logo
२०७८ कार्तिक १० बुधवार



भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या छ महिनापछिकै सबैभन्दा थोरै

अन्तर्राष्ट्रिय |


भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या छ महिनापछिकै सबैभन्दा थोरै


नयाँदिल्ली, असोज ६ गते । भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या छ महिना पछिकै सबैभन्दा कम भएको छ । सरकारी अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या तीन लाख एक हजार ९८९ पुगेको छ । यो सङ्ख्या १८६ दिनपछिकै सबैभन्दा काम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो समय लगातार घट्दै गएको छ । दैनिक नयाँ सङ्क्रमितभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी हुँदै गएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको हो । पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ९६४ जना नयाँ सङ्क्रमितहरु थपिएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

सोही अवधिमा ३४ हजार १६७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको देखिएको अधिकारीहरुले जनाएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल तीन करोड २७ लाख ८३ हजार ७४१ जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा कोरोनाका कारण अहिलेसम्म चार लाख ४५ हजार ७६८ जनाको मृत्यु भएको छ । तीमध्ये ३८३ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?