logo
२०८० चैत्र ६ मंगलवार



मेलम्चीकाे सुरुङ दुर्घटनामा हराएका इन्जिनियरकाे शव फेला

मुख्य समाचार |


मेलम्चीकाे सुरुङ दुर्घटनामा हराएका इन्जिनियरकाे शव फेला
शव निकाल्दै नेपाली सेनाका जवानहरू । तस्बिर साैजन्य: निमेष रेग्मी


सञ्चिता घिमिरे/देवराज सुवेदी

काठमाडौँ,  असार ३१ गते । मेलम्ची खानेपानी आयोजनाकोे सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ । परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो दुई जना बेपत्ता भएका थिए । तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतीश गोहितको शव आज अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजीकै भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।    

अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको खोजी जारी रहेको पनि उहाँले बताउनुभयो ।  यसैबीच हराइ रहेका थाप मगरकाे खाेजिका लागि सशस्त्र प्रहरीकाे तालिम प्राप्त गाेताखाेरकाे टाेली घटनास्थल पुगेकाे र केही बेरमा भाेलिकाे खाेजि याेजनाबारे बैठक बस्न लागेकाे आयोजनाका मिडिया कन्सल्टेन्ट निमेश रेग्मीले गाेरखापत्र अनलाइनलाइ बताउनुभयाे । 

यसैबीच, मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण रोकिएको छ । आयोजनाको अम्बाथानस्थित फ्लसिङ (आवश्यक गर्दा पानी फाल्न बनाइएको) गेट एक्कासी खुलेर दुर्घटना भएपछि आयोजनाको परीक्षण स्वरुप पानी हाल्ने काम रोकिएको हो । सुरुङमा पठाएको सबै पानी बाहिर निकालिएको छ ।    
    
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–३ अम्बाथानस्थित आयोजना निर्माणस्थलमा बुधबार भएको दुर्घटनामा १० दिन पहिलेबाट सुरुङभित्र पठाइएको सबै पानी बाहिर निकालिएको बताइएको छ ।    
    
मङ्गलबार दिउँसो मेलम्ची खानेपानी विकास बोर्ड, निर्माण कम्पनी र परामर्शदाताको संयुक्त टोली सुरुङको निरीक्षणका लागि अम्बाथानस्थित आयोजना निर्माणस्थलमा पुगेको थियो । प्रारम्भिक रुपमा सुरुङमा रहेको गेटको नेटबोल्ड फुत्केर पानी बाहिर निस्केको भन्ने बुझिएको आयोजनका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । सो आयोजनाको निर्माणसँगै सुरुङको परीक्षणका लागि कार्यविधि बनाइएको थियो । सोही कार्यविधिका आधारमा प्राविधिक टोली परीक्षणका लागि पुगेको हो । उहाँले भन्नुभयो, “उहाँहरु त्यहीँ हुँदा दुर्घटना भएकाले पानीको बेगले बगाएको हो ।”    
    
सुरुङको निर्माण सम्पन्न भएकाले त्यसको निरीक्षण र समन्वयका लागि समिति बनेको थियो । अम्बाथानको जिम्मा इञ्जिनीयर शेखर खनाललाई दिइएको र उहाँको नेतृत्वमा परामर्शदाता र निर्माण व्यवसायीको एक÷एक जना प्रतिनिधि रहेको थियो । अहिले पनि निर्माण व्यवसायी निर्माणस्थलमै रहेकाले सो घटना कसरी भयो भन्ने व्यवसायीलाई नै जानकारी हुने उहाँले बताउनुभयो ।    
    
आयोजनाले सामान्य अवस्थामा के गर्ने भनी बनाएको कार्यविधिकै आधारमा अहिलेसम्म परीक्षण भइरहेको प्रवक्ता पन्तले बताउनुभयो । पानी बाहिर जाँदा के गर्ने भन्ने पनि कार्ययोजनामा रहेको उहाँले बताउनुभयो । पानी बाहिर निस्कँदा बस्तीलाई माइकिङ खबर गर्ने उल्लेख छ । घटना एक्कासी भएको र परीक्षणका लागि गएका व्यक्ति नै बगाएकाले खबर गर्न नपाइएको हो । उहाँले भन्नुभयो, “कुनै त्रुटि भएमा के गर्ने भन्ने पनि कार्ययोजनामा छ ।”    
    
आयोजनाले निरीक्षणका लागि व्यक्ति आफैँ जाँँदा जोखिम हुने देखिएकाले अब पानी हाल्दा निरीक्षणका लागि सीसी क्यामरा जडान गर्ने योजना बनाएको छ । सुरुङमा रहेको सबै पानी बाहिर निस्केकाले अब फेरि १५÷२० दिन सुरुङमा पानी भर्न नै लाग्नेछ । तत्काल नै पानी पठाउने भने योजना नरहेको आयोजनाले जनाएको छ ।    
    
सुरुङभित्र गएको पानी गेटबाट बाहिर एकै पटक निस्किेपछि अहिले त्यहाँ पानी पठाउन रोकिएको छ । अब पहिले त्रुटि सच्चाउने र त्यसपछि मात्रै पानी हाल्ने आयोजनाका प्रवक्ता पन्तले बताउनुभयो । त्यहाँ कति पानी थियो भन्ने निर्माण व्यवसायीले बोर्डलाई जानकारी गराउने उहाँले बताउनुभयो । आगामी दिनमा त्रुटि सच्चाएर र थप सर्तकता अपनाएर मात्रै पानी पठाइने आयोजनाले जनाएको छ । उहाँले भन्नुभयो, “घटनास्थलमा पुगेर हेरेपछि मात्रै घटनाको कारण र क्षतिका विषयमा जानकारी हुन्छ ।”    
    
आयोजनाले गत २१ गतेदेखि २६ किलोमिटर लामो सुरुङमा पानी पठाएर परीक्षण शुरु गरेको छ । सुरुङ परीक्षण गर्न कम्तीमा १५ दिन लाग्ने खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सुरुङभित्र जम्मा भएको पानी विस्तारै बाहिर निकाल्न पनि उत्तिनै समय लाग्नेछ । अर्थात् १५ दिन पानी पठाएजस्तै खाली गर्न पनि उत्तिनै अवधि लाग्नेछ । त्यसपछि सात दिन सुरुङभित्रको समग्र अवस्थाका बारेमा अन्तरराष्ट्रिय मापदण्डअनुसार नै

प्राविधिक टोलीले निरीक्षण गर्ने योजना थियो । सबै अवस्थाको जाँच पड्ताल गरिसकेपछि सुरुङ ठीक रहेको निष्कर्ष निकाल्ने र सुन्दरीजलमा पानी झार्ने तयारीमा मन्त्रालय सोही दिन पत्रकार सम्मेलनमार्फत बताएको थियो ।
आगामी भदौको दोस्रो साताभित्र काठमाडौँमा नियमितरुपमा पानी उपलब्ध गराउने गरी आवश्यक व्यवस्था मिलाइएको मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।    

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?