logo
२०८१ जेष्ठ १ मंगलवार



टोट्टनहाम र युनाइटेड विजयी

फुटबल |
खेलकुद |


टोट्टनहाम र युनाइटेड विजयी


काठमाडौँ, मङ्सिर १९ गते । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोट्टनहाम र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् । घरेलु मैदानमा भएको खेलमा टोट्टनहामले नर्विच सिटीलाई ३–० गोलले हरायो । युनाइटेडले क्रिस्टल प्यालेसलाई १–० गोलले स्तब्ध बनायो ।

टोट्टनहामको जितमा लुकास मोउरा, डाभिन्सन सान्चेज र ह्युङ मिन सनले गोल गर्नुभयो । १०औँ मिनेटमा लुकासले ह्युङ मिन सनको पासमा गोल गर्दै टोट्टनहामलाई अग्रता दिलाउनुभयो । दोस्रो हाफमा दुई गोल थपेको टोट्टनहामका लागि डाभिन्सले ६७औँ र ह्युङ मिन सनले ७७औँ मिनेटमा गोल गर्दै सजिलै जिताउनुभयो । जितसँगै १४ खेलबाट २५ अंक बनाएको टोट्टनहाम पाँचौँ स्थानमा उक्लिएको छ । पराजित नर्विच १० अङ्कसहित अन्तिममा छ ।

अर्को खेलमा युनाइटेडलाई जिताउन फ्रेडले ७७औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । घरेलु मैदानमा बल पोसेसनमा पकड जमाएपनि युनाइटेडलाई गोल गर्न निकै सङ्घर्ष गर्नुपरेको थियो । टोलीका प्रभावशाली स्ट्राईकर क्रिष्टियानो रोनाल्डो, जाडोन सान्चो, मार्कस रासफोर्ड र ब्रुनो फर्नान्डेजको प्रयासमा क्रिस्टलको रक्षापंक्ति बाधक बनेको थियो । क्रिस्टलले पनि गोल फर्काउन सकेन ।

जितसँगै युनाइटेड छैटौँ स्थानमा उक्लिएको छ । युनाइटेडको १५ खेलबाट २४ अङ्क पुगेको छ । पराजित क्रिस्टल १६ अङ्कसहित १३औँ स्थानमा छ । अर्को खेलमा एस्टन भिल्लाले लेस्टर सिटीलाई २–१ गोलले हरायो । एस्टन भिल्लाको जितमा दुवै गोल इजरी कोन्साले गर्नुभयो ।

कोन्साले १७औँ र ५४औँ मिनेटमा गोल गर्नुभएको थियो । लेस्टरका हार्भे बार्नेसले १४औँ मिनेटमा सुरुवाती गोल गरेपनि टोलीको हार टरेन । जितसँगै १९ अङ्क बनाएको एस्टन भिल्ला १०औँ स्थानमा छ । समान १९ अङ्क बनाएको लेस्टर गोल अन्तरका आधारमा ११औँ स्थानमा छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?