logo
२०८१ जेष्ठ ५ शनिवार



बाँकेमा एकै दिन ४० संक्रमित थपिए, मास्क र सामाजिक दुरीमा बेवास्ता

फिचर |
पढ्नै पर्ने |


बाँकेमा एकै दिन ४० संक्रमित थपिए, मास्क र सामाजिक दुरीमा बेवास्ता


सिराज खान
नेपालगञ्ज, चैत २९ गते । भारतसँग सिमाना जोडिएको बाँकेमा हाल आएर फेरि संक्रमित भेटिने क्रम तीव्र हुन थालेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार बाँकेमा भेरी अस्पताल तथा अन्य विभिन्न ल्याबमा गरिएको परीक्षणमा एकैदिन ४० जनामा कोरोना पुष्टि भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले भारतको महाराष्ट, गुजरात र पञ्जाब लगायतका स्थानबाट नेपालीहरु फर्किने क्रम बढेसँगै बाँकेमा संक्रमितको संख्या पनि बृद्धि हुँदै गएको बताउनुभयो ।
उहाँले शनिबार रातीसम्म आएको नतिजा अनुसार एकै दिन जिल्लाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४० जना संक्रमित भेटिएको बताउनुभयो ।

साोही प्रकारले शनिवार राती नै उपचारका क्रममा भेरी अस्पतालमा रहनु भएकी दुल्लु ७ दैलेखकी ७३ वर्षीया महिलाको मृत्यु पनि भएको फोकल पर्सन ओलीले बताउनुभयो । संक्रमित भेटिने क्रम बढेपछि नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्ज र कोहलपुर शिक्षण अस्पतालमा पनि आइसोलेसन वार्ड तयारी अवस्थामा राख्न निर्देशन दिईएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
यसअघि जिल्लामा संक्रमण करिब शून्यमा पुगेपछि ती दुबै आइसोलेसन वार्डहरु बन्द गरिएका थिए ।

संक्रमण बढ्दैछ, तर मास्क र सामाजिक दूरीमा बेवास्ता

जिल्लामा दिनप्रतिदिन कोरोनाको संक्रमण बढ्दै गए पनि अधिकांश स्थानीयले मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने कुरामा कुनै पनि वास्ता गरेको पाईँदैन । बाँकेको नेपालगञ्ज, कोहलपुर र खजुरा लगायतका बजारमा हिडडुल गर्ने ९० प्रतिशतभन्दा बढीले न त मास्क लगाउने गरेका छन न त उनीहरुले  सामाजिक दूरी नै कायम गर्ने गरेका छन् ।

सार्वजनिक साधनहरुमा यात्रा गर्ने, बजारमा किनमेलका लागि भिडभाड गर्ने र अन्य विभिन्न कामले बाहिर निस्कनेहरु मध्ये मुस्किलले १० प्रतिशतले मात्रै मास्क लगाएको र सामाजिक दूरी कायम गर्न खोजिएको देखिएको छ ।

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले सबैलाई मास्क लगाउन र सामाजिक दूरी कायम गर्न अनुरोध गरिसकिएको जनाउँदै पालना नगर्नेलाई कडाइ गर्ने योजना बनाइरहेको बताउनुभएको छ ।
उहाँले आफ्नो जीवनसँगै आफैं खेलवाड गर्नेहरुलाई कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गर्न लगाइने जनाउनुभयो । त्यसका लागि अनुगमन शुरु गर्ने तयारीमा आफूहरु जुटेको पनि उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?