logo
२०७८ बैशाख २८ मंगलवार



महामारी नियन्त्रणमा सबैको भूमिका (सम्पादकीय)

विचार/दृष्टिकोण |




कोरोना महामारीको दोस्रो लहरले मुलुक आक्रान्त छ । सङ्क्रमित हुनेहरू र यसका कारण मृत्यु हुनेको सङ्ख्या दैनिक बढिरहेको छ । पछिल्लो दुई दिनयता सङ्क्रमितको सङ्ख्या दैनिक सात हजारभन्दा बढीले थपिइरहेको छ । अहिले सबै जिल्लामा सक्रिय सङ्क्रमित छन्, एक दर्जन जिल्लामा सक्रिय सङ्क्रमित पाँच सयभन्दा बढी र झण्डै दुई दर्जन जिल्लामा दुई सयदेखि पाँच सयसम्म छन् । तीव्र गतिमा फैलिरहेको दोस्रो लहरको यो सङ्क्रमण नियन्त्रण, रोकथामका लागि अहिले काठमाडौँ उपत्यकाका तीन जिल्लालगायत ४६ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । अस्पतालमा शय्याको अभाव हुन थालिसकेको छ ।
विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालमा कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ५१ हजार नाघिसकेको छ भने मुत्यु हुने तीन हजारभन्दा बढी छन् । सोमबार ५४ हजारभन्दा बढी आइसोलेसनमा छन् । कुल सङ्क्रमितमध्ये ८३.३ प्रतिशत निको भएका छन् भने झण्डै एक प्रतिशतको मृत्यु भएको छ । नेपालको मृत्यु दर भारत भुटान, माल्दिभ्स र श्रीलङ्काभन्दा बढी हो । दैनिक नयाँ सङ्क्रमित एक सयभन्दा कम फेला पर्न थालिसकेको अवस्थामा गत चैतको मध्यदेखि अहिलेसम्म ६० हजार नयाँ सङ्क्रमित थपिएका छन् । २०७६ को फागुन पहिलो साता नेपालमा पहिलो सङ्क्रमित फेला परेपछि सङ्क्रमितको सङ्ख्या ६० हजार पुग्न छ महिना लागेको थियो । यो तथ्याङ्कले कोरोना महामारीको दोस्रो लहर कति भयावह छ भन्ने कुरा स्पष्ट पार्छ । अबको केही समय महामारी अझै बढ्ने चेतावनी जनस्वास्थ्यविद्ले दिँदै आएका छन् ।
सङ्क्रमितको सङ्ख्या भयावह रूपमा फैलिँदै गएकाले स्वास्थ्य पूर्वाधारको कमी हुन थालेको छ । यो अवस्थामा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्दै कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्नेमा सरकार संवेदनशील रहेको दोहो¥याउनुभयो । महामारी नियन्त्रण, रोकथाम र सङ्क्रमितको उपचारमा थप प्रभावकारिता ल्याउन सात जना मन्त्रीलाई सात प्रदेशका सम्पर्क व्यक्ति तोकिएको, प्रदेश र राजधानीमा एक एक हजार शय्याको अस्थायी कोभिड अस्पताल निर्माण गर्ने र ठूला अस्पताल तथा मेडिकल कलेजलाई कोभिड अस्पतालका रूपमा सञ्चालन गर्ने जानकारी उहाँले दिनुभयो । उहाँले जनशक्ति भर्ना गर्ने र अग्रभागमा काम गर्ने कर्मचारीलाई तलबको
५० प्रतिशत जोखिम भत्ता दिने पनि बताउनुभयो । सरकारको यो कदमले कोरोना नियन्त्रण र उपचारमा सहयोग पुग्नेछ । भोक निद्रा मारेर, आफैँ सङ्क्रमित हुँदा पनि बिरामीको उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरूको मनोबल बढ्नेछ । पहिलो चरणको महामारी नियन्त्रणमा सफलता मिलेको थियो । नेपाल चाँडै नै खोप भित्र्याउन पनि सफल भएको हो । हालसम्म २१ लाखले खोप लगाइसकेका छन् भने तीमध्ये तीन लाख ७० हजारले दोस्रो मात्राको खोप पनि लगाइसकेका छन् । दोस्रो लहरको महामारी तीव्र गतिमा फैलिरहेको र बढी गम्भीर प्रभाव पारिरहेका कारण अहिलेसम्म भएका स्वास्थ्य पूर्वाधार पर्याप्त नहुने देखिन्छ ।
अहिले नेपालमा कोरोनाको यूके भेरियन्ट, भारतको डबल म्युटेन्ट भेरियन्ट, अफ्रिकी र ब्राजेलियन भेरियन्ट रहेको जनस्वास्थ्यविद्को अनुमान छ । तर कुन भेरियन्टको सङ्क्रमण र प्रभाव बढी छ भन्ने कुराको अध्ययन भएको छैन । भाइरस उत्परिवर्तन भइरहेकाले त्यसको रोकथाम र नियन्त्रणका लागि त्यसको प्रकार थाहा पाउनुपर्छ । त्यसका लाग अध्ययन जरुरी हुन्छ । भाइरसको उत्परिवर्तित प्रकार बढी जोखिमपूर्ण हुने र एकपटक सङ्क्रमण भइसकेपछि वा खोप लगाइसकेपछि विकास हुने प्रतिरोधी क्षमतालाई पनि छल्नसक्ने नयाँ भेरियन्टको विकास हुनसक्नेतर्फ जनस्वास्थ्यविद्ले चेतावनी दिँदै आएका छन् । त्यसैले यसप्रति आम नागरिक सचेत हुनैपर्छ । महामारी नियन्त्रणका लागि बन्दाबन्दी÷ निषेधाज्ञा एउटा महŒवपूर्ण उपाय भएकाले सबैले यसको पालना गर्नुपर्छ । व्यक्तिको सानो हेल्चेक्र्याईले गम्भीर जोखिम आउनसक्छ । सरकारले सम्भाव्य जोखिमको आकलन समयमै गरी आवश्यक अस्पताल, शय्या, जनशक्ति, अक्सिजन र औषधिलगायतको व्यवस्था र तिनको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा द्विमत छैन । द्रुतगतिमा फैलिने महामारीको अवस्थामा राज्यका उपलब्ध संयन्त्र र पूर्वाधार कहीँ कतै पनि पर्याप्त हुँदैनन् । यस्तो सङ्कटका बेला आफ्नो होसियारी नै सबभन्दा फलदायी हुन्छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?