logo
२०८१ बैशाख १४ शुक्रवार



मोरङमा कोरोना सङ्क्रमणबाट पाँचौँ व्यक्तिको मृत्यु

फिचर |
प्रदेश |


मोरङमा कोरोना सङ्क्रमणबाट पाँचौँ व्यक्तिको मृत्यु



नवराज कट्टेल
विराटनगर, साउन २३ गते । कोशी अस्पताल विराटनगरमा शुक्रबार थप एकजनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । अस्वथ्य भई उपचारका लागि अस्पताल लैजाने क्रममा भर्ना हुनुअगावै मृत्यु भएका विराटनगर–९ का ५८ वर्षीय पुरुषको मृत्युपछि काेराेना पोजिटिभ रिपोर्ट आएको हो ।

कोशी अस्पतालकाे आइसोलेसन इन्चार्ज डा. लक्ष्मीनारायण यादवका अनुसार एक सातादेखि ज्वरो र खोकीले सताउँदै आएका उनलाई शुक्रबार बिहान एक्कासि श्वासप्रश्वासमा समस्या भएपछि कोशी अस्पताल पुर्याइएको हो । स्वास्थ्य समस्या भएपछि अस्पताल लगिए पनि भर्ना गर्नुपूर्व नै मृत्यु भएको थियो ।

कोशी अस्पतालमा यसअघि विराटनगर–५ का ७७ वर्षीय पुरुष, विराटनगर–९ का ४५ वर्षीय पुरुष र रङ्गेलीका ४५ वर्षीय पुरुषको मृत्यु भइसकेको छ । शुक्रबार विराटनगर–९ कै ५८ वर्षीय पुरुषको मृत्यु भएको हो भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुनवर्षी–८ का एक जनाको मृत्यु भएको थियो ।

प्रदेशमा एक हजार ३२२ पुगे सङ्क्रमित
 प्रदेश १ मा शुक्रबार ६७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश १ मा कोरोना सङ्क्रमणको सङ्ख्या एक हजार ३२२ पुगेको हो । शुक्रबार मोरङमा ६४, झापामा दुई र सुनसरीमा एकजना सङ्क्रमित देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा २४ पुरुष आठ महिला, रङ्गेलीमा २३ पुरुष छमहिला, बुढीगङ्गामा दुई पुरुष, कटहरीमा एक महिला, झापाको मेचीनगर र बिर्तामोडमा एक–एक पुरुष, सुनसरीको धरानमा एक पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा शुक्रबार पाँच जना डिस्चार्ज भएका छन् । कोभिड १९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट चार र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा उदयपुरका चार र मोरङका एकजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या ९१० पुगेको छ ।

शुक्रबार प्रदेश १ मा एकहजार ६९४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १५ महिला र ५२ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?