logo
२०८१ बैशाख १५ शनिवार



कृषिमा रूपान्तरणका लागि मूल्य शृङ्खला परियोजना

अर्थ |


कृषिमा रूपान्तरणका लागि मूल्य शृङ्खला परियोजना


गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ६ गते । कृषि व्यवसायलाई बजारसँग आबद्ध गरी प्रतिस्पर्धी एवं नाफामूलक कृषि उद्यम विकास गर्ने उद्देश्यले मूल्य शृङ्खला परियोजना सुरु भएको छ । अर्थ मन्त्रालय र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी)बीच गत असोजमा भएको सम्झौताबमोजिम कृषिको समावेशी रूपान्तरणका लागि मूल्य शृङ्खला परियोजना सुरु गरिएको हो । सो परियोजनाले गुणस्तरीय ग्रामीण वित्तीय सेवामार्फत मूल्य शृङ्खलामा आधारित कृषि व्यवसायलाई बजारसँग आबद्ध गरी कृषि उद्यम विकास गर्ने उद्देश्य लिएको छ ।

यो परियोजनाका लागि कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबाट करिब आठ करोड अमेरिकी डलर ऋण सहयोग प्राप्त हुनेछ । यो कार्यक्रम कार्यान्वयनका लागि कृषि विकास बैङ्कलाई जिम्मेवारी दिइएको छ । बैङ्कले पाँचवटा प्रदेशमा आयात प्रतिस्थापन गर्न सकिने, निर्यात प्रवद्र्धनयोग्य र मुलुकलाई आत्मनिर्भर बनाउने खालका १२ वटा बाली तथा पशुबस्तुमा सहुलियतपूर्ण कर्जा लगानी गर्नेछ ।

अर्थ मन्त्रालयका सचिव (राजस्व) कृष्णहरि पुष्करले बुधबार औपचारिक रूपमा शुभारम्भ गर्नुभयो । कार्यक्रममा सचिव (राजस्व) पुष्करले यस्तो किसिमको सहयोगले साना किसानको आयस्तर वृद्धि हुने, रोजगारी सिर्जना हुने तथा यस क्षेत्रको व्यवसायीकरण, समावेशीकरण तथा प्रतिस्पर्धात्मक विकास हुने अपेक्षा गर्नुभयो । कार्यक्रमले प्रत्यक्ष रूपमा एक लाख २० हजार साना किसान परिवार विशेषगरी महिला, युवा, दलित, जनजातिलगायत पिछडिएका वर्गको क्षमता, वित्तीय सेवा र बजार पहुँचमा वृद्धि गर्दै जीविकोपार्जनमा सुधार गर्ने उहाँले बताउनुभयो ।

सोही अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवद्वय डा. गोविन्दप्रसाद शर्मा र निरु दाहाल तथा दातृ निकाय आईएफएडीका तर्फबाट देशीय निर्देशक रोशन कुकले आफ्नो अनुभव र कार्यक्रमबारे प्रकाश पार्दै कार्यक्रमको सफलताको कामनासमेत गर्नुभएको थियो ।

कृषि विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले दातृ निकायमार्फत प्राप्त उक्त सहुलियतपूर्ण कर्जा रकम सही ढङ्गबाट कृषक, उद्यमी, सङ्कलनकर्ता, प्रशोधनकर्ता आदिलाई मूल्य शृङ्खलामा आबद्ध गराई लगानी गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा कृषिको समावेशी रूपान्तरणका लागि मूल्य शृङ्खला परियोजनाको सङ्क्षिप्त जानकारी बैङ्कका उपमहाप्रबन्धक बाबुकाजी थापा तथा परियोजना निर्देशक बिना शर्माले संयुक्त रूपमा प्रस्तुत गर्नुभएको थियो ।

कृषि विकास बैङ्कका अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव रमेशकुमार केसीले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बैङ्कले स्थापना हुँदाकै बखतमा लिएका उद्देश्यअनुसार कृषि, साना, लघु तथा मध्यम उद्योगको उत्पादन र उत्पादकत्व वृद्धि हुनेगरी तथा आयात प्रतिस्थापन हुने गरी मूल्य शृङ्खलाको अवधारणाबाट लगानी गरिने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?