logo
२०८१ बैशाख १५ शनिवार



सङ्खुवासभा हत्या प्रकरणः अपराध अनुसन्धान प्रगतितर्फ उन्मुख

फिचर |
पढ्नै पर्ने |


सङ्खुवासभा हत्या प्रकरणः अपराध अनुसन्धान प्रगतितर्फ उन्मुख
फाइल तस्विर


सचिन पोख्रेल
इटहरी, भदौ २३ गते । सङ्खुवासभाको मादी–१ उम्लिङमा भएको सामूहिक हत्या प्रकरणमा प्रहरी टोलीले गरेको अपराध अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको बताइएको छ । अहिलेसम्म कसैलाई पक्राउ गर्न नसकिए पनि फराकिलो दायरा बनाएर गरिएको सूक्ष्म अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको घटनास्थलमा अनुसन्धानमा परिचालित  सङ्घीय एकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो ।  
सो हत्याकाण्डको अनुसन्धानमा  प्रहरी उपरीक्षक दाहालको नेतृत्वको विशेष टोली सहित केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), प्रदेश प्रहरी कार्यालयको रिजनल इन्भेष्टिगेशन टिम, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको टोली सहित करिब ३५ जना परिचालित रहेको पनि प्रहरी उपरीक्षक दाहालले जानकारी दिनुभयो । गम्भीर प्रकृतिका जघन्य अपराध भएको कारणले फराकिलो रुपमा अनुसन्धान गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरेर ठुलै अनुसन्धान टोली घटनास्थलमा परिचालन भएको प्रहरीले जनाएको छ । 
अनुसन्धानको क्रममा  मृतकको घरमा लुटपाट नभएको पनि प्रहरीको भनाइ  छ । ‘हामीले घटनास्थल र घर भित्र खानतलासी गर्दा ४ लाख ७१ हजार रुपियाँ र केही सुनका गरगहना सुरक्षित रुपमा फेला परेकोले पनि त्यहाँ कुनै लुटपाट भएको देखिँदैन ।’ गोरखापत्रसँग कुरा गर्दै दाहालले भन्नुभयो ।
उन्लिङस्थित खोलागाँउमा गत सोमबार तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको सामूहिक हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । 
यसैबीच हत्या गरिएका छ जनाको शवको धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा पोस्टमार्टम प्रारम्भ गरिएको छ । प्रतिष्ठानका फोरेन्सिक विभागका चिकित्सक डा. विकास शाहले घटनाको विस्तृत जानकारी लिने काम सकेर शवको पोस्टमार्टम प्रारम्भ भएको बताउनुभयो ।
हत्याकाण्डको प्रारम्भिक र घटनास्थलको सूक्ष्म अनुसन्धानसँगै प्रहरीले हत्या भएको दुई दिनपछि मृतकको शव उठाएर पोस्टमार्टमका लागि प्रतिष्ठान पठाएको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?