logo
२०८१ बैशाख १४ शुक्रवार



तरलता अभाव र महामारीबाट त्रसित निर्माण व्यवसाय

अर्थ |


तरलता अभाव र महामारीबाट त्रसित निर्माण व्यवसाय


काठमाडौँ, माघ ११ गते । बैङ्कको तरलताको अभाव र भुक्तानी नपाएका कारण निर्माण व्यवसायी समस्यामा परेका छन् । यसले गर्दा समयमै निर्माण कार्य सम्पन्न गर्न कठिनाइ भइरहेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । निर्माण कार्य सम्पन्न भएका आयोजनाको बाँकी भुक्तानी हुन नसक्दा अरू निर्माण कार्य प्रभावित भएको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार झन्डै ५० अर्ब रुपियाँ भुक्तानी हुन बाँकी छ ।

महासङ्घका महासचिव रोशन दाहालले भन्नुभयो, “सरकारले विकास बजेट खर्च भएन भन्छ तर काम गरेको पैसा पनि पाउन सकिरहेका छैनौँ । बजेट हुँदा पनि भुक्तानी भएको छैन, केही आयोजनामा बजेट अभाव छ । ” महासचिव दाहालले तरलताको अभाव देखाउँदै बैङ्कले १० लाख रुपियाँसम्म दिन पनि अस्वीकार गरेको बताउनुभयो ।

बढ्दो कोरोना महामारीबाट पनि निर्माण व्यवसाय त्रसित छ । ठूलो सङ्ख्यामा कामदार परिचालन गर्नुपर्ने आयोजनामा कामदारको सङ्ख्या घटेको छ । कामदार बिरामी हुन थालेपछि ७० प्रतिशतसम्म कामदार घटेको महासचिव दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोनाले थप समस्या बनाएको छ, जोरबिजोर प्रणाली छ । कामदारको स्वास्थ्य सुरक्षाका कारण पनि दु्रत गतिमा काम हुन सकेको छैन । पूर्ण लकडाउन भयो भने काम ठप्पै हुने अवस्था छ, यसले हामी सबैलाई चिन्तित बनाएको छ । ”

कामदार मात्र नभई निर्माण व्यवसायी पनि कोरोनाबाट प्रभावित भएका छन् । हालसम्म ठूलो असर नगरेको र निर्माण सामग्रीको आपूर्ति पनि भइरहेको महासङ्घले जनाएको छ तर कोरोनाको प्रभाव बढ्यो र बन्दाबन्दी भयो भने विगतको जस्तै नौ/दस महिना काम बन्द गर्नुपर्ने अवस्था आउन सक्ने दाहालको भनाइ छ ।

बजार मूल्य वृद्धिले पनि निर्माण व्यवसाय प्रभावित भएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै बिटुमिनको मूल्य बढेको महासङ्घले जनाएको छ । डन्डीको मूल्य अस्वाभाविक वृद्धि भएर प्रतिकेजी ११० रुपियाँ पुग्नुले पनि थप समस्या निम्त्याएको दाहालको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?