logo
२०८१ बैशाख २२ शनिवार



घलेगाउँमा पर्यटक डाक्न म्युजिक भिडियो

मनोरञ्जन |
पर्यटन |


घलेगाउँमा पर्यटक डाक्न म्युजिक भिडियो
स्मार्ट भिलेजउन्मुख घलेगाउँको चिनारी म्युजिक भिडियोको सुटिङ गरिँदै । तस्बिरः बेलिना थापा ।


बेलिना थापा
लमजुङ, कात्तिक २ गते ।
स्मार्ट भिलेजउन्मुख लमजुङको घलेगाउँमा पर्यटक डाक्न नयाँ म्युजिक भिडियो (म्युजिक डकुमेन्ट्री) निर्माण गरिएको छ ।
घलेगाउँका ३७ घरमा होमस्टे संचालनमा छ । करीब २ सय जना पर्यटक अट्ने होमस्टेमा अहिले २ सय ५० बढी पर्यटक दैनिक आउने गरेका छन् । अझै थप पर्यटक डाक्न घलेगाउँबासीले म्युजिक डकुमेन्ट्रीको छायांकन गरेका छन् । क्व्होलासोंथर गाउँपालिका अध्यक्ष समेत रहनुभएका पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेम घलेले नेपाल भ्रमण बर्ष २०२० लक्षित म्युजिक डकुमेन्ट्री बनाएको बताउनुभयो ।
उहाँका अनुसार घलेगाउँमा अहिले पर्यटक अटेको छैन । आगामी बर्ष होमस्टेको संख्या ५० पुर्याइने र २०२० मा ५० हजार पर्यटक भित्र्याइने बताउनुभयो । उहाँले भन्नुभयो–‘बर्षायाममा पर्यटक केही कम हुन्छ । हामी सधैं पर्यटक डाक्न चहान्छौं । पर्यटकलाई थप आकर्षित बनाउन हामीले म्युजिक डकुमेन्ट्री बनाएका छौं ।’ ‘संसारमै बयानै चलेको लमजुङको घलेगाउँ’ बोलको म्युजिक डकुमेन्ट्री २१ मिनेटको छ ।
म्युजिक डकुमेन्ट्रीका लागि तयार पारिएका गीतका सर्जक गणेश गुरुङका अनुसार एकजना घलेगाउँका युवक काठमाडौं पुग्छन् । फर्किने क्रममा एकजना युवतीसँग बसमा सँगैको सिटमा पर्छ । त्यहींबाट धारावाहिक रुपमा गीत सुरु हुन्छ । काठमाडौं बसपार्कदेखि बेंसीसहर हुँदै घलेगाउँको दृश्य म्युजिक डकुमेन्ट्रीमा रहेको उहाँले बताउनुभयो ।
गुरुङकै शब्दसंगीतमा यसअघि ‘मेरो प्यारो घलेगाउँ’ बोलको म्युजिक भिडियो निर्माण गरिएको थियो । म्युजिक डकुमेन्ट्रीमा घलेगाउँको वर्तमान स्वरुप रातो रंगको छाना, भ्यु टावर, संग्रहालय, गुरुङ जातिको अन्तिम राजाको शालिक तथा पार्कलगायत समेटिएका छन् ।
घलेगाउँको विस्तृत बर्णन गरिएको गीतलाई ५ दिन लगाएर छायांकन गरिएको छ । साँढे ५ लाख रुपियाँ खर्चमा म्युजिक डकुमेन्ट्री निर्माण गरिएको पर्यटन व्यवस्थापन समितिका सचिव उमल विकले बताउनुभयो । उक्त म्युजिक डकुमेन्ट्रीको सम्पादन १० दिनभित्रमा सकेर युट्युवमार्फत सार्वजनिक गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार गीत लोकदोहोरी लयमा छ । गीतमा गणेश गुरुङलाई भिमु गुरुङले आवाजमा साथ दिनुभएको छ । गणेश आफैंले संगीत गर्नुभएको गीतमा तेजेन्द्र गुरुङको म्युजिक एरेन्ज छ ।
म्युजिक डकुमेन्ट्रीमा गुरुङ चलचित्रका नायक खेमराज घले, नायिका निस्ता गुरुङ, गणेश गुरुङ र भारती घलेको अभिनय छ । मौसम हिमालीले निर्देशन गर्नुभएको म्युजिक डकुमेन्ट्रीलाई पुष्कर थापाले खिच्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?