logo
२०८१ बैशाख १५ शनिवार

  म्याग्दीकाे बिमका पहिराे पीडितकाे पीडा  



एकै परिवारका छ जना गुमे , दागबत्ती दिने पनि बचेनन्

समाज |


एकै परिवारका छ जना गुमे , दागबत्ती दिने पनि बचेनन्


अमृतप्रसाद पौडेल
बेनी, असार २९ गते । परिवारका आफन्तहरूलाई दागबत्ती दिने र काजकिरिया गर्ने जो कसैको परिवारको पनि चाहना हुन्छ नै । परिवारका सदस्यहरूमै दागबत्ती दिनका लागि हानथाप हुने गर्छ तर म्याग्दीको बिममा गएको पहिरोमा पर्ने वीरबहादुर नेपालीको परिवारका छ जनालाई दागबत्ती दिने घरका कोही पनि बचेनन् । एक जना गम्भीर घाइते भएर बाँच्नुभयो भने दुई भाइका परिवारको छ जना सबैको मृत्यु भयो ।

बिहीबार रातिदेखि अविरल वर्षा भइरहेको थियो । पूर्णिमापछिको अँध्यारो रात । आकाशबाट पानी भाँडोबाटै घोप्टाए जसरी परेको थियो । बिजुली चम्कँदो रात । त्यहीमाथि बादलको गड्याङगुडुङ् । मस्त निद्रामा थिए सबै गाउँले । बिहान ३ बजेपछि जब भिरपाखा पहराहरू भत्किएर गाउँतर्फ बगे, अनि बगायो बिम तथा मराङका मानवबस्ती । अनि सँगै त्यही बस्तीमा मस्त निद्रामा रहेका ३१ जनालाई पनि बगायो, उनीहरूकै जिन्दगीसँगै । अहिलेसम्म २७ जनाको शव भेटियो, बिम र मराङमा भने अझै चार जना बेपत्ता छन् ।

मालिका गाउँपालिका–७, बिमका गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, वीरबहादुरका तीन महिनाका छोरा, विष्णु नेपाली र सन्दीप नेपालीले संसार छाडे ।  एक जना गम्भीर घाइते हुनुभयाे, पूर्णबहादुर नेपाली । पोखरामा उपचाररत रहनुहुन्छ, उहाँ । गम्भीर घाइते भएर उपचारका लागि पोखरा अस्पतालमा पूर्णबहादुर छट्पटाइरहनुभएको छ । आफ्नो र भाइ वीरबहादुरको सबै परिवारको मृत्यु भयो । उहाँले परिवारलाई जोगाउन खोज्दै गर्दा आफैँ गम्भीर घाइते हुनुभयो ।

असार २६ गते बिहान ३ बजे गम्भीर घाइते हुनुभएका उहाँ २७ गते शनिबार दिउँसोसम्म छट्पटाएरै भग्नावशेषमा रहनुभयो । उहाँलाई बेनीका नारायण जिसीको पहलमा प्रभु एयरको हेलिकोप्टरले उद्धार गरी पोखरा पुर्याइयो । आफू घाइते अवस्थाको पीडाले छट्पटिइरहनुभएका पूर्णले आफ्नो परिवारका छ जनाको लास हेर्न र दागबत्तीसम्म पनि दिन पाउनुभएन । उहाँको परिवारको सबै सदस्यलाई दागबत्ती नाताले काका पर्ने एक जनाले दिनुभयो ।

बिमकै ४० वर्षीया विष्णु र चार वर्षिय बहिनी इच्छा गुमाएका १० वर्षीय बालक आफ्नो ठूलोबुबाको घरमा किरिया बस्नुभएकाे छ । मालिका गाउँपालिका–७, बिमबाट १५ किलोमिटर टाढा मङ्गला गाउँपालिका–२, तराखेतमा किरिया बस्नुभएकाे छ । बहिनी र आमा गुमाएका बालकका बाबा सोमनाथ र उहाँ भने बिहान अलिक छिटो उठेर बाहिर निस्केकोले जोगिएका थिए । 

जिल्ला प्रहरी कार्यालय, म्याग्दीबाट खटिएको प्रहरी टोलीले घटनाकाे मुचुल्का बनाएर परिवारलाई हस्तान्तरण गर्याे ।  धौलागिरी गाउँपालिका–६ मराङको राम्चेमा मृत्यु भएका एकाघरका नाै जनाको एकै स्थानमा लहरै राखेर दाहसंस्कार गरिएको थियो । त्यस्तै मराङको बेँसीमा सात जनालाई एकै ठाउँमा लहरै र अर्का दुइ जनालाई अर्को ठाउँमा सँगै राखेर दाहसंस्कार गरिएको थियो । अर्को दिन भेटिएका एक जनालाई भने छुट्टै सदगद गरिएको थियो ।
बिमकी एलिसा केसी, मराङ (कल्लेनीका) जनिमा केसी, सबिन पुन र दुखुखोलामा बेपत्ता मालिका–६, दरबाङकी गीता रोका भने अझै नभेटिएको डिएसपी किरणाजङ्ग कुँवरले बताउनुभयो ।
धवलागिरी–६ को मराङ, कल्लेनी, राम्चे र रिखा तथा मालिका–७ को बिम, दुले र नुर्बाङमा पहिरो गएको हो । पहिरोमा परेर घाइते भएका छ जना बेनी अस्पतालमा उपचारपछि घर फर्किएका छन् । पहिरोबाट मराङमा २०, बिममा १० र ताकममा पाँचवटा घरमा भौतिक क्षति पुगेको छ ।

अहिले पहिरोबाट विस्थापित तथा अलपत्रको उद्धार गरेर सामुदायिक भवन तथा विद्यालय र आफन्तको घरमा व्यवस्थापन गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । म्याग्दीमा बाढी पहिरोबाट धवलागिरीका ५९० जना, मालिकाका १९६ जना, रघुगङ्गाका ८५ र बेनी नगरपालिकाका २५ जनासहित जिल्लाभर कुल ८९६ जनालाई सुरक्षित स्थानमा राखिएको उहाँले बताउनुभयो ।
पहिरोमा परेर ज्यान गुमाएकाहरूको हृदयविदारक तस्बिरले यतिबेला मराङ तथा बिमसहित सिङ्गो म्याग्दी जिल्ला स्तब्ध भएको छ । सुतिरहेको अवस्थामा बस्तीमाथिबाट खसेको पहिरोमा ज्यान गुमाएका परिवार परिवारको एउटै चिहानमा अन्त्येष्टि गरिएको थियो । मराङको रिखा, कुम्री र कल्लनीमा मृतकका शवको अन्त्येष्टि गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?