logo
२०८० चैत्र ६ मंगलवार



श्रमशक्ति पठाउन प्रोटोकलमा हस्ताक्षर

इजरायलमा तत्काल पाँच सय केयरगिभर पठाइने

अर्थ |


श्रमशक्ति पठाउन प्रोटोकलमा हस्ताक्षर


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ९ गते । इजरायलमा नेपालबाट दक्ष श्रमशक्ति पठाउने विषयमा नेपाल र इजरायल सरकारबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा नेपालका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाल र इजरायल सरकारका तर्फबाट नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले हस्ताक्षर गर्नुभयो ।
नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली श्रमिकको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि सो ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर भएको हो । हस्ताक्षर भएसँगै केयरगिभरका लागि नेपाली दक्ष जनशक्ति इजरायलमा लैजान बाटो खुलेको छ ।
तत्काल पाँच सय नेपालीले इजरायलमा केयरगिभरको रोजगारी पाउने गरी प्रोटोकलमा हस्ताक्षर भएको हो । सो रोजगारीका लागि दुई देशका सरकारी निकायबीचको संलग्नतामा श्रमिक पठाइनेछ । लामो प्रयत्नपछि नेपाल र इजरायलबीच सरकारी तहबाट नै श्रमिक पठाउने गरी गर्नेगरी सम्झौता भएको थियो । सोही सम्झौतालाई कार्यान्वयन गर्नेगरी प्रोटोकलमा हस्ताक्षर भएको हो । यसमा निजी क्षेत्रलाई समावेश गरिएको छैन ।
नेपालबाट इजरायल सरकारले केयरगिभरका नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रलगायतमा नेपाली श्रमिक लैजाने सम्बन्धमा गत असोजमा सम्झौता सम्पन्न भएको थियो । गत असोज १४ गते इजरायलका लागि नेपालकी राजदूत अञ्जान शाक्य र इजरायलका परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच इजरायली नागरिकसरहको सेवा सुविधा दिनेगरी श्रम सम्झौता सम्पन्न भएको थियो ।
यसअघि इजरायलमा नेपालीलाई रोजगारीका लागि केयरगिभरलगायतमा खुला भए पनि निजी क्षेत्रबाट श्रमिक पठाउँदा चर्को रकम असुलिएका कारण इजरायलले नेपाली श्रमिक लिन रोकेको थियो ।

विगतभन्दा व्यवस्थित
नयाँ श्रम सम्झौतापछि विगतभन्दा व्यवस्थित प्रणालीबाट इजरायल रोजगारीमा श्रमिक पठाउन सकिने श्रम रोजगार मन्त्रालयको दाबी छ । नयाँ श्रम सम्झौताअनुसार एसएलसी वा एसईई उत्तीर्ण गरेर १५ महिने स्वास्थ्य सेवासम्बन्धी तालिम वा १२ कक्षा उत्तीर्ण भई तीन महिने कियरगिभरसम्बन्धी तालिम लिएका अङ्ग्रेजी बोल्न सक्नेले आवेदन दिनसक्ने छन् ।
छनोट भएकाले टिकट, स्वास्थ्य परीक्षणलगायत गरी प्रतिव्यक्ति एक लाख रुपियाँ लागत लाग्ने बताइएको छ । केयरगिभरमा जानेको तलब कम्तीमा मासिक दुई लाख रुपियाँ हुने बताइएको छ ।
यसअघि पनि नेपाली केयरगिभर इजरायल गएका छन् र अहिलेसम्म पनि कार्यरत छन् । त्यस्तै साना किसान बैङ्कको संयोजनमा कृषि क्षेत्रमा काम गर्न हरेक वर्ष १० महिने ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत तीन हजार १६२ जना नेपाली इजरायल गइसकेका छन् ।
इजरायलमा ६० हजार विदेशी केयरगिभर छन् । यसअघि सन् २०१७ मा एक संस्थाले सार्वजनिक गरेको जानकारीअनुसार इजरायलमा झन्डै १५ प्रतिशत केयरगिभर नेपालका रहेका छन् ।
इजरायल र नेपाल सरकारबीच २०७२ साल साउनमा केयरगिभरमा नेपाली श्रमिक आपूर्ति गर्ने विषयमा एक सम्झौता (एमओयू)मा हस्तााक्षर भएको थियो । कमाइ र सुरक्षाको दृष्टिले निकै आकर्षक मानिएको इजरायलको रोजगारी सरकारी स्तरमा श्रम सम्झौता (जीटूजी) भएको पाँच वर्ष नपुग्दै बन्द भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?