logo
२०८१ बैशाख १५ शनिवार



सुदूरपश्चिममा एसइईमा ५५ हजार विद्यार्थी सहभागी हुँदै

शिक्षा |


सुदूरपश्चिममा एसइईमा ५५ हजार विद्यार्थी सहभागी हुँदै


डोटी, चैत ५ गते । बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा आवश्यक सबै तयारी पूरा भएको छ । सुदूरपश्चिम क्षेत्रीय शिक्षा विकास निर्देशनालय दिपायल राजपुरका अनुसार सबै परीक्षा केन्द्रमा प्रश्नपत्र, उत्तर पुस्तिकालगायत सामग्री पुगिसकेका छन् । प्रदेशबाट यस वर्षको एसइईमा छात्र २६ हजार १४२, छात्रा २८ हजार ३९५ गरी जम्मा ५४ हजार ५३७ विद्यार्थी सहभागी हुने भएका छन् ।

यस वर्षको नियमित एसइईतर्फ छात्र २४ हजार २५७ तथा छात्रा २६ हजार ३९१ गरी कूल ५० हजार ६४८ सहभागी हुने भएका छन् । प्राविधिक धारतर्फ छात्र ६६३ तथा छात्रा ३६४ गरी कूल एक हजार २७ विद्यार्थी सहभागी हुने भएका तथा ग्रेडवृद्धितर्फ छात्र एक हजार २२२ तथा छात्रा एक हजार ६४० गरी कूल दुई हजार ८६२ रहेका क्षेत्रीय शिक्षा विकास निर्देशनालयका निर्देशक दुर्गाराज विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार सभ्य तथा मर्यादित एसइई सञ्चालनका लागि प्रदेशभरिमा कूल २११ परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ति भइसकेका र उनीहरुलाई परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आवश्यक अभिमुखीकरण दिइसकिएको छ । त्यस्तै परीक्षालाई व्यवस्थित, अनुसाशित, मर्यादित र भयरहित तरिकाले सम्पन्न गर्न शिक्षा विकास तथा समन्वय एकाइलगायत एसइई परीक्षा जिल्ला समन्वय समितिका पदाधिकारीसहित शिक्षा विकास निर्देशनालयबाट यहाँका नौवटै जिल्लामा परीक्षामा सहजीकरण र अनुगमन गर्नका लागि अनुगमन टोली खटाइसकिएको निर्देशक विष्टले बताउनुभयो ।

यस वर्ष एसइईका लागि तोकिएका परीक्षा केन्द्रमा कोरोनाविरुद्ध सावधानी अपनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको छ । शिक्षा मन्त्रालयको अपिलअनुसार विद्यार्थीलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रमा परीक्षा अवधिभर सहायता कक्ष ‘हेल्थ डेस्क’ राख्ने प्रबन्धका लागि सम्बन्धित स्थानीय तहलाई अनुरोध गरिसकिएको जनाइएको छ । क्षेत्रीय शिक्षा विकास निर्देशनालयले विद्यार्थीलाई परीक्षा दिन आउँदा र घर जाँदा साबुनपानी प्रयोग गरेर हात धुन, मास्क प्रयोग गर्न, अरूसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान आग्रहसमेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?