logo
२०८१ बैशाख १५ शनिवार



सुमनको गोलले हारबाट जोगियो पुलिस

फुटबल |
खेलकुद |


सुमनको गोलले हारबाट जोगियो पुलिस


काठमाडौं, मङ्सिर २२ गते । विभागीय टोलीको नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेका छन् । दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिस र शेर्पाले १–१ गोलको बराबरीमा रोकिए ।

प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता शेर्पाले लिएको थियो । खेल सुरु भएको ५३ सेकेन्डमै शेर्पाका कप्तान विश्वास श्रेष्ठले गोल गर्दै टोलीको उत्साह जगाउनु भएको थियो । दोस्रो हाफमा सशक्त प्रदर्शन गरेको पुलिसले ६० औँ मिनेटमा बराबरी गोल फर्कायो । पुलिसका लागि सुमन लामाले बराबरी गोल गर्नुभयो । डिबक्स भित्र अनमार्क रहनुभएका सुमनले रवी पासवानको पासमा गोल गर्दै पुलिसलाई हारबाट जोगाउनु भएको थियो । शेर्पाका जीवन गुरुङ ‘म्यान अफ दी म्याच’ हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

बराबरीसँगै तीन खेलबाट पाँच अङ्क बनाएको पुलिस चौथो स्थानमा छ । पुलिस पहिलो खेलमा आर्मीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा पुलिसले जावलाखेललाई १–० गोलले हराएको थियो ।

समान खेलबाट दुई अङ्क बटुलेको शेर्पा १२ औँ स्थानमा छ । शेर्पा पहिलो खेलमा संकटा क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा भने शेर्पा मनाङ मस्र्याङ्दी क्लबसँग १–० गोलले पराजित भएको थियो । बुधबार साँझ अर्को खेलमा मच्छिन्द्र र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?