logo
२०७८ असोज ९ शनिवार

दैनिक अध्यावधिक

image
1103

सङ्क्रमित

image
1550

निको भएका

image
9

मृत्यु भएका

मिति:आश्विन ८, २०७८ (१६:४१)
स्राेत:https://covid19.mohp.gov.np/



पाल्पामा पानीजहाज सबस्टेशनकाे सम्भाव्यताबारे स्थलगत अध्ययन शुरु

फिचर |
पढ्नै पर्ने |


पाल्पामा  पानीजहाज सबस्टेशनकाे सम्भाव्यताबारे स्थलगत अध्ययन शुरु
फाइल स्केच


रामपुर (पाल्पा), असार ११ गते । शालिग्राम पाइने नेपालकै एकमात्र नदी कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि पाल्पा खण्डमा सबस्टेशन राख्ने सम्भाव्यताको अध्ययन शुरु गरिएको छ ।
पाल्पाको राम्दीदेखि देवघाटसम्म एक सय ३५ किलोमिटर जलयान सञ्चालन गर्न बनाइएको योजनाअनुरुप कालीगण्डकीको देवघाट र रामपुरमा सबस्टेशनको लागि स्थलगत अध्ययन भइरहेको छ ।
नेपाल पानीजहाज कार्यालय काठमाडौँले पाल्पा खण्डको रामपुर नगरपालिकाका दुई स्थानमा सबस्टेशन राख्न सम्भाव्यता अध्ययन गरेको छ । रामपुर नगरपालिकाको वडा नं ३ स्थित केलादीघाट र वडा नं ६ स्थित गौरीघाटमा सबस्टेशनको लागि निरीक्षणको काम भएको छ ।
सम्भाव्यता अध्ययन भएकामध्ये केलादीघाटमा सडकको पहुँच, केन्द्रभाग पर्ने भएकाले त्यहाँ सबस्टेशनको लागि सम्भावना देखिएको हुँदा सो क्षेत्रको माटो परीक्षण तथा सर्भे गरेर असार मसान्तभित्र नेपाल सरकारलाई सुझावसहितको अध्ययन प्रतिवेदन हस्तान्तरण गर्ने नेपाल पानीजहाज कार्यालय काठमाडौँका इन्जिनियर तथा जलश्रोतविद् अनुप खनालले बताउनुभयो ।
“सर्भे गर्दाको समयमा आएको नतिजाको ड्राफ्ट रिपोर्ट अहिले तयारी गर्दैछौँ, यो सबै टर्मिनलको पनि डिजाइन पूरा तयार पारेर एकै पटक पठाउने हो, अहिलेसम्मको अध्ययनले हामीसँंग नेपालमा कस्तो किसिमको जहाज चलाउने भन्ने वर्गीकरणका लागि नीति छैन, हामीले अवलम्वन गर्ने भनेको भारतको हो”, उहाँले भन्नुभयो ।
इन्जिनियर खनालका अनुसार सबैभन्दा सानो जहाजको लागि एउटा सम्भावना एक सय टन क्षमता अर्थात् एक लाख किलो बोक्न सक्ने जहाज हेरिएको छ । एक लाख किलो बोक्नसक्ने क्षमता भएको जहाजले सरसर्ती हेर्दा दुई हजार बोरा सिमेण्ट बोक्न सक्ने जहाजको अध्ययन भइरहेको छ ।
एक लाख किलो सामान बोक्न सक्ने क्षमताको जहाजको लागि डेढ मिटरको पानीको गहिराई र तीस मिटरको चौडाइ आवश्यकता पर्दछ । कालीगण्डकीमा सो क्षमताको जहाज दुईतर्फी नै चलाउन सकिन्छ ।
नेपाल सरकार पानीजहाज कार्यालयको प्राथमिकता पनि हाललाई दुईतर्फी जहाज चलाउने छ भने नदीको सम्भावना नभएको ठाउँमा के गरेर पु¥याउन सकिन्छ सो क्षेत्रको गहिराइ, चौडाइ कसरी पु¥याउन सकिन्छ त्यो पनि अध्ययन प्रतिवेदनमा समावेश गरेर नेपाल सरकारलाई पठाउने टोलीले जानकारी दिएको छ ।
अहिलेका लागि रामपुर खण्डमा कालीगण्डकीको दुई ठाउँ केलादी र गौरीघाटमा निरीक्षण गरिए पनि यी दुई घाट नजिकै भएकाले दुबै ठाउँमा सबस्टेशनको आवश्यकता छैन । अहिलेलाई केलादीघाटको माटो परीक्षण गरेर पठाउने र त्यसको रिपोर्ट आएलगत्तै सबस्टेशन तयार गरिनेछ ।
बस्ती बढ्दै गएको खण्डमा कालीगण्डकीमा पानीजहाज सुचारु भइसकेपछि यहाँको आवश्यकता हेरेपछि पनि विभिन्न ठाउँमा सबस्टेशन थप्न सकिन्छ ।
पानीजहाजको स्टेशन तथा टर्मिनल राख्नका लागि उपयुक्त ठाउँ, नदीमा बहेको पानीको बहाव कतातिर छ, भौगोलिक भूगोल, सडक सुविधा, केन्द्र भाग छ या छैन जस्ता कुराको अध्ययन गरेर मात्रै राखिने भएको हुँदा अध्ययनमा अहिलेको लागि केलादीघाट उपयुक्त देखिएको छ ।
नेपाल सरकारको तर्फबाट कालीगण्डकी नदीमा जलयान अर्थात् पानीजहाज सञ्चालनका निम्ति विसं २०७७ को चैत पहिलो साता राम्दीघाटदेखि देवघाटभित्रको क्षेत्रमा पर्ने एक सय किलोमिटर क्षेत्रमा पानीको गहिराइ नाप्ने काम भइसकेको छ ।
पानीजहाज चलाउनका निम्ति कालीगण्डकीको देवघाटमा एउटा ठूलो स्टेशन राख्ने टर्मिनल निर्माण गरिनेछ भने अर्को रामपुरलाई सुबिधा हुने गरी एउटा पानीजहाजको सबस्टेशन राख्ने योजना बनाइएको छ ।
कालीगण्डकीसँग जोडिएको पाल्पाको रामपुर उपत्यका व्यावसायिक, व्यापारिक केन्द्रका रुपमा अगाडि बढ्दै गएको र यहाँ पर्यटकीय सम्भावना पनि थुप्रै रहेको हुँदा रामपुरमा नै एकवटा सबस्टेशन राख्ने योजना बनाइएको हो ।
पाल्पाको राम्दीदेखि देवघाटसम्म जलयान सञ्चालनका निम्ति छ वटा समूहले स्थलगत परीक्षण तथा सर्भे पश्चात् अहिले देवघाट र रामपुरमा सबस्टेशनको लागि स्थलगत सम्भाव्यता अध्ययन तथा निरिक्षणको काम भएको छ ।
पाल्पाको राम्दीदेखि देवघाटसम्म एक सय ३५ किलोमिटर जलयान सञ्चालनको योजना बनाइएको छ । पानीजहाज कार्यालय काठमाडौँबाट आएको टोलीले नदीको धारअनुसारको सबस्टेशन राख्नका लागि अध्ययन गरेको बताएको छ ।
पर्यटकीय तथा धार्मिक हिसाबले महत्वपूर्ण कालीगण्डकी नदीमा पानीजहाज सञ्चालन गर्ने योजना अति नै राम्रो रहेको र पानीजहाज नियमित सञ्चालनमा आएपछि कालीगण्डकी बेसीका नागरिकले धेरै फाइदा लिन सक्ने नेकपा एमाले रामपुर नगर कमिटी इन्चार्ज अध्यक्ष राजुप्रसाद श्रेष्ठ बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “कालीगण्डकी डाइभर्सन हुँदैछ, कालीगण्डकीमा पानीजहाज चल्दैन कि भन्ने कुरा यहीँका जनप्रतिनिधिले प्रचार पनि गरिरहनुभएको छ, सरकारले पानीजहाज चलाउने भनिसकेपछि त्यसमा डाइभर्सनको कुरा जोडिन हुँदैन, सकारात्मक सन्देश दिऔँ, पानीजहाज कालीगण्डकीमा सञ्चालनमा आएपछि यसबाट हामी गण्डकीबेसीका नागरिकले नै हो आर्थिक लाभ लिने ।”
नेपाल सरकारले पानीजहाज सञ्चालनका लागि बजेट विनियोजन गरेको जानकारी आएको हुँदा कालीगण्डकीमा जहाज चलेपछि ढुवानीका साधनमा पचास प्रतिशतभन्दा धेरै लागत कम हुने हुँदा यस क्षेत्रमा महत्वपूर्ण योगदान दिने उहाँको भनाइ छ ।
एक सय टन क्षमताको समान ओहोरदोहोर गर्न सक्ने भएको हुँदा नदीका केही स्थानमा बहाव मिलाउने, गहिराइ मिलाउने काम टोलीले अध्ययन गरेको छ ।
कालीगण्डकीमा जलयान सञ्चालनको काम प्रक्रियागत रुपमा अगाडि बढेकोले सबै नागरिकलाई सहयोग गर्न पूर्वमन्त्री तथा सङ्घीय सांसद दलबहादुर रानाको अनुरोध छ ।
विसं २०४०÷०४१ देखि कालीगण्डकी नदीमा राम्दीदेखि देवघाटसम्म परीक्षण गरेको रिपोर्ट आफूले मन्त्रालयमा पेश गरेकोले गतवर्ष सर्भेका लागी बजेट विनियोजन भएर सर्भे सकिएको परिवेशमा अहिले सबस्टेशन निर्माणका लागि स्थलगत अवलोकन हुनु सुखद रहेकोमा उहाँको जोड छ ।
कालीगण्डकीमा जलमार्ग निर्माण गरी जलयान सञ्चालनका निम्ति सरकारले बजेट समेत विनियोजन गरिसकेकाले केही समयमै सुनिश्चित गरी ठेक्का प्रक्रिया अगाडि बढ्ने पूर्वमन्त्री रानाले बताउनुभयो ।
उहाँले स्थलगत अध्ययन र माटो परीक्षणका लागि त्रिवेणीदेखि देवघाट र देवघाटदेखि राम्दीसम्म दुई वटा योजना सरकारले अगाडि सार्नु सुखद भएकाले कालीगण्डकी नदीको किनारै किनार जाने कालीगण्डकी करिडोर र कालीगण्डकीमा जलयान सञ्चालन हुनु यसक्षेत्रका पाल्पा, स्याङ्गजा, तनहुँ र नवलपुर जिल्लाको विकासमा ठूलो उपलब्धि भएको बताउनुभयो ।
सरकारले तिनाउँ डाइभर्सनको कुरा र कालीगण्डकी नदीमा जलमार्ग निर्माण गरेर जलयान सञ्चालन गर्ने कुरा दुबै सफल पार्ने योजना अगाडि सारेकोले विकासको कुरामा विरोध नगर्न उहाँको अनुरोध छ ।
पूर्व मन्त्री रानाले डाइभर्सनको सर्भे गरी डिटेल स्टीमेट कार्य अन्तिम चरणमा पुगेको र डिपिआर तयार हुने स्पष्ट पार्नुभयो । उतरगंगा बागलुङदेखि पूर्वी रुकुमबाट बढिघाट खोलामा झारेर कालीमा मिसाउँदा पर्याप्त पानी हुने भएको पनि उहाँले बताउनुभयो ।
“हामीलाई कालीगण्डकीमा पर्याप्त पानी पुग्नु, जलमार्ग सञ्चालन हुनु नै महत्वपूर्ण भएकोले विकास निर्माणको काममा सबैले सहयोग गरौँ, कालीगण्डकीमा जलमार्ग सञ्चालन हुने बित्तिकै यहाँका उत्पादन बाहिर लैजान सहयोग पुग्ने हुँदा गाउँका कृषि उत्पादनले सजिलै बजार पाउनेछ”, उहाँले भन्नुभयो ।
गण्डकीबेसी क्षेत्रका नुहाउनेघाट, पार्क व्यवस्थित गरी धार्मिक तथा पर्यटकिय पूर्वाधार निर्माणमा वारिपारिका पालिकाहरुले पूर्वाधार विकासमा जोड दिन सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने उहाँको भनाई छ ।
कोशी नदीमा तुम्लीङ्टारदेखि चतरासम्म, नारायणीमा देवघाटबाट तल गण्डकसम्म, कालीनदीमा राम्दीदेखि देवघाटसम्म तथा कर्णाली नदीमा जहाज सञ्चालनका निम्ति सर्भेको काम गरिएको नेपाल पानीजहाज कार्यालय काठमाडौंका निमिक्त प्रमुख विपिनराज भण्डारीले बताउनुभयो ।
उहाँले अन्र्तराष्ट्रियस्तरमा सञ्चालन हुने पानीजहाजमा नेपालको झण्डा राखेको पानीजहाज सञ्चालन गर्ने योजना रहेको र आन्तरिक रुपमा नेपालका नदीमा पानीको बहाव अनुसारका साना खालका पानीजहाज सञ्चालन गरिने बताउनुभयो ।
नदी किनार आसपासमा बसोबास गर्ने नागरिकको जीवनलाई प्रभाव पार्ने, उनीहरुको जीवनस्तर माथि उकासिनुका साथै पहाडी भूभागको कारणले मौसमी यातायात भएकाले कालीगण्डकीमा पानीजहाज सञ्चालनमा आएपछि यातायातमा सहजता ल्याउने तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा बताउनुहुन्छ । उहाँका अनुसार कालीगण्डकी बेसीका पाल्पा, स्याङ्गजा, तनहुँ र नवलपुरका तल्लो तटीय भेगका स्थानीयले प्रत्यक्ष फाइदा लिन सक्नेछन् ।
कालीगण्डकीमा पानीजहाज सञ्चालन हुनु रामपुरवासीको लागि नयाँ कुरा भएकाले यसलाई नदीसँग जोडिएका स्थानीय सरकारहरुले सहयोग गरेर निरन्तर सञ्चालन गर्न सकेको खण्डमा गण्डकीबेसीको मुहार फेरिने स्थानीय युवा अशोक श्रेष्ठ बताउनुहुन्छ ।
धार्मिक र पर्यटकीय हिसावले कालीगण्डकी उत्कृष्ट गन्तव्यस्थलका रुपमा रहेको र विशेषगरी कालीगण्डकी करिडोर पनि यसै नदीसँगै जोडिएकाले पनि नदीमा पानीजहाज सञ्चालनका लागि सबस्टेशनको सम्भाव्यता अध्ययनले नागरिकमा उत्साह छाएको रामपुरका युवा कृष्ण भट्टराईले बताउनुभयो ।
ऐतिहासिक एवं पर्यटकीय जिल्ला पाल्पामा पर्यटकीय पूर्वाधार विकाससँगै जल यातायातसम्मका कुरा आर्थिक वर्ष २०७८÷०७९को बजेटमा समेटिएको छ । आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाल्पाको राम्दीदेखि देवघाटसम्म जल यातायात सञ्चालनका लागि अध्ययनका लागि बजेट व्यवस्थापनका साथै पर्यटकीय पूर्वाधार विकासका लागि विभिन्न योजना अघि सारिएको बताउनुभएको थियो ।
कालीगण्डकी करिडोर निर्माण कार्यको निरन्तरता दिई कालीगण्डकीको राम्दीदेखि देवघाटसम्म जल यातायात सञ्चालनार्थ सरकारले बजेटको व्यवस्था गर्ने सरकारले जनाएको छ । बहेको पानीलाई सदुपयोग गरी आयस्रोत लिने र पर्यटकीय क्षेत्र विकास गर्न कालीगण्डकीमा जलयात्रा सञ्चालनका लागि विभिन्न समयमा विभिन्न निकायबाट परीक्षणका कार्य पनि भइरहेको छ ।
कालीगण्डकीको तल्लो भाग राम्दीदेखि देवघाटसम्म नियमित ¥याफ्टिङ चलाउन कर्णाली ¥याफ्टिङ एण्ड एड्भेन्चरका विज्ञसहितको टोलीले दुईवर्ष अघि नै तीन खण्डमा कालीगण्डकीमा सफल परीक्षण गरिसकेका छन् । सो परीक्षण पश्चात यो क्षेत्र पारिवारिक जलयात्राका लागि अति उत्तम मानिएको विज्ञसतिको टोलीले निष्कर्ष निकालेपछि यसले व्यापक चर्चा पाएको छ ।
पारिवारिक जलयात्राको अनुभूति दिलाउन, व्यवसायिक हिसाबले नियमित जलयात्रा सञ्चालन गर्न रामपुर नगरपालिकाको आयोजनामा बृहत कालीगण्डकी जलयात्रा महोत्सव पनि गरियो ।
विसं २०७६ को वैशाख ६ र ७ गते नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा भएको बृहत् जलयात्रा महोत्सवपश्चात् धेरैले यहाँ व्यावसायिक ढङ्गबाट जलयात्रा गर्न सुझावसमेत दिएका छन् । यस नदीमा नियमित जलयात्राका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने प्रशस्त सम्भावना छ ।
नेपाल सरकारले यस पटकको बजेट भाषणमा कालीगण्डकीको पानीलाई राम्दीबाट तिनाउँमा लैजान कुरा उल्लेख गरिएको छ । तिनाउँ कालीगण्डकी डाइभर्सन आयोजना अन्तर्गत नौ डायामिटरको सुरुङ्ग निर्माण हुनेछ ।
कालीगण्डकीमा पानीजहाज सञ्चालन हुनु तल्लो तटीयबासीको लागि खुशीको कुरा रहेको स्थानीयले अभिव्यक्ति दिएका छन् भने कालीगण्डकीको पानीलाई राम्दीबाट मोडेर रुपन्देही, कपिलवस्तुमा सिँचाइ गर्न तिनाउँ कालीगण्डकी डाइभर्सन आयोजना पनि सरकारले समावेश गरेको हुँदा एकै पटक यी दुई आयोजनाको काम कसरी सम्भव भन्ने प्रश्न पनि स्थानीयले नै गरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?