logo
२०८१ बैशाख १४ शुक्रवार



देउडा संरक्षणमा बुढापाका

मनोरञ्जन |


देउडा संरक्षणमा बुढापाका



मुना हमाल
सुर्खेत, कात्तिक २ गते ।
हे बासमति भात भनि खायाँ, कोहिली मिठो गित आउँछ
ढुङ्गाको गाँस भयो सम्झना गाउँघरकै आउँछ ।
ह्े हो होइन सोचेकै थिएन कोहिली मिठो गित गाउँछ ।
चहाना माग भाछ हजुर सम्झना गाउँघरमै आउँछ ।

वीरेन्द्रनगर नगरपालिककी वडा नं १२ की ९० वर्षीया भदुरी भण्डारी देउडाको यी भाका पैतला मिलाएर आफ्ना साथीसंगीसँंगै गाएर आफ्नो गाउँघरको सम्झना गर्नुहुन्छ । झण्डै दुई दशक अघि जुम्लाबाट बसाई सरेर सुर्खेत आएपछि गाउँघरको रौनक उहाँले पाउनुभएन । तर पछिल्लो समय बुढापाका नै देउडा संरक्षणमा जुटेपछि उहाँलाई गाउँघरको सम्झना दिलाइदिएको छ ।

कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा गाइने देउडा गीतको संरक्षणका लागि वीरेन्द्रनगरको खुल्लामञ्चमा प्रत्येक महिना दुई दिन गाउने गर्दछन । ‘उमेर ढकल्दै गएपछि पहिलेको जसरी देउडा गाउन सकिदैंन । रातभरी मेलापर्वमा रातभरी देउडा गाएको सम्झना आउँछ’ उहाँले भन्नुभयो, ‘अहिलेका युवाले देउडा के हो भनेर थाहा पाउन छोडिसके । हामी बुढापाका आउँछौँ खेल लगाउँछौँ ।’

वीरेन्द्रनगरमा प्रत्येक महिनाको १ गते र १५ गते देउडा बुढापाका जमघट हुने गर्दछन् । आधुनिकताले आफ्नो पूर्खादेखिको देउडा संस्कृति युवा पुस्ताले भुल्दै गएपछि सात वर्षदेखि खुल्लामञ्चमा जम्मा भएर गाउन थालेका छन् । कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लाबाट बसाई सरेर आउने संख्या बढ्दो छ । कर्णाली प्रदेशका मुगु, हुम्ला, जाजरकोट, दैलेख, कालिकोट, जुम्ला र सुदुरपश्चिम प्रदेशका अछाम, बाजुरालगायतका मानिसहरु सुर्खेतमा स्थायी बसोबास गरेका छन् ।
यसले उनीहरुबीच लामो समयपछि एक अर्काबीच भलाकुसारी गर्ने मौका दिएको छ ।

त्यसका साथै आफ्ना गाउँघरका हालखबर सोध्ने, एक अर्कासँग नयाँ परिचय गर्ने माध्यम पनि खुलामञ्चको देउडा खेल भएको छ । आफ्ना छोराछोरीसँगै वीरेन्द्रनगर सुर्खेत आएका वृद्धाहरु खुल्लामञ्च समेत देउडा खेलमा सरिक हुने गरेका छन । वीरेन्द्रनगरका नरबहादुर रोकायले आफ्नो संस्कृति पनि जोखिने र भलाकुसारी हुने भएकाले आफुहरु एक भएर देउडा संरक्षणमा लागेको बताउनुभयो ।

देउडा गीतमा उनीहरुले गाउँघरको सम्झना, माया, प्रेम र पुराना चालचलनका भाका हाल्ने गर्छन् । गाउँघरको मौलिक देउडा गीतका भाका सुन्न र हेर्न अहिले खुल्लामञ्चमा भीड समेत लाग्ने गर्छ । नयाँ पुस्ताले देउडा गितका बारेमा नजान्दा देउडा गीत संरक्षणमा चूनौति भएको बुढापाका बताउँछन् । यस्तो समयमा वृद्धवृद्धाहरु एक भएर संस्था दर्ता गरी संरक्षणमा लागेका हुन् । बेलाबखतमा हुने मेला महोत्सवमा पनि स्थानीय संस्कृतिलाई भन्दा पनि आधुनिक खालका गीतहरुलाई प्राथमिकता दिने गरेको उनीहरुको भनाई छ ।
भेरी कर्णाली लोक संस्कृतिक जागरण मञ्च गठन गरेर देउडा संरक्षणमा जुटेका छन् । मञ्चका अध्यक्ष बलिराम देवकोटाले पुरानो रीतिरिवाजलाई संरक्षणका लागि यसरी खुल्ला मञ्चमा कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँका अनुसार मञ्चमा १५० जना वृद्धवृद्धा आवद्ध छन् । देउडा संरक्षणमा राज्यले ध्यान नदिएको उहाँको गुनासो छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?