logo
२०८१ बैशाख १४ शुक्रवार



मेस्सी र एमबाप्पे चम्किएपछि पीएसजीको सानदार जित

फुटबल |
खेलकुद |


मेस्सी र एमबाप्पे चम्किएपछि पीएसजीको सानदार जित


काठमाडौँ, मङ्सिर २२ गते । लियोनल मेस्सी र केलियन एमबाप्पे चम्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग फुटबलमा सानदार जित निकालेको छ । मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा पीएसजीले क्लब बर्गलाई ४–१ गोलले हरायो । जितसँगै पीएसजी समूह ‘ए’ उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

पीएसजीको जितमा मेस्सी र एमबाप्पेले दुई दुई गोल गर्नुभयो । क्लब बर्गका लागि म्याट्स रिट्सले सान्त्वना गोल फर्काउनु भएको थियो । जितसँगै दोस्रो स्थानमा रहेको पीएसजीले ६ खेलबाट ११ अंक बनाएको छ । चार अंक बनाएको क्लब बर्ग अन्तिममा छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको १२ अंक छ । मंगलबार राति नै भएको खेलमा सिटी लेइपजिगसँग २–१ गोलले पराजित भएको थियो । जितसँगै तेस्रो स्थानमा रहेकोे लेइपजिगको सात अंक छ ।

यसैगरी समूह ‘बी’ मा रहेको लिभरपुलले शतप्रतिशत जित निकाल्ने क्रममा अन्तिम खेलमा एसी मिलानलाई २–१ गोलले हराएको छ । जितसँगै शीर्षस्थानमा रहेको लिभरपुलले ६ खेलबाट १८ अंक बनाएको छ । चार अंक बनाएको एसी मिलान अन्तिममा छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको सात अंक छ । मंगलबार रातिनै भएको खेलमा एट्लेटिकोले एफसी पोर्टोलाई ३–१ गोलले हरायो । पाँच अंक बनाएको पोर्टो तेस्रो स्थानमा छ ।

समूह ‘डी’ को खेलमा रियल म्याड्रिडले इन्टर मिलानलाई २–० गोलले पराजित गरेको छ । जितसँगै शीर्षस्थानमा रहेको रियलको १५ अंक पुगेको छ । हारेपनि इन्टरले अन्तिम १६ मा स्थान बनाएको छ । दोस्रो स्थानमा रहेको इन्टरको १० अंक छ । तेस्रो स्थानमा रहेको सेरिफ तिरास्पोलको सात र अन्तिममा रहेको अंक साख्तर डोनेस्कको दुई अंक छ । मंगलबार राति नै भएको खेलमा सेरिफ र साख्तरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।

समूह ‘सी’ को खेलमा आजाक्सले स्पोर्टिङ सिपीलाई ४–२ गोल र बोरुसिया डर्टमन्डले बेसिक्टासलाई ५–० गोलले हराएको छ । जितसँगै १८ अंक बनाएको आजाक्स शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको स्पोर्टिङले नौ अंक जोड्दै नकआउट चरणमा स्थान बनाएको छ । तेस्रो स्थानमा रहेको डर्टमन्डको पनि नौ अंक छ । अन्तिममा रहेको बेसिक्टासले खाता खोल्न सकेन । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?