logo
२०८१ बैशाख १५ शनिवार



सरकारी अस्पताललाई व्यवस्थित गर्न मन्त्री ढकालको जोड

स्वास्थ्य |


सरकारी अस्पताललाई व्यवस्थित गर्न मन्त्री ढकालको जोड


गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २४ गते । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारी अस्पताललाई व्यवस्थित गर्ने बताउनुभएको छ । उहाँले सरकारी अस्पताल सबै नागरिकको स्वास्थ्य सेवा सहज ढंगबाट लिने भएकाले सरकारी अस्पताललाई व्यवस्थित गर्नुपर्ने बताउनुभएको हो ।

मंगलबार कान्ति बाल अस्पतालको निरिक्षण गर्ने क्रममा स्वास्थ्य मन्त्री ढकालले सरकारी स्वास्थ्य संस्था बिरामीहरुको लागि अन्तिम विकल्प भएको बताउनुभयो । उहाँले सरकारी अस्पताललाई अन्तिम विकल्प होइन, पहिलो विकल्पका रुपमा प्रस्तुत गर्नुपर्ने भन्दै आफू सरकारी अस्पताललाई सुधार गर्न लागि परेको बताउनुभयो ।

उहाँले सरकारी अस्पतालमा दरबन्दी अभाव रहेकाले सहज स्वास्थ्य सेवा दिन असहज भइरहेको भन्दै स्वास्थ्य क्षेत्रमा अध्ययनका लागि धेरै स्वास्थ्यकर्मी विदामा भएकाले समस्या आएको बताउनुभयो ।

सरकारी अस्पतालमा आउँदा दिनभरि लाइनमा लागेर उपचार गर्नुपर्ने बाध्यता रहेको भन्दै उहाँले अस्पतालमा हुने झन्झटिलो प्रक्रियाको अन्त्य गर्नुपर्ने बताउनुभयो । स्वास्थ्य मन्त्री ढकालले मानिसहरु पैसा हँुदा निजी अस्पतालमा जाने र पैसा सकिएपछि सरकारी अस्पतालमा आउने गरेको बताउनुभयो ।

उहाँले सरकारी अस्पतालको सेवालाई चुस्त बनाउनुपर्ने भन्दै सरकारी अस्पताललाई सक्षम बनाउनुपर्नेमा जोड दिनुभयो । सरकारी अस्पताललाई व्यवस्थित बनाउन जिम्मेवार व्यक्तिहरुले पारदर्शी भएर काम गर्नुपर्ने बताउनुभयो ।

मन्त्री ढकालले भौतिक संरचना बनाउन भन्दा भएकालाई व्यवस्थित ढंगले सञ्चालन गर्न सक्नुपर्ने बताउनुभयो । कान्ति बाल अस्पतालका निर्देशक डा. आरपी बिच्छाले अस्पतालमा आँखा विभाग, हाडजोर्नी विभाग नरहेको जानकारी गराउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?