँदै सरकारले आवश्यक कदम चाल्न पछि नपर्ने आश्वस्त तुल्याउनुभएको छ । अधिकारीहरुले चीनको वेइजिङ, सांघाई र दक्षिणी प्रान्त ग्वाङडङमा समेत नयाँ बिरामी फेला परेको जनाएका छन् ।
त्यसैगरी, जापान, दक्षिण कोरिया र थाइल्याण्डमा समेत उक्त प्रकोपका संक्रमण देखा परेको बीबीसीले जनाएको छ ।
पहिलो पटक ३१ डिसेम्बरका दिन वुहान प्रान्तका सरकारले शहरका अस्पतालहरुमा निमोनिया जस्तो देखिने दर्जनौं बिरामीको उपचार भइरहेको जनाएको थियो । सरकारले कारणबारे खुलाएको थिएन । वुहान शहरको हुनान सीफुड बजार नजिकका मानिसमा उक्त संक्रमण देखा परेकोले प्रान्तीय सरकारले उक्त बजार बन्द गर्ने निर्णय गर्यो । तर आइतबार उक्त बजारको सम्पर्कमा नरहेका ब्यक्तिहरुमा समेत संक्रमण देखा पर्दा भाइरस शहरको अन्य भेगमा समेत उपस्थित रहेको हुनसक्ने अनुमान गरिएको छ ।
कोरोना भाइरसका संक्रमितलाई सुरुमा ज्वरो आउने र पछि श्वास लिन कठीन हुने समस्या देखिएको छ ।
शुक्रराज ट्रपिकल अस्पतालका प्रमुख डा. पाण्डेले संक्रमणपछि मृत्युको सम्भावना २० देखि ३० प्रतिशत हुने अनुमान गरिएको बताउनुहुन्छ । यद्दपी उहाँले चीनमा मृत्युदर कम रहेकोले उक्त सम्भावना दर कम हुनसक्ने खुलाउनुहुन्छ ।

(एजेन्सीहरूकाे सहयाेगमा)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?