logo
२०८१ बैशाख १५ शनिवार



गाउँपालिका केन्द्र माग गर्दै ११ वटा विद्यालय बन्द !

शिक्षा |


गाउँपालिका केन्द्र माग गर्दै ११ वटा विद्यालय बन्द !
तस्विरः सौजन्यः महेश पन्त


गोकर्ण दयाल

बैतडी, असोज २ गते । जिल्लाको डिलासैनी गाउँपालिकाको केन्द्र वडा नम्वर ७, धामीगाउँमा हुनु पर्ने माग गर्दै दुईदिनदेखि ११ वटा विद्यालय बन्द गरिएका छन् । विद्यालय बन्द भएपछि पठन–पाठन ठप्प भएको छ ।

पुनः संरचना आयोगले तोकेको डिलासैनी गाउँपालिका केन्द्र वडा नम्बर ७, धामीगाउँबाट अरु नै ठाउँमा सार्ने सडयन्त्रण हुन थालेकोले भन्दै स्थानीयले वडा नम्बर ४, मठैराजका ११ वटा विद्यालय बन्द गरेका हुन् ।

डिसासैनी गाउँपालिकाको केन्द्र वडा नम्बर ७, धामीगाउँबाट सार्न नपाईने माग गर्दै स्थानीयवासीको दबावमा अनिश्चिमकालीन शैक्षिक संस्था बन्द भएको वडा नम्बर ४, मठैराजका वडा सदस्य हरिदत्त पन्तले बताउनुभयो ।

डिलासैनी गाउँपालिकाले हालः अस्थायी रुपमा वडा नम्बर ३ पंसेरामा सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रवाह गरिरहेको छ । यद्यपि गाउँपालिकाले पनि डिलासैनी गाउँपालिका वडा नम्बर ७, मै केन्द्र रहने निर्णय गरिसकेकोेले अनावश्यक रुपमा अन्दोलन गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिका केन्द्र कायम गर्न गत महिनाको भदौ २५ गते गाउँपालिकाले भूगोल विज्ञ र समाज सास्त्र लगायत चार जनाको विज्ञ टोली मगाएर अध्ययन गर्ने निर्णय मात्र भएको डिलासैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवेव जोशीले जानकारी दिनुभयो ।

गाउँपालिकाले केन्द्र कायम गर्न पुनः विज्ञ टोली मगाउने निर्णयप्रति वडा नम्बर ४ र ७ का स्थानीय सशङ्कित बनेपछि आन्दोलनमा उत्रनु परेको वडा नम्बर ४ मठैराज युवा क्लबका अध्यक्ष महेश पन्तले बताउनुभयो ।

पन्तले भन्नुभयो, गाउँपालिकाको कामजकाज अहिले अस्थायी रुपमा सडक नजिकै पर्ने वडा नम्बर ३, पंसेराबाट भईरहेको छ । वडा नम्बर ४ र ७ का स्थानीयलाई पंसेरा धेरै टाढा पर्छ । गाउँपालिकाको केन्द्र कायम गर्न पुनः विज्ञ टोली मगाउने कुराले धामीगाउँमा केन्द्र कायम हुँदैन कि भन्ने हाम्रो शंका हो । त्यसैले विद्यालय बन्द गरिएको हो ।

गाउँपालिका केन्द्रका विषयमा वडा नम्बर ४ र ७ का स्थानीयले दुई दिन शैक्षिक संस्था बन्द गर्न आह्वान गरेको मठैराज माविका शिक्षक जीतसिंह बोहराले बताउनुभयो ।

बोहराले भन्नुभयो, विद्यालय बन्दहुँदा आठसय भन्दा बढी विद्यार्थी अध्यक्षरत रहेका वडा नम्बर ४ मठैराजका दुई वटा माध्यमिक विद्यालय मठैराज मावि हाणाकोट र घटाल माविको पठन पाठन ठप्प भएको छ ।

त्यसैगरि गाउँपालिका केन्द्र विवादले बन्द भएका आधारभूत विद्यालयमा श्रीकेदार अधारभूत विद्यालय, महारुद्र समैजी आधारभूत विद्यालय, अगड्ता आधारभूत विद्यालय, चनैराज आधारभूत विद्यालय, गलकेदार आधारभूत विद्यालय, महारुद्र आधारभूत विद्यालय र भगवति आधारभूत विद्यालय रहेका छन् ।

स्थानीय तहको पुनःसंरचना हुँदा साबिकका कोट्पेटरा, रुद्रेश्वर, मठैराज, डिलासैनी र गोकुलेश्वर गाउँविकास समिति मिलाएर डिलासैनी गाउँपालिका बनाईएको हो । यस गाउँपालिकाको कुल क्षेत्रफल १२५.२८ वर्ग किलोमीटर र जनसंख्या २२ हजार नौसय २४ रहेको छ ।
डिलासैनी गाउँपालिकाको पश्चिममा दार्चुलाको शैल्यशिखर नगरपालिका, उत्तरमा दार्चुला जिल्लाको मार्मा गाउँपालिका र दक्षिणमा बैतडीको दोगडाकेदार गाउँपालिका, पुर्चौडी नगरपालिका र पुर्वमा बझाङ जिल्लाको बझाङ्ग नगरपालिका रहका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?