logo
२०७७ फाल्गुन १८ मंगलवार

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम ८० प्रतिशत सम्पन्न

राष्ट्रिय |


2021-01-27-30913


ललितपुर, माघ १४ गते । गोदावरीमा निर्माणाधीन तीन हजार सिट क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम ८० प्रतिशत सम्पन्न भएको छ । गोदावरी नगरपालिका–३ मा शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभाग र केसी समानान्तर जेभीबीच गत वर्ष २०७६ कात्तिक २० मा सम्झौता भई कात्तिक २१ गतेबाट भवन निर्माणका लागि खाडल खन्न शुरु गरिएको थियो ।

केन्द्र भवनको भूइँतलामा टाइल हाल्ने काम ७५ प्रतिशत सकिएर शौचालय, स्नानगृह र धारा हाल्ने काम ९० प्रतिशत सम्पन्न गरिनुका साथै केन्द्रको मुख्य भवनबाहेक अन्यमा एसी जडानको कामसमेत सकिसकेको विभागका सव–इञ्जिनीयर रामचन्द्र मेहेता कुशहवाले बताउनुभयो । उहाँले भन्नुभयो, “हालसम्म केन्द्रभित्रको काम ८० प्रतिशत सम्पन्न भइसक्यो । फल्स सिलिङको काम सातदेखि १० दिनमा सकिन्छ भने भवनको उत्तर र दक्षिणपट्टि एक–एक लिफ्ट हाल्ने काम पनि १५ देखि २० दिनमा सकिनेछ ।”
सम्मेलन केन्द्रमा ए, बी र सी नामक तीन ब्लक रहँदा ‘ए’ र ‘सी’ भने सम्मेलन केन्द्र प्रवेश गर्ने थलो रहनुका साथै ‘बी’ मा तीन हजार क्षमताको कक्ष रहनेछ । ‘सी’ ब्लक भवनमाथि छत ढलान र भुइँतला टायल हाल्न बाँकी रहेको कुशहवाले जानकारी गराउनुभयो । केन्द्रको ‘बी’ ब्लकमा हालिने तीन हजार मेच आइसक्यो । तीमध्ये दुई हजार ५०० फिट भइसके भने जडान गर्न सबै नै बाँकी रहेको जेभीका स्थलगत इञ्जिनियर भरतकुमार यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, “केन्द्रको छतमा ‘रुफ प्यानल’ जडान, वरपर सडक निर्माण र तीनवटा प्रवेशद्वार बनाउन बाँकी छ । भवन दुई तलामाथि र पूर्वतिर भुइँमा टायल हाल्ने काम सकिएर पश्चिमतर्फ मात्र टायल हाल्न बाँकी छ ।” केन्द्र भवनको छतमा ०.५ एमएम मोटाइको प्यानल प्रयोग गर्न सबै बाँकी रहेको र बीचमा ट्रष्टमाथि प्यानल र मुनि सिलिङ रहने यादवले जानकारी गराउनुभयो ।

केन्द्र भवनमा मुलुकमै पहिलोपटक ५८ मिटर लामो ट्रष्ट हालिएको जेभीका परियोजना प्रबन्धक महेश भट्टले बताउनुभयो । उहाँले कोरोना महामारी पटकपटक सातदोबाटो–गोदावरी खण्डको सडक बन्दले केन्द्रमा आवश्यक सामग्री ढुवानी गर्न समस्या भएको उहाँले उल्लेख गर्नुभयो ।

पहिलोपटक २०७६ को अन्त्य अर्थात् चैत २४ गतेभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको थियो । दुई महिना त्यस क्षेत्रभित्रका रुख काट्न, बेलाबेलामा पानी परेर मौसमले साथ नदिँदा बिहान अनि बेलुका दुवै समय काम गर्न पाएनाैं र पछि कोभिड महामारीले गत चैतदेखि असार मसान्तसम्म लगभग चार महिना काम ठप्प भएको भट्टले जानकारी गराउनुभयो । उहाँले थप्नुभयो, “आउँदो चैत २८ गतेसम्म केन्द्र निर्माणको काम सम्पन्न गरिसक्नेछाैं । नयाँ वर्षमा सम्मेलन केन्द्र तयार हुन्छ ।”

केन्द्र निर्माणपछि गोदावरीमै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सकिने भएको छ । सम्मेलन केन्द्रले ६० हजार वर्ग फिट अर्थात् २५ रोपनी क्षेत्रफल ओगटेको बताइएको छ । जेभीले सरकारसँग रु ६५ करोड ८१ लाख ६५ हजार ४५९ मा भ्याटसहित निर्माण सम्पन्न गर्ने ठेक्का लिएको जेभीका साइट इञ्जिीनियर पवन मैनालीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

national-life-insurance