logo
२०८१ बैशाख १४ शुक्रवार



रियल म्याड्रिडले बार्सिलोनालाई हरायो

फुटबल |
खेलकुद |


रियल म्याड्रिडले बार्सिलोनालाई हरायो


बार्सिलोना (स्पेन), कात्तिक ८ गते । यस सत्रको स्पेनी ला लिगाअन्तर्गत पहिलो ‘एल क्लासिको’ भिडन्तमा रियल म्याड्रिडले बार्सिलोनालाई उसकै मैदान क्याम्प नोउमा २–१ गोलले हराएको छ ।रियलका लागि डेभिड अल्बा र लुकास भाजक्वेजले गोल गर्नुभयो । बार्सिलोनाका सर्जियो अग्वेरोले सान्त्वना गोल फर्काउनुभयो । खेलको ३२औंँ मिनेटमा रोड्रिगोको पासमा अल्बाले डिबक्स बाहिरबाट गोल गरेपछि रियल म्याड्रिडले अग्रता बनाएको थियो । रियलका लागि अल्बाको यो पहिलो गोल भएको छ । उहाँ यस सत्रमा जर्मनीको बुन्डेसलिगा क्लब बायर्न म्युनिखबाट रियलमा आबद्ध हुनुभएको हो ।

बार्सिलोनाले बराबरी गोलको खोजी गरिरहेको समयमा रियलले इन्जुरी समयको तेस्रो मिनेटमा अर्को गोल थपी जित पक्का गर्यो । भाजक्वेजले ‘रिवाउन्ड’ मा नजिकबाट बल गोलपोस्टमा छिराएर रियलको अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि इन्जुरी समयको सातौा तथा अन्तिम मिनेटमा सर्जिनो डेस्टको पासमा अग्वेरोले सान्त्वना गोल गर्नुभयो ।

म्यान्चेस्टर सिटीबाट बार्सिलोना पुगेको अर्जेन्टिनी अग्वेरो खेलको ७४औं मिनेटमा अन्सुु फातीको स्थानमा मैदान छिर्नुभएको हो । अग्वेरोको पनि बार्सिलोनाका लागि यो पहिलो गोल हो ।

यस जितपछि रियल म्याड्रिड दोस्रो स्थानमा छ । नौ खेलमा छ जित, दुई बराबर र एक हारमा खेलेको रियलको २० अङ्क छ । बार्सिलोना १५ अङ्कसहित नवौं स्थानमा झरेको छ । शीर्षस्थानमा रहेको रियल सोसिडाडको १० खेलबाट २१ अङ्क छ । आइतबार राति नै भएको खेलमा सोसिडाडले गत विजेता एट्लेटिको म्याड्रिडसँग २–२ गोलको बराबरीमा खेलेको थियो । एट्लेटिको म्याड्रिड १८ अङ्क बनाएर चौथो स्थानमा छ । तेस्रो स्थानमा रहेको सेभियाको २० अङ्क छ । आइतबार नै भएको खेलमा सेभियाले लिभान्टेलाई ५–३ गोलले हराएर तेस्रो स्थानमा आफूलाई कायम राखेको हो ।

एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?