logo
२०८१ जेष्ठ ६ आईतवार



रियल म्याड्रिड गेटाफेसँग स्तब्ध

फुटबल |
खेलकुद |


रियल म्याड्रिड गेटाफेसँग स्तब्ध


काठमाडौँ, पुस १९ गते । स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल म्याड्रिड तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी गेटाफेसँग स्तब्ध बनेको छ । आइतबार राति भएको खेलमा रियल गेटाफेसँग उसैको मैदानमा १–० गोलले पराजित भयो । यससँगै रियलको १५औं खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

रियललाई हराउन गेटाफेका इनेस युनालले निर्णायक गोल गर्नुभयो । युनालले नवौं मिनेटमा गरेको गोल घरेलु टोलीको जितमा प्रयाप्त बन्यो । ७४ प्रतिशत बल पोसेसन राखेपनि रियलले गोल फर्काउन सकेन । खेलभर १४ वटा पोस्ट् प्रहार गरेको रियलको प्रयासमा गेटाफेको रक्षापंक्ति बाधक बनेको थियो ।

हारसँगै रियलले शीर्षस्थानमा अग्रता बढाउने अवसर गुमाएको छ । रियलको २० खेलबाट ४६ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ३८ अंक छ । सेभियाले दुई खेल कम खेलेको छ । १८ अंक बनाएको गेटाफे १६औं स्थानमा उक्लिएको छ ।

आइतबार रातिनै भएको अर्को खेलमा बार्सिलोनाले मालोर्कालाई उसैको मैदानमा १–० गोलले हरायो । बार्सिलोनाको जितमा लुक डि जोङले निर्णायक गोल गर्नुभयो । जोङले ४४औं मिनेटमा ओस्कर मिगुइजाको पासमा गोल गर्नुभएको थियो ।

६५ प्रतिश बल पोसेसन राखेपनि बार्सिलोनालाई गोल गर्न हम्मेहम्मे परेको थियो । कोरोनाका कारण बार्सिलोनाका अधिकांश सिनियर खेलाडी खेलेका थिएनन् । तरपनि मालोर्काले त्यसको फाइदा उठाउन सकेन ।

जितसँगै बार्सिलोना पाँचौ स्थानमा उक्लिएको छ । बार्सिलोनाको १९ खेलबाट ३१ अंक पुगेको छ । पराजित मालोर्का २० अंक सहित १५औं स्थानमा छ । अर्को खेलमा रायो भालेकानोलाई २–० गोलले हराउँदै एट्लेटिको म्याड्रिड पाँचौं स्थानमा उक्लिएको छ ।

एट्लेटिकोले १९ खेलबाट ३२ अंक बनाएको छ । पराजित रायो भालेकानो ३० अंक सहित छैटौं स्थानमा छ । तेस्रो स्थानमा रहेको रियल बेटिसको ३३ अंक छ । घरेलु मैदानमा आइतबार रातिनै भएको खेलमा बेटिस सेल्टा भिगोसँग २–० गोलले पराजित भयो । जितसँगै २३ अंक बनाएको सेल्टा भिगो १२औं स्थानमा उक्लिएको छ ।

अन्य खेलमा रियल सोसिडाड र अलाभेसले १–१ तथा इल्चे र ग्रानाडाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजनले प्रतक्ष प्रशारण गरेको छ । एजेन्सी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?