logo
२०८१ जेष्ठ ४ शुक्रवार



उद्धारका लागि जानकारी गराउन आग्रह

अर्थ |


उद्धारका लागि जानकारी गराउन आग्रह


गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रहेको कल सेन्टरले रुस–युक्रेन युद्धमा फसेका नेपाली नागरिकलाई उद्धार गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरेको छ ।वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति लिई वा नलिई रुस तथा युक्रेनमा गएका र त्यहाँ जारी युद्धका कारण समस्यामा परेका व्यक्तिलाई सम्पर्कमा आउन मन्त्रालयले आग्रह गरेको हो ।

त्यहाँ अप्ठ्यारोमा परेमा वा उद्धार गर्नुपर्ने अवस्था भएमा ती देशमा रहेका नियोग वा नेपालमा रहेका आफन्तलाई आफ्नो अवस्थाबारे अपडेट गराउन कल सेन्टरले जनाएको छ ।कल सेन्टरमा फोन, भाइबर, फेसबुक तथा इमेलमार्फत सम्पर्क गर्न सकिन्छ । नेपालबाट आफन्तले निःशुल्क फोन नम्बर ११४१ अथवा १६६००१५०००५ मा फोन गर्न सक्नुहुन्छ । यस्तै विदेशबाट ९७७ १ ५९७०००८ फोन नम्बरमा सशुल्क सम्पर्क गर्न सकिने कल सेन्टरले जनाएको छ ।

युक्रेनमा श्रम स्वीकृति लिएर वा नलिई गएर श्रम गरिरहेका नेपाली अप्ठ्यारोमा परेर उद्धार गर्नुपर्ने अवस्थामा रहेको भएमा तु्रुन्त सम्पर्क गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले युक्रेनमा रहेका नेपालीलाई सम्भव भए सिधा कल सेन्टरमा र नसके आफन्तमार्फत भए पनि आफ्नो सम्पूर्ण अवस्था जानकारी गराउन आग्रह गरिएको जानकारी दिनुभयो ।

नेपाल सरकारसँग युक्रेनमा कति नेपाली छन् भन्ने यकिन विवरण छैन । वैदेशिक रोजगारीका लागि युुक्रेनमा श्रम स्वीकृति लिएर जानेको सङ्ख्या भने २३७ रहेको विभागले जनाएको छ । यो सङ्ख्या २०७५ सालयता श्रम स्वीकृति लिएर जानेको भएको जनाइएको छ ।
विभागका अनुसार २०७५/७६ मा आठ जना, २०७६/७७ मा २४ जना, २०७७/७८ मा सात महिलासहित ५३ जना युक्रेनमा रोजगारीका लागि श्रम स्वीकृति लिएर गएका छन् । चालू आर्थिक वर्षको सात महिनाको अवधिमा मात्र युक्रेनमा वैदेशिक रोजगारीका लागि भन्दै १३९ जना युक्रेन पुगेको पाइएको छ ।

५११ सुरक्षित स्थानमा
रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५०० भन्दा बढी नेपाली सुरक्षित स्थानमा पुगेको जनाइएको छ । जर्मनीका लागि नेपाली राजदूतावासका अनुसार हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्यान्ड, स्लोभाकिया, हङ्गेरी, रोमानिया र माल्दावालगायतका देशमा पुगेको जनाइएको छ । दूतावासबाट प्राप्त सूचनाअनुसार ४०३ जना पोल्यान्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, छ जना हङ्गेरी र चार माल्दावा पुगेका हुन् ।रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका संयोजक एवं गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष डा. बद्री केसीले युक्रेनमा हालसम्म ५११ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेको बताउनुभयो । युक्रेनबाट निस्केकामध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ ।

उहाँले एनआरएनएका राष्ट्रिय समिति उद्धार कार्यमा सक्रिय रूपमा लागिपरेको जानकारी दिँदै एनआरएनए पोल्यान्डको सक्रियतामा आर्थिक सहयोग सङ्कलनको तयारी थालिएको जनाउनुभयो । युक्रेनमा समस्यामा परेका नेपालीको उद्धारका लागि सुरेन्द्र श्रेष्ठ (हङ्गेरी), पवन खड्का (पोल्यान्ड), सन्तोष भट्टराई (जर्मनी), चिरञ्जीवी खड्का (चेक रिपब्लिका)लगायत सीमा क्षेत्रको स्थलगत विवरण सङ्कलनमा खटिइरहेको एनआरएनएले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?