logo
२०७७ श्रावण १ बिहीवार

चट्याङ: बढी क्षति, तर कम तयारी ! कसरी जोगिने ?

फिचर |
पढ्नै पर्ने |


2020-06-28-17425


नारायण ढुङ्गाना

काठमाडौँ, असार १४ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालमा गएको बुधबार एकैदिनमा चट्याङले सात जनाको ज्यान लियो । सप्तरीमा चार, मोरङ, उदयपुर र कपिलवस्तुमा एक/एक गरी एकै दिन यति धेरै मानिसले चट्याङ लागेर ज्यान गुमाए ।

प्राप्त तथ्याङकमा नेपालमा गएको वैशाखदेखि असारको दोस्रो हप्तासम्म चट्याङबाट मात्र ४० जना नेपाली नागरिकको मृत्यु भइसकेको छ । उक्त अवधिमा १३२ घाइते भएका छन् र घाइतेमध्ये अधिकांश गम्भीर प्रकृतिका घाइते छन् । यसै अवधिमा बाढी र पहिरोबाट १७ जनाले ज्यान गुाएका थिए । यस सयममा भएको अविरल वर्षाका कारण आएको बाढी पहिरोले १६ जना घाइते भएका छन् ।

बाढी पहिरो, आगलागीजस्ता अरु प्राकृतिक विपत्तिको जस्तो चट्याङले मानिसको ज्यान लिएको समाचार खासै बाहिर आउँदैन । तर पनि मानवीय क्षतिका हिसाबले भने पहिलो नम्बरमै चट्याङ देखिन्छ । त्यस्तै बाढी, पहिरो, आगलागीजस्ता अन्य प्राकृतिक विपत्तिका क्षति रोक्नेजस्ता कार्यहरुजस्तो प्राथमिकतामा पनि चट्याङ पर्दैन । त्यसरी रोक्नसक्ने खासै भरपर्दाे विधि पनि नेपालमा त्यति सिफारिश गर्ने र सरकारले लागू गर्ने गरेको पनि पाइँदैन । यसरी मुलुकको प्राथमिकतामा नपर्दा चट्याङबाट पनि धेरै नागरिकले अकालमै ज्यान गुमाउनुपरेको छ ।

गतवर्ष पनि रुपन्देही, कपिलवस्तु, झापा र मोरङमा एकैदिन चट्याङका कारण १० जनाले ज्यान गुमाएका थिए । दुई दिनको अन्तरालमा झण्डै ५०० भेडाबाख्रा पनि चट्याङले मारेको थियो । विसं २०७६ मा चट्याङका कारण मात्र देशभरमा ८९ जनाको मृत्यु भएको तथ्याङ्क छ । त्यस्तै गतवर्ष चट्याङबाट ३६० जना घाइते भएका थिए । पछिल्ला वर्षहरुमा चट्याङको प्रकोप बढेको छ र यसबाट नागरिकको ज्यान जाने र घाइते हुनेको सङ्ख्या पनि बढ्दो देखिएको छ ।

पछिल्लो १० वर्षको अभिलेखमा मानवीय क्षतिका हिसाबले बाढी पहिरो भन्दा बढी चट्याङ्ले असर गरिरहेको तथ्याङ्क छ । घाइतेको अवस्था विश्लेषण गर्दा चट्याङबाट तेब्बर बढी मानिस प्रभावित भएका छन् ।

प्राकृतिक प्रकोप भए पनि विकसित मुलुकको अभ्यास हेर्दा चट्याङको प्रकोपबाट हुने मानवीय र भौतिक क्षति केही हदसम्म रोक्ने गरिएको पनि देखिन्छ । तर मुलुकमा त्यसरी चट्याङको अवस्थाको अनुमान र क्षति रोक्ने कार्य प्राथमिकतामा नपर्दा जोखिम बढिरहेको चट्याङ्विद् डा श्रीराम शर्मा बताउनुहुन्छ । विगत १३ वर्षदेखि यस क्षेत्रमा काम गर्दै आउनुभएका डा शर्मा नेपालले चट्याङबाट हुने विपद रोक्न प्रभावकारी उपाय अवलम्बन गर्न नसकेको बताउनुहुन्छ ।

उहाँका अनुसार विसं २०६६ देखि २०७६ सम्मको अभिलेखमा चट्याङबाट ९२९ जनाको मृत्यु भएको छ । सोही अवधिमा पहिरोका कारण ९०१ जनाले ज्यान गुमाए । बाढीबाट ७५५ जनाको मृत्यु भएको छ । आगलागीबाट ६१३ को मृत्यु भएको थियो ।

सोही समयावधिमा चट्याङबाट दुई हजार ४५४ जना घाइते हुँदा बाढी र पहिरोका कारण ९०० को हाराहारीमा घाइते भएका छन् । विवरणमा मानवीय क्षति हेर्दा बाढी पहिरोभन्दा पनि चट्याङको बढी देखिन्छ । औषतमा वार्षिक १०८ ले चट्याङ्बाट ज्यान गुमाउँछन् । तर चट्याङबाट बच्ने उपाय अवलम्बन गर्न मानिसमा आवश्यक चेतना पुग्न नसकेको र सरोकारवाला निकायको समेत ध्यान पुग्न सकेको छैन ।

विश्वकै शक्तिशाली मानिएको मुलुक अमेरिकाको अभिलेखमा ८०÷९० वर्ष अघि चट्याङले वार्षिक ३८० जनाको ज्यन जान्थ्यो । अहिले ३० भन्दा बढी मृत्यु हुँदैन । “त्यो उदाहरण हेरेर पनि हामी भन्न सक्छौँ, गर्न सके क्षति रोक्न सकिने रहेछ”, डा शर्माले प्रश्न गर्नुभयो, अन्य युरोपियन मुलकुमा पनि फलानो क्षेत्रमा चट्याङको सम्भावना छ भनेर अनुमान गर्ने अवस्था छ, अनुमान ९० प्रतिशत मिल्छ, हाम्रोमा प्रयोग गर्न किन नसक्ने ?

हुनत अहिले केही प्रयास शुरु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले छुट्टै विपद् व्यवस्थापनको काम सम्हालेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल सबैभन्दा ठूलो कुरा चेतनामुलक कार्यक्रम भएकाले चट्याङ्बाट सावधानी अपनाउने विषयलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुहुन्छ ।

क्षतिका हिसाबले चट्याङ पहिलो नम्बरमा रहेकाले यसपटकदेखि भवन संहितामा समेत चट्याङ्लाई सम्बोधन गरिएको र बढी चट्याङ पर्ने क्षेत्रलाई केन्द्रित गरेर कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको पोखरेलले बताउनुभयो ।

जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका विभिन्न नौ स्थानमा चट्याङ मापक केन्द्र स्थापना गरेको छ । चट्याङ्विद् डा शर्मा त्यो सुषुप्त अवस्थामा रहेको छ भन्नुहुन्छ । त्यसलाई सदुपयोग गर्न सकिए पनि धेरै जानकारीहरु बाहिर आउने उहाँ बताउनुहुन्छ ।

विभागले जल तथा बाढीको तीन दिनसम्मको मापन गरेर विवरण दैनिक सार्वजनिक गर्दै आएको छ तर चट्याङलाई प्राथमिकता दिएको पाइँदैन । मौसमविद् गङ्गा नगरकोटी यहाँ यसरी चट्याङ पर्दैछ भनेर अघिल्लो दिन नै अनुमान गर्ने अवस्था नरहेको तर त्यस केन्द्रले एक घण्टा पछि कुन क्षेत्रमा पर्दैछ र कहाँकहाँ चट्याङ पर्यो भन्ने मापन गर्ने बताउनुभयो । उहाँका अनुसार ‘प्रि–मनसुन’ पछि अहिलेसम्म मुलुकको प्रदेश नं १, २ र ५ को तराई क्षेत्रमा चट्याङ परेको छ ।

“चट्याङले मानवीय क्षति मात्रै गरेको छैन, भौतिक सम्पत्तिमा समेत क्षति पुर्याएको छ तर पनि त्यसको लेखाजोखा भने छैन । बाढीले देखिनेगरी भौतिक सम्पत्तिमा क्षति गर्छ तर चट्याङ् गुपचुपमा क्षति पुर्याएर जान्छ, अनि कसैलाई चासो हुन्न”, चट्याङ्विद् डा शर्माले भन्नुभयो ।

खेतमा काम गर्दागर्दै या सुतिरहेको बेला चट्याङ लागेर मानिसले ज्यान गुमाएका छन् । जङ्गल जाँदा होस् या गोठालो अथवा घर आँगनमै बस्दा होस् चट्याङले मानवीय क्षति पु¥याइरहेको छ । चट्याङकै कारण आगलागी हुँदा नजानिँदो रुपमा ठूलो जनधनको क्षति भइरहेको छ । तथ्याङ्कले बाढी र पहिरोको हाराहारीमै आगलागी र चट्याङले क्षति पु¥याइरहेको देखाएको छ । तर क्षति न्यूनीकरणका उपाय भने शून्य नै छ ।

नेपालको भूगोलअनुसार हिमाली र पहाडीक्षेत्रमा पहिरोको जोखिम तथा सहरी क्षेत्र डुबानको जोखिममा छ । तराई क्षेत्र डुबान, कटान र बाढीको जोखिममा पर्छ । विपद्का दृष्टिले बाढी र पहिरो जत्तिकै जोखिम भए पनि आगलागी र चट्याङका विषयमा ध्यान कम पुग्छ । चट्याङ आगलागीको समेत प्रमुख कारण हो । कतै चट्याङ परेको हुन्छ र त्यसको भोल्टेज बढेर तार कमजोर भएको घरमा विद्युत सर्ट भई आगलागी हुन्छ भन्ने कुराको जानकारी धेरैलाई छैन ।

हालैमात्र नेपालसँग सीमा जोडिएको मुलुक भारतको विहार उत्तर प्रदेशमा एकैरातमा परेको चट्याङ्का कारण १०० जनाभन्दा बढीको ज्यान गएको छ । विहारमा मात्र ८३ जनाले ज्यान गुमाएको समाचार भारतीय सञ्चारमाध्यमहरुले दिएका थिए । नेपालमा पनि झापा, मकवानपुरमा बढी चट्याङ् पर्ने गर्दछ । नेपालमा चट्याङ्का कारण गतवर्ष ९२ जनाको मृत्यु भएको र ३०० जना घाइते भएको अभिलेख छ ।

के हो चट्याङ, कसरी जोगिने ?

चट्याङ विद्युतीय करेन्ट हो । बादल आपसमा ठोक्किएर त्यसका अणुहरुबीच घर्षण हुँदा विद्युत् उत्पन्न हुने अवस्था नै चट्याङ हो । आकासबाट जमीनमा खस्ने एक प्रकारको विद्युतीय शक्ति चट्याङ् हो । वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्किँदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर बनी अचानक हुने विद्युतीय विस्फोटन चै चट्याङ् हो ।

चट्याङ पर्दा कुनै पदार्थ पृथ्वीमा खस्ने नभई ठुलो विद्युतीय तापशक्ति पृथ्वीमा आउने हुँदा जुनसुकै चिजलाई पनि नष्ट गर्न सक्ने क्षमता हुन्छ । रुख, टावर, अग्ला ठाउँहरुमा चट्याङ बढी पर्छ र यसलाई सजिलो बाटो दिनुपर्छ । सामान्यरुपमा कम्तीमा आठ एमएम रड कुनै भवनको छतको माथि ठड्याई त्यसलाई जमिनसम्म जोडेर राख्ने हो भने पनि घरलाई जोगाउन सकिने डा शर्मा बताउनुहुन्छ ।

प्राकृतिक प्रकोप भएकाले चट्याङ रोक्न सकिँदैन तर त्यसबाट बच्ने उपाए भने खोज्न सकिन्छ । घर बाहिर भएमा वर्षातको बेलामा होचो स्थानमा बस्ने, पानी, खोला, रुख, पोखरीमा नबस्ने, विद्युत् लाइन, कम्प्युटर बन्द गर्ने गर्नुपर्छ । चट्याङ पर्दा खुला ठाउँमा टाउको र खुट्टा जोडेर बस्नु उत्तम हुन्छ । पानीमा काम गर्न र पौडी खेल्न पनि हुँदैन ।

सकेसम्म घरभित्रै झ्यालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्नुपर्छ । पानी परेको वा गर्जिएको बेला घर बाहिर ननिस्किनु उत्तम हुन्छ । ठूला रुख, विजुलीका तार, पोल तथा ट्रान्समिटरको तल बस्नु हुदैन । विजुलीको राम्रोसँग अर्थिङ गर्नुपर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?