logo
२०८१ जेष्ठ ६ आईतवार



उत्पादन कटौती गर्दै तेल उद्योग

अर्थ |


उत्पादन कटौती गर्दै तेल उद्योग


रङ्गेली समाचारदाता

विराटनगर, फागुन २८ गते । कच्चा पदार्थको अभाव देखाएर उद्योगीले खाने तेल उत्पादन घटाउन थालेका छन् । युक्रेनबाट आयात हुने सूर्यमुखीको कच्चा तेल रोकिएको भन्दै सुनसरी–मोरङ कोरिडोरका उद्योगले उत्पादन कटौती गरेका हुन् ।
युक्रेनमा बन्दरगाहबाट नेपालका लागि चलान तयारीमा रहेको जहाज रद्द भएको उद्योगीले बताएका छन् । नेपालका उद्योगले मगाएको ५० हजार टन सूर्यमुखीको तेलको कच्चा पदार्थ रोकिएको उद्योगीहरूले जनाएका छन् ।

मोरङ व्यापार सङ्घका कार्यकारी सदस्य एवं पशुपति खाद्य तेलका सञ्चालक अमित शारडाले कोरिडोरका सबै रिफाइनरी उद्योगले आफ्नो उत्पादन घटाएको बताउनुभयो । “न्यूनतम २५ प्रतिशतले सबैले उत्पादनमा कटौती गरिसकेका छन्, कच्चा पदार्थको मौज्दात कम भएसँगै उत्पादनमा कटौती गर्न बाध्य हुनु परेको हो,” शारडाले भन्नुभयो । क्वालिटी आयल रिफाइनरीको सञ्चालक एवं उद्योग सङ्गठन मोरङका कोषाध्यक्ष विपिन काबराले कच्चा तेल लोड भएका जहाजको चलान रद्द भएसँगै नेपाली उद्योगीहरू थेगिएर मात्रै उत्पादन गर्ने स्थितिमा पुगेको बताउनुभयो तर जहाजको चलान रद्द भए पनि नेपाली उद्योगीको रकम डुब्ने स्थिति नभएको काबराको भनाइ छ ।

फेब्रुअरीमा अर्डर भएको कच्चा पदार्थको चलान रद्द भएसँगै उद्योगीले मार्चमा कुनै अर्डर गरेका छैनन् । युक्रेनको समस्याले अन्य मालवस्तुमा जस्तै कच्चा तेल, गेडागुडी, दलहन, गहुँ, जौमा पनि देखिने बताइएको छ । सूर्यमुखीको कच्चा तेलका लागि नेपाली उद्योगीले जर्जिया, टर्की र रुसका आपूर्तिकर्तासँग सम्पर्क गर्नुपर्ने हुन्छ तर ती देशका आपूर्तिकर्ताले समेत अर्डर लिन नमानेको उद्योगी शारडाको दाबी छ । शारडाले भन्नुभयो, “नेपालका बैङ्कले पनि डकुमेन्ट छुटाउने बेलामा नगद जम्मा गर्न भनिरहेका छन् । एलसी खोल्न पनि नमान्ने र खोलिएका एलसी बदर गर्ने स्थितिमा छन् । ”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?