logo
२०८१ जेष्ठ २ बुधवार



पुलिस र च्यासलको खेल शनिबार

फुटबल |
खेलकुद |


पुलिस र च्यासलको खेल शनिबार


काठमाडौँ, माघ १७ गते । शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत च्यासलका १९ जना खेलाडीलाई कोरोना संक्रमण भएपछि रोकिएको च्यासल र नेपाल पुलिस क्लबबीचको नवौँ राउन्डको खेल शनिबार हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुलिस र च्यासलको खेल शनिबार खेलाउने जानकारी दिएको हो ।

यसअघि माघ २ गतेका लागि तय भएको उक्त खेल स्थगित भएको थियो । एन्फाले लिगको १०औँ राउन्डदेखिको नयाँ मिति भने सार्वजनिक गरेको छैन । लिगमा आठ खेल खेलेको पुलिस अहिले सात अंक सहित ११औँ स्थानमा छ । समान खेलबाट पाँच अंक बनाएको च्यासल १३औँ स्थानमा छ । च्यासलले रेलिगेसन रेखा जोगाउन सकेको छैन । 

लिगको शीर्षस्थानमा रहेको मच्छिन्द्रको २३, दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबको १९ र तेस्रो स्थानमा रहेको आर्मीको १७ अंक छ । च्यासलपछि अन्तिममा फ्रेन्ड्स क्लब छ । नौ खेलमा एउटै खेल जित्न नसकेको फ्रेन्ड्सको तीन अंक छ । सातौँ राउन्डसम्मको शीर्षटोलीले एएफसी कप छनोट खेल खेल्न पाउने एन्फाले राखेको प्रावधान अनुसार मच्छिन्द्र एएफसी कपका लागि छनोट भईसकेको छ ।

लिगमा कूल १३ राउन्ड खेल हुनेछ । १४ क्लबको सहभागिता रहने ‘ए’ डिभिजनको विजेताले ७५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेतालाई ५० लाख र तेस्रो हुने टोलीलई २५ लाख रुपैयाँ प्रदान गरिने एन्फाले जनाएको छ । यसैगरी लिगमा प्रत्येक खेलको विजेतालाई ५० हजार र खेल बराबरी भएको अवस्थामा दुवै टोलीलाई २५-२५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

लिगको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई तीन लाख, उत्कृष्ट गोलरक्षकलाई ‘गोल्डेन ग्लोब’ सहित दुई लाख, सर्वाधिक गोलकर्तालाई ‘गोल्डेन बुट’ सहित दुई लाख रुपैयाँ र ‘राईजिङ प्लेयर’ लाई एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने पनि एन्फाले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?