logo
२०८१ बैशाख २६ बुधवार



अस्ट्रेलियामा कोरोनाभाइरस विरूध्दका दुई खोपकाे परीक्षण शुरु

फिचर |
अन्तर्राष्ट्रिय |


अस्ट्रेलियामा कोरोनाभाइरस विरूध्दका दुई खोपकाे परीक्षण शुरु


काठमाडौं, चैत्त २० गते । अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो)ले कोरोनाभाइरस प्रतिरोधी खोपको परीक्षण शुरु गरेको छ । अक्सफोर्ड विश्वविद्यालयल र अमेरिकी कम्पनी इनोभियोले तयार गरेको खोप जनावरमा परीक्षणको लागि विश्व स्वास्थ्य संगठनले अनुमति दिइसकेको छ । अष्ट्रेलियाको राष्ट्रिय विज्ञान संस्थानले उक्त खोपले काम गरे नगरको र मानवमा सुरक्षित हुने नहुने परीक्षण गर्नेछ । पहिलो पटक अमेरिकामा गत् महिना एक खोपको परीक्षण गरिएको थियो तर उक्त खोपको परीक्षण जनावरमा गरिएको थिएन ।
बीबीसीका अनुसार विश्वका अन्य कतिपय राष्ट्रले पनि युद्ध स्तरमा खोप विकास गर्न जुटेका छन् । उक्त खोपको परीक्षण अमेरिका र युरोपमा मुसा र खरायोलाई शिकार गरी खाने स्तनधारी जिव फेरेट्समा गरिदैछ । मानवमा कोरोना भाइरसको संक्रमण फैले झैं फेरेट्समा पनि फैलिने प्रमाणित भइसकेको छ ।
सिसिरोले मेलबोर्नबाट ७५ किलोमिटर दक्षिणको गीलोङस्थित अस्ट्रेलियाली पशु स्वास्थ्य प्रयोगशाला (एएएचएल) मा पहिलो चरणको परीक्षण आरम्भ गरिएको बिहीबार घोषणा गरेको हो । यो परीक्षण करिब तीन महिनामा सम्पन्न हुनेछ । यो भ्याक्सिनको प्रभावकारिता र सुरक्षात्मक स्थितिका बारेमा एक प्रकारको मुसामा परीक्षण गर्न लागिएको सिसिरोले जनाएको छ । सिसरोका अधिकारी डा रोब ग्रेनफेलले बिहिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै आफूहरु पुगेको अवस्थामा आइपुग्न कम्तिमा दुई वर्ष छ महिना लाग्दै आएकोमा दुई महिनाभित्र यस अवस्थामा आएको खुलाउनुभयो ।
सिसिरोका प्रमुख कार्यकारी ल्यारी मार्शलले कोरोनाभाइरस विरुद्धको अभियानमा यो एउटा कोशेढुंगा हुने विश्वास लिइएको बताउँदै यस कार्यमा अस्ट्रेलियाली र अन्य मुलुकको अनुभवलाई एकीकृत गरिएको जानकारी दिनुभयो ।
उहाँले मानव स्वास्थ्यका लागि ठूलो चुनौतीका रुपमा देखिएको कोरोनाभाइरस विरुद्धको यस अभियानमा आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्नु परेको पनि बताउनुभयो । संक्रामक रोगको महामारी विरुद्ध गठन भएको विश्वव्यापी सञ्जाल (सेपी) को सहयोगमा सिसिरोले गत जनवरीदेखि नै कोरोनाभाइरस प्रतिरोधी भ्याक्सिन निर्माणको कार्यलाई अघि बढाएको थियो । यो भ्याक्सिन प्रभावकारी र सुरक्षित हुने देखिए पनि आमरुपमा उपलब्ध हुन १२ देखि १८ महिना लाग्ने सिसिरोले जनाएको छ । प्रयोगशालामा निर्माण गरिएको सार्स–कोभ–२ अर्थात् कोरोनाभाइरसलाई गत जनवरीमा एएएचएल प्रयोगशालामा पठाइएको थियो । “हामीले कोरोनाभाइरसका सम्बन्धमा जनवरीदेखि नै अनुसन्धान गरिरहेका छौं र जतिसक्दो चाँडो मानिसमा परीक्षण गर्ने योजना पनि बनाइरहेका छौं,” एएएचएलका निर्देशक ट्रेभोर ड्रिउले बताउनुभयो । विश्वभरि कोरोना संक्रमणले करिब ४७ हजार व्यक्तिको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या दश लाख पुगेको छ । र अझै द्रुत गतिमा संक्रमित थपिदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?