logo
२०८१ बैशाख १४ शुक्रवार



पर्साका ग्रामीण क्षेत्रसँग वीरगञ्जको सडक सम्पर्क टुट्यो

फिचर |
समाज |


पर्साका ग्रामीण क्षेत्रसँग वीरगञ्जको सडक सम्पर्क टुट्यो



दिपकप्रसाद गौतम
वीरगञ्ज, असार २८ गते । केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण सडक डुबानमा परेर, सडक भत्किएर या हिलाम्मे भएर सवारी साधन चल्न नसक्दा पर्सा जिल्लाका ग्रामीण क्षेत्रको जिल्ला सदरमुकाम वीरगञ्जसँगको सडक सम्पर्क टुटेको छ ।

पर्साको ग्रामीण क्षेत्रको सडक सम्पर्क भनेको वीरगञ्ज –पोखरिया– मिर्जापुर सडक, वीरगञ्ज – गण्डक नहर हुर्दै जानकीटोला – सेढ्वा – ठोरी र जीतपुर – बढनिहार – रङ्गपुर – शङ्करसरैया सडक हुन भने वीरगञ्ज गण्डक नहर हुँदै महुवन भएर विभिन्न स्थानीय निकाय पुग्ने सडकहरू सबै कहीँ न कहीँ भत्किएकाले पनि वीरगञ्जसँगको सडक सम्पर्क टुटेको हो ।

हुलाकी सडक, जनता सडक निमार्णकै चरणमा रहेकाले बनेका क्षेत्रमा हिँडडुल गर्न सकिए पनि सवारी साधन लिएर जिल्ला सदरमुकाम आउन भने सकिने अवस्था छैन । सम्पर्क नटुटेको भनेको वीरगञ्ज– पोखरियाको हो त्यो पनि तिलाबे खोलामा पानीको बहाव बढेपछि डाइभर्सनमाथिबाटै पानी बग्न थालेपछि एकै दिन पटकपटक अवरुद्ध हुने गरेको छ ।

पोखरिया–मिर्जापुर सडकखण्ड अन्तर्गत लङ्गडी, हरपुर, भलुवहिया, मुडली, वसन्तपुर क्षेत्रका सडकमा अहिले पैदल यात्रीबाहेक कुनै पनि सवारीसाधन चल्नसक्ने अवस्था छैन । यस सडकखण्डमा विगत एक महिनादेखि वर्षाको कारण सवारी साधनहरू गुड्न सकेका छैनन् । सडक निर्माण गर्ने ठेक्का लिएको ठेकेदार कम्पनी रोशन-रञ्जीत र सागर जेभीले माटो पुर्ने र केही ठाउँमा कल्भर्ट बनाउनेबाहेक केही गर्न नसक्दा नयाँ भरिएको माटो हिलाम्मे भई सडक अवरुद्ध भएको हो ।

पछिल्लो समय पर्साको मुडली, वसन्तपुर, लङ्गडी, भिस्वा, धोबिनीसँग वीरगञ्जको मात्र नभई पोखरियाको समेत सडक सम्पर्क विच्छेद भएको छ । सडक सम्पर्क विच्छेद भएको महिना दिनभन्दा बढी भइसकेको स्थानीय बताउँछन् ।

यसैगरी, पोखरिया–विरञ्चीबर्वा जाने वैकल्पिक सडक पनि पोखरिया नगरपालिका–५ क्षेत्रमा अहिले हिलोका कारण सवारी आवागमन बन्द छ । हिलोको कारण पैदलबाहेक सवारीसाधनहरू गुड्न सकेका छैनन् । त्यसैगरी, पोखरिया–थरुहट सडक सम्पर्क पनि विच्छेद भएको छ भने लमरिया–गण्डक नहरको बाटो पनि विच्छेद भएको छ । सेढ्वा – ठोरी सडकखण्ड पनि अवरुद्ध छ । त्यस्तैगरी जीतपुर – रङ्गपुर – शङ्करसरैया सडक पनि ठाउँठाउँमा अवरुद्ध छ ।

सडक सम्पर्क टुट्दै जानु वर्षा भइरहनुले जनतामा त्रास छाएको छ भने प्रदेश २ सरकारले बारा पर्सा लगायत अाठ वटै जिल्लामा बाढी, डुबानको जोखिम भनी रहँदा सर्वसाधारणहरूलाई थप चिन्ता थपिएको छ ।
पर्साको पर्सागढी नगरपालिको मनवाबजारबाट पशुपतिनगर जाने सडकमा पुल एकातिर खोला अर्कोतिर अवरुद्ध भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?