logo
२०८१ जेष्ठ २ बुधवार



तीन वर्षदेखि मह उत्पादन घट्दै

अर्थ |


तीन वर्षदेखि मह उत्पादन घट्दै


चितवन समाचारदाता

चितवन, फागुन १ गते । पछिल्ला वर्षमा मह उत्पादन घट्दो रहेको पाइएको छ । मौरीको चरन क्षेत्र मासिने, बालीमा विषादीको प्रयोग, प्रतिकूल मौसमलगयातका कारण उत्पादन घटेको नेपाल मौरीपालक महासङ्घले जानकारी दिएको छ । महासङ्घका अध्यक्ष शिवप्रसाद शर्मा पौडेलका अनुसार गत तीन वर्षदेखि मह उत्पादनमा ह्रास आएको छ । नेपालमा २०७५ मा तीन हजार ५०० मेट्रिक टन, २०७६ मा दुई हजार २०० मेट्रिक टन र गत वर्ष २३ मेट्रिक टन मह उत्पादन भएको महासङ्घको तथ्याङ्कमा छ । “अहिलेकै अवस्थालाई हेर्दा दुई हजार २०० मेट्रिक टनभन्दा धेरै मह उत्पादन हुँदैन,” उहाँले भन्नुभयो ।

यस वर्ष घाम नलागेर चिसो बढेको, पानी परेको, चरनका लागि पर्याप्त स्थान नभएको, पानीले गर्दा चिउरी राम्रोसँग नफलेको, तोरीमा चराउन लैजान समस्या भएकोलगायतका कारणले मह उत्पादनमा कमी आउने देखिएको पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार चार वर्षअघि प्रतिघार ३५ किलोसम्म मह उत्पादन हुने गरेकामा अहिले त्यो परिमाण घटेर १८ किलोमा झरेको छ । महासङ्घका अनुसार देशको कुल उत्पादनको ५५ प्रतिशत मह चितवनमा उत्पादन हुँदै आएको छ । चार वर्षअघिसम्म देशको कुल उत्पादनको ७० प्रतिशत मह चितवनमा उत्पादन हुने गरेको थियो । २०७५ सालमा ८०० मेट्रिक टन मह उत्पादन भएकामा अहिले मह उत्पादन घटेर वार्षिक ४५० देखि ५०० मेट्रिक टन उत्पादन हुने गरेको छ ।

चितवनमा ५५० जना किसानले व्यावसायिक रूपमा मह उत्पादन गर्दै आएका छन् । मह प्रतिकिलो ५०० रुपियाँमा बिक्री हुँदै आएको छ । यसरी हेर्दा चितवनमा वार्षिक २५ करोड रुपियाँ बराबरको मह उत्पादन हुने गरेको महासङ्घका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

महासङ्घका पूर्वअध्यक्ष राजेन्द्र गौतमले हाल ४२ जिल्लामा व्यावसायिक मौरीपालन भइरहेको भन्दै मौरीपालनलाई प्रवद्र्धन गर्न सरकारले प्रचारप्रसार, चरनका लागि सचेतना कार्यक्रम, अवैध रूपमा विदेशबाट आउने महलाई रोक्न सकेमा किसानलाई राहत हुने बताउनुहुन्छ ।

भरतपुर महानगरपालिका–९ का मौरीपालक किसान विष्णु भुसालले चरन अभावका कारण केही वर्षअघिदेखि मौरी दाङ, प्युठान, सर्लाही, महोत्तरीलगायतका जिल्लामा लगेर चराउंँदै आएको बताउनुभयो । “चितवनमा चरन प्रशस्त छैन । अहिले डेढ सय गोला लिएर दाङ आएको छु, चितवनमा ६० गोला छाडेर आएको छु,” उहाँले भन्नुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?