logo
२०८१ बैशाख १४ शुक्रवार



कमिसनको भरमा उपकरण खरिद गर्ने परिपाटी अन्त्य हुन्छ : स्वास्थ्यमन्त्री ढकाल

स्वास्थ्य |


कमिसनको भरमा उपकरण खरिद गर्ने परिपाटी अन्त्य हुन्छ : स्वास्थ्यमन्त्री ढकाल


शालिग्राम नेपाल

चितवन, मङसिर १५ गते । स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रमा देखिएको विकृति आफ्नो कार्यकालमा हटाउने बताउनु भएको छ ।

भरतपुर अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाले कमिसन पाउने आशामा सामग्री खरिद गर्ने तर प्रयोग नहुने समस्या रहेकाले त्यसलाई हटाउने बताउनुभयो । उहाले भन्नुभयो - ‘कमिसन आउँछ भन्दै अस्पताललाई आवश्यक नभएका, भएपनि राख्ने ठाउँनै नभएको, चलाउने व्यक्ति नहुदापनि सामग्री खरिद गर्ने बानी छ ।’

आफूलाई पैसा आउँछ भन्ने लागेपछि सामान खरिद गरिहाल्ने, माग गरिहाल्ने तर त्यो सामान कसले चलाउँछ, कतिको आवश्यकता छ भन्ने विषयमा ध्यान छैन उहाले भन्नु भयो - ‘अब यो समस्या हटाउने प्रयास गर्छु ।’

पैसा नभएर उपचार नपाइ मरिन्छ भन्ने अवस्थाको अन्त्य गर्न सरकारले योजना बनाएको जानकारी दिनु भयो । ‘रोग लागेको छ तर उपचार गर्ने पैसा छैन अब मरिन्छ भन्ने अवस्थालाई अन्त्य गरिन्छ ’ मन्त्री ढकालले भन्नु भयो ‘गरिबले पनि बाँच्न पाउनु पर्दछ, जसको लागि सरकार भएको अनुभूति गराउछौ ।’ स्वास्थ्य क्षेत्रकै बजेटलाई हामीले मिलाउने तयारी गरेका छौ - मन्त्री ढकालले भन्नुभयो ।

सेमिनार गोष्ठीको नाममा स्वास्थ्यका व्यक्ति विदेश जाने तर सिन्को नभाच्नेहरुको रकम कटौती गर्ने तयारी सरकारले गरेको छ । विदेशमा घुमेर आउनेहरुलाई अब बजेट दिने छैन त्यहाँ खर्च हुने पैसा गरिब असहाय, उपचार नपाएका व्यक्तिलाई दिने गरी व्यवस्था ल्याउने तयारी भएको मन्त्री ढकालले जानकारी दिनुभयो ।

देशभरीको ठुला अस्पतालको सेवाको विषयमा स्थलगत निरिक्षणमा आफै हिडेको भन्दै मन्त्री ढकालले प्रत्यक्ष आफूले हेरेर समस्या समाधान गर्न सहज हुने भएकाले जिल्ला आएको जानकारी दिनु भयो । उहाले भन्नुभयो - ‘नेपालका धेरै अस्पतालको स्तरउन्नती र सेवामा विकास गर्नु पर्ने देखिएको छ, यसका लागि अस्पतालका प्रशासकले प्रस्ट योजना ल्याउनु पर्दछ ।’ काठमाण्डौ चितवनका ठुला अस्पतालहरुले धेरै विरामीलाई सेवा दिएपनि यहाँको दीर्घकालिन विकासको प्रस्ट योजनाको अभाव भएको बताउनुभयो ।

सरकारी र निजीमा काम गर्ने एउटै चिकित्सकबाट सेवा र व्यवहारमा एउटै अवस्था नदेखिने समस्या पुरानो रहेको बताउनु भयो । ‘सरकारी अस्पतालमा काम गर्ने डाक्टरको क्लिनिकको उपचार सेवा, आर्थिक अवस्थामा धेरै अन्तर रहेको छ’ मन्त्री ढकालले भन्नु भयो ‘आखिर के कुराले छेक्यो राम्रो गर्नको लागि, निजिमा सकिने सरकारीमा नसकिने हुन्छ र ? फरक गर्ने बानी डाक्टरहरुले हटाउनु पर्दछ ।’

अस्पताल सञ्चालनको लागि गठन भएको विकास समितिमा राजनीति धेरै हुदा सेवामा समस्या आएको बताउनु भयो । सरकारले अहिले विकास समिति हटाएपछि राखिनु पर्छ भन्ने गुनासा आएको भन्दै हिजोको अवस्थाले के समस्या पारेको थियो भन्ने विषय समिक्षा गर्न मन्त्री ढकालले अनुरोध गर्नुभयो ।

कार्यक्रममा उहाले कानुन मन्त्रालयबाट सरुवा भएर स्वास्थ्यमा आएकाले आफू सिक्ने क्रममा रहेको भन्दै समस्याहरु विस्तारै समाधान हुदै जाने जानकारी दिनु भयो । भरतपुर अस्पतालका पूर्व अध्यक्ष तथा प्रदेश सांसद विजय सुवेदी, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट श्रीराम तिवारी, पूर्व मेसु कृष्णप्रसाद पौडेल, डाक्टर भोजराज अधिकारीले भरतपुर अस्पताल घोषणामा केन्द्रीय अस्पताल भनेपनि यहाँ पाउने सेवा, बजेट अझैपनि प्रदेश अस्पतालको भएकाले सञ्चालनमा कठिनाइ भएको जानकारी गराउनु भएको थियो ।

भरतपुर अस्पतालमा अहिले ६ सय भन्दा धेरै शैया रहेका छन् । काठमाण्डौको प्रसुती गृहपछि धेरै सुत्केरी हुने अस्पतालमा भरतपुर रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?