logo
२०८१ बैशाख १४ शुक्रवार



कक्षा छाड्ने प्रवृत्ति चुनौतीपूर्ण

शिक्षा |
फिचर |


कक्षा छाड्ने प्रवृत्ति चुनौतीपूर्ण



शेषकान्त पण्डित

काठमाडौँ, पुस १५ गते । कोरोना भाइरसको सङ्क्रमणपछि सञ्चालन गरिएको वैकल्पिक विधिको पठनपाठनमा छुटेका विद्यार्थीलाई शैक्षिक पठनपाठनमा जोड्न नसकिए विद्यार्थीको कक्षा छोड्ने दर भयावह हुने प्रवृत्ति देखिएको छ । यो अवस्थामा स्थानीय सरकार, शिक्षक, विद्यालयले पहलकदमी नलिने हो भने विद्यालय जाने उमेर समूहका झन्डै आधाजसो विद्यार्थी कक्षाबाहिरै हुने खतरा शिक्षा क्षेत्रकै व्यक्तिले औँल्याउनुभएको छ ।

 भौतिक कक्षा नचलाएसम्म समस्या
रानीपोखरीस्थित संस्कृत माध्यमिक विद्यालयले सञ्चालन गरेको संस्कृत छात्राबासमा बस्ने ३५ जना विद्यार्थी नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेदेखि नै सम्पर्कविहीन अवस्थामा छन् । विद्यालयमा माथिल्लो तहमा अनलाइन कक्षा सञ्चालन गरिए पनि तल्लो तहको कक्षामा उपस्थिति अत्यन्तै न्यून छ ।
विद्यालयका प्रधानाध्यापक शिव अधिकारीले विद्यार्थीसित सम्पर्क स्थापित गर्न धेरै प्रयास गरिएको तर त्यसमा निकै कठिनाइ भएको बताउनुभयो । भौतिक रूपमा कक्षा सञ्चालन नगरिएसम्म छात्राबास र नियमित कक्षामा पढ्ने विद्यार्थी आउन कठिनाइ देखिएको उहाँ बताउनुहुन्छ ।
भौतिक रूपमा कक्षा सञ्चालन गर्न नसकिएको र अनलाइनमा विद्यार्थीको सहभागिता न्यून रहेको उहाँको भनाइ छ । विद्यार्थीको अनलाइनमा सहभागिताका लागि सहज होस् भनेर बिहान–बेलुकासमेत कक्षा राखिएको भए पनि प्रभावकारी हुन नसकेको उहाँको भनाइ छ ।

विद्यार्थी खोजी जारी
काठमाडौँैँस्थित कोटेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज कुँवर कोरोनाका कारण विद्यार्थीको पठनपाठन लामो समयसम्म हुन नसके पनि कक्षा छोड्ने दर बढ्न नदिने र पुराना विद्यार्थीको खोजी कार्य जारी राखिएको बताउनुहुन्छ ।
भौतिक कक्षा सञ्चालन नभएसम्म विद्यार्थीको प्रभावकारी उपस्थिति हुन समस्या देखिएको उहाँ बताउनुहुन्छ । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये हाल २५ प्रतिशतको हाराहारीका विद्यार्थीले विद्यालयको सम्पर्क बाहिर रहेको जानकारी उहाँले दिनुभयो ।
विगतमा विद्यार्थी भर्ना गर्दाको फोन, इमेलको सहायतमा आफूहरूले विद्यार्थीको खोजी कार्य जारी राखेको जनाइएको छ । केही विद्यार्थीलाई ‘जो जहाँ छौ, त्यहीँ बसेर पढ’ भनेर समेत भनिएको स्पष्ट गर्दै प्रअ कुँवरले जुनसुकै स्थानमा भए पनि विद्यार्थी विद्यालयबाहिर बस्न नपरोस् भन्ने नै आफूहरूको उद्देश्य रहेको बताउनुभयो ।
राजधानीको अमरज्योति माध्यमिक विद्यालयका प्रअ सुन्दर पन्त अनलाइन कक्षा प्रभावकारी हुन नसक्दा विद्यालय तहमा कक्षा छोड्ने दर भयावह हुने प्रवृत्ति देखिएको बताउनुहुन्छ । आफ्नो विद्यालयका २५ प्रतिशत जति विद्यार्थी विद्यालय बाहिर रहेको जानकारी दिँदै उहाँले भौतिक कक्षा सञ्चालन गरिएको अवस्थामा मात्रै विद्यार्थीको उपस्थिति बढ्ने बताउनुभयो । कति विद्यार्थी वैकल्पिक विधिको पठनपाठनमा जोडिएका छन् भन्ने सम्बन्धमा सरकारी तथा अन्य कुनै अनुसन्धान भएको छैन तर अनलाइन कक्षामा ५० प्रतिशत हाराहारीको उपस्थितिले कक्षा छोड्ने प्रवृत्ति व्यापक हुने सङ्केत गरेको छ ।

शिक्षक र विद्यार्थीको मुख्य भूमिका
वैकल्पिक शिक्षामा विद्यार्थीको न्यून उपस्थितिलाई शिक्षाविद्हरूले चिन्ताजनक भनेका छन् । शिक्षाविद् प्रा.डा. वासुदेव काफ्लेले सङ्क्रमणका कारण विद्यालयको सम्पर्कमा आउन नसकेका बालबालिकाको खोजी गरिनुपर्ने र यसमा शिक्षकको भूमिका मुख्य हुने बताउनुभयो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक विष्णुप्रसाद अधिकारी कक्षा १, ६ र ९ मा विद्यार्थीको कक्षा छोड्ने दर बढी हुन सक्ने बताउनुहुन्छ । कतिपय अवस्थामा यी कक्षामा एक विद्यालय छोडेर अर्को विद्यालयमा जानुपर्ने भएकोले कक्षा छोड्ने दर बढी हुन सक्ने उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?