logo
२०८१ बैशाख १४ शुक्रवार



चङ्गाको रमाइलो

मनोरञ्जन |


चङ्गाको रमाइलो



नवराज पाण्डे

दशैँ नजिकै आयो । सबैको मनमा रमाइलो उत्साह छ । साना भाइबहिनीहरू त दशैँको लामो बिदामा के गर्ने भनेर साथीहरूसँग योजना बनाएका पनि छौ होला । तिमीहरूको योजनामा पक्कै पनि आकाशमा चङ्गा उडाउने अनि साथीहरूको चङ्गा लुकीलुकी चेट बनाउने पनि होला  । एक वर्षमा आउने यो पर्व हामी नेपालीहरूको सबैभन्दा ठूलो पर्व हो । रमाइलो त गर्नुपर्छ  । दशैँमा चङ्गा उडाउँदाको मज्जा नै बेग्लै हुन्छ । यो समयमा मौसम पनि साह्रै रमाइलो खालको हुने हुनाले माहोल नै फरक हुने गर्छ । दशैँमा हामी सबैको योजना भनेकै कोही आफ्नो गाउँ जाने, कोही घुम्न जाने, टीका लगाउने, नयाँ लुगा लगाउने, साथीहरूसँग मिलेर चङ्गा उडाउने यस्तै यस्तै हो । अन्य देशमा मनोरञ्जनको रूपमा चङ्गा उडाउने गरिन्छ भने हाम्रो देशमा दशैँमा रमाइलोको लागि उडाइन्छ । चङ्गासम्बन्धी त अझै एउटा रमाइलो किम्बदन्ती पनि छ  । दशैँमा वर्षाका देवता इन्द्रलाई पानी पार्न रोक भनेर सङ्केत गर्ने मान्यता छ । पछिल्लो समय सहर बजारका बालबालिकाका लागि भने दशैँमा चङ्गा उडाउने रमाइलो खेल जस्तै बनेको छ । रमाइलो मानेर मनोरञ्जनका लागि हामीले चङ्गा उडाइरहँदा धेरै कुरामा सावधानी पनि अपनाउनु पर्छ है । नत्र दुर्घटना पनि हुनसक्छ । अघिल्लो वर्षमा यस्ता धेरै अप्रिय घटना पनि भएका छन् । अग्लो स्थानमा बसेर चङ्गा उडाउँदा मज्जा आउँछ भनेर घरको छत वा अग्लो स्थानमा एक्लै बसेर उडाउनु हँुदैन । अभिभावक या साथीसँग मिलेर आफूले चङ्गा उडाइरहेको ठाउँ कति सुरक्षित छ भनेर हेरेर मात्रै उडाउनुपर्छ । कतिपय ठाउँमा मोटरसाइकल चलाउनेको घाँटीमा चङ्गाको धागो बेरिएर दुर्घटना पनि भएको छ । उडाउने मान्छे आफैँ छतबाट लडेको पनि छ । चङ्गा उडाउँदा हावा कतातिरबाट बगिरहेको छ त्यतै चङ्गालाई उडाउनु पर्छ । त्यसै जोसिएर खाली छतमा दौडिनु हुदैन । रमाइलोसँगै सुरक्षालाई ध्यान दिएर रमाइलो ग¥यौँ भने परिवारमा खुसियाली छाउँछ  ।
पहिले पहिले अहिलेको जस्तो चिटिक्क परेका चङ्गा हुँदैनथे । घरैमा बनाएर भातको माडले टाँसेर उडाउँदाको मज्जा पनि बेग्लै हन्थ्यो तर अहिले समय फरक भएको छ । सहरमा मात्र होइन गाउँमा पनि एक दुई तले घरहरू छन् । छतमा बसेर रमाइलो हेर्दै उडाउन पाइन्छ । यसरी चाडपर्वमा रमाइलो गर्न जान्नेको मज्जा नै भिन्दै हुन्छ ।

विभिन्न देशमा चङ्गा
केही व्यक्ति चङ्गालाई पृथ्वी र स्वर्गबीचको सम्पर्क माध्यमका रूपमा लिन्छन् । चीन र कोरियामा चङ्गा उडाउनुलाई खराब आत्मालाई हटाउने प्रयासका रूपमा लिइन्छ । कोरियामा नयाँ वर्षको पूर्णिमाको राति दुर्भाग्य भगाउन तथा शौभाग्य ल्याउनका लागि ठूलो चङ्गामा अशुभ जाओस् भनेर लेखेर आकाशमा उडाउँछन् । आकाशमा उडिरहेको चङ्गाको धागोलाई काटिदिन्छन् । उनीहरूको विश्वास छ, त्यो चङ्गासँगै उनीहरूको दुर्भाग्य पनि आकाशमा जान्छ र शौभाग्य नजिक आउँछ । जापानमा प्रत्येक नयाँ वर्षको शुभदिनमा चङ्गा उडाउने चलन छ । त्यहाँका पिताले छोराका नाममा चङ्गा उडाएर छोराको लामो आयुका लागि प्रार्थना गर्दछन् ।
श्रीलङ्का र थाइल्यान्डमा चङ्गाको माध्यमबाट स्वर्ग र पृथ्वीबीच सम्पर्क हुन्छ र मृत्युपछि स्वर्ग पुगिन्छ भन्ने विश्वासमा चङ्गा उडाइन्छ भन्ने मान्यता छ ।

मुना असोज २०७६ 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?